अपडेट 
२०७७ श्रावण १४, बुधबार ०९:५०

पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘२ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये ५ जना बालबालिका र १० जना महिला छन्,’ उनले भने । कन्ट्याक्ट ट्रेसिङमा मात्रै नभएर पेड पीसीआर गराएकामा पनि कोरोना देखिएको उनले बताए ।

संक्रमितमध्ये २० जना वीरगञ्जकै छन् । वीरगञ्जका वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दामा संक्रमण देखिएको हो । नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । पर्सामा कोरोना संक्रमितको संख्या बढेर व्यवस्थापनमा समस्या भइरहेको छ । यसअघि नै ४८ जना संक्रमित अस्पतालसम्म पुग्न पाएका छैनन् । उनीहरु घरमै छन् । घरमै संक्रमित राख्दा होम आइसोलेसनको मापदण्ड पूरा नहुने भएकाले परिवारका अन्य सदस्यमा पनि संक्रमण फैलने जोखिम बढिरहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

‘मास टेष्टिङ’बाट संकलन गरिएका १५ सयको हाराहारीमा स्वाबको नमुना परीक्षण हुन बाँकी छ ।

Comment


Related News

Latest News

Trending News