अपडेट 
२०७७ श्रावण १५, बिहीबार ०६:०६

नोवेल कोरोना भाइरस (कोभिड–११) महामारीका कारण स्थगित कक्षा ११ को परीक्षा आउँदो माघ महिना भन्दा अगाडि लिइसक्नुपर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी कार्यविधिमा ढिलोमा २०७८ सालको वैशाख/जेठमा सञ्चालन हुने कक्षा १२ को परीक्षाको आवेदन फर्म भर्नुपूर्व नै कक्षा ११ को परीक्षा लिइसक्नुपर्ने व्यवस्था गरिएको छ । ‘बोर्डले सञ्चालन गर्ने कक्षा १२ को परीक्षा फर्म आगामी माघमा भर्नुपर्छ, त्यो भन्दा पहिला नै विद्यालयहरूले कक्षा ११ को परीक्षा लिइसक्नुपर्छ’ बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने । आंशिक तथा ग्रेड वृद्धि परीक्षार्थीले भने २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपूर्व नै परीक्षा दिइसक्नुपर्ने अर्यालले जानकारी दिए । अर्यालका अनुसार यो परीक्षाको संपरीक्षण बोर्डले नै गर्नेछ ।

गत असार १९ गते बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद् बैठकले यसअघि बोर्डले लिँदै आएको कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालय नै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गर्ने निर्णय गरेको थियो ।

सैद्धान्तिकमा ‘डि प्लस’ र प्रयोगात्मकमा ‘सी’ अनिवार्य

परीक्षा सञ्चालनका लागि सम्बन्धित विषय पठनपाठन गर्ने शिक्षक, प्रधानाध्यापक र विद्यालयलाई नै उत्तरदायी बनाएर परीक्षा सञ्चालन गरिने कार्यविधिमा उल्लेख छ । कार्यविधिमा प्रधानाध्यापक अध्यक्ष, सम्बन्धित कक्षा शिक्षक र विषयगत शिक्षकहरू मध्येबाट प्रधानाध्यापक/प्राचार्यबाट मनोनीत शिक्षक सदस्य रहने गरी परीक्षा तथा प्रमाणीकरण समिति गठनको व्यवस्था गरिएको छ । बोर्डले लिने कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षार्थीले कक्षा ११ का हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनत्तम ‘डि प्लस’ र प्रयोगात्मकतर्फ ‘सी’ ल्याउनै पर्दछ ।

‘सैद्धान्तिकमा कम्तीमा ‘डि प्लस’ र प्रयोगात्मकमा ‘सी’ नआउने विद्यार्थीको कक्षा १२ को परीक्षा आवेदन फर्म स्विकार्दैनौं’ बोर्डका सदस्य सचिव अर्याल भन्छन् ।

७० प्रतिशत हाजिर आवश्यक

विद्यालयहरूले बोर्डले तोकेको समयावधिभित्र अनुकूलता मिलाएर सामाजिक दूरी कायम गर्न मिल्ने गरी एक दिनमा एक सिफ्ट वा एकै दिन दुई सिफ्टमा फरक विषय वा दुई सिफ्टमा एउटै विषयको परीक्षा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । एकै दिन सिफ्टका आधारमा एउटै विषयको परीक्षा सञ्चालन गर्दा फरक प्रश्नपत्रबाट परीक्षा सञ्चालन गर्न पनि सकिने कार्यविधिमा उल्लेख छ । परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्ने भए पनि विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि छनौट गरेका विषयहरूको रजिष्ट्रेशन भने राष्ट्रिय परीक्षा बोर्डमै गराउनु पर्दछ । विषय छनौटको आधार पाठ्यक्रम विकास केन्द्रले तय गरे अनुसार हुनेछ ।

३० प्रतिशत भन्दा बढी अनुपस्थित विद्यार्थीले कक्षा ११ को वार्षिक परीक्षमा सहभागी हुन पाउने छैन । निर्देशिकामा भनिएको छ, ‘विद्यार्थीहरूको दैनिक हाजिरी अभिलेख राख्नुपर्ने तथा नियमिततर्फ कम्तिमा ७० (सत्तरी) प्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई मात्र विद्यालयबाट लिइने अन्तिम परीक्षामा सहभागी गराउनुपर्नेछ ।’

परीक्षा सञ्चालन मापदण्ड

‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन तथा प्रमाणीकरण कार्यविधि’ मा परीक्षा सञ्चालन सम्बन्धी १७ बुँदे मापदण्ड निर्धारण गरिएको छ ।

केन्द्राध्यक्ष : सम्बन्धित विद्यालयको प्रधानाध्यापक÷प्राचार्य वा परीक्षा तथा प्रमाणीकरण समितिले तोकेको माध्यमिक तहको शिक्षक केन्द्राध्यक्ष हुनेछ ।

सहायक केन्द्राध्यक्ष : सम्बन्धित विद्यालयको प्रधानाध्यापक÷प्राचार्य वा परीक्षा तथा प्रमाणीकरण समितिले तोकेको माध्यमिक तहको शिक्षक सहायक केन्द्राध्यक्ष हुनेछ ।

निरीक्षक : कक्षा शिक्षक र विषय शिक्षक बाहेक प्रधानाध्यापकले तोकेका विद्यालय शिक्षक वा कर्मचारी निरीक्षक हुनेछन्।

परीक्षा समय : पाठ्यक्रममा तोकेको विषयगत पूर्णाङ्क÷क्रेडिट आवरअनुसार पूर्णाङ्क ५० सम्मको लागि १ः३० घण्टा र सो भन्दा बढी पूर्णाङ्कको लागि ३ः०० घण्टाको परीक्षा समय निर्धारण गर्नुपर्नेछ ।

परीक्षाको समय तालिका : (क) २०७७ सालमा आंशिक ग्रेडबृद्धि परीक्षार्थीको रुपमा आवेदन फारम भरेका परीक्षार्थीहरुको लागि २०७७ सालको कक्षा १२ को परीक्षा सञ्चालन हुनुपूर्व

(ख) २०७७ सालमा नियमित परीक्षार्थीको रुपमा आवेदन फारम भरेका परीक्षार्थीहरुको लागि २०७८ सालको बैशाख÷जेष्ठ महिनामा सञ्चालन हुने कक्षा १२ को परीक्षा आवेदन फारम भर्नुपूर्व परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गर्ने ।

(ग) यो कार्यविधि लागूभएपश्चात् कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको लागि हरेक बर्षको जेष्ठ महिनाको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गरी असार मसान्त भित्र नतिजा प्रकाशन गर्ने ।

सिट प्लानः एउटा बेञ्चमा दुईजना भन्दा बढी नहुने गरी सिटप्लान गर्नुपर्नेछ ।

अनुगमनः बोर्डबाट परीक्षाको अनुगमन हुन सक्नेछ ।

विद्युतीय अनुगमन : सम्भव भएसम्म परीक्षा सञ्चालन हुने कोठाहरुमा ऋऋत्ख् क्यामेरा जडान भएको हुनुपर्नेछ । त्यसरी जडान भएको क्यामेराको दृष्यको अभिलेख ६ महिनासम्म सुरक्षित राख्नुपर्नेछ ।

उत्तरपुस्तिका कोडिङ सम्बन्धी व्यवस्था : मूल्याङ्कनलाई वस्तुपरक र विश्वसनीय बनाउन विद्यार्थीहरुको उत्तरपुस्तिका कोडिङ गरी परीक्षण गराउन सकिनेछ ।

परीक्षा सञ्चालन शुल्क : बोर्डले कक्षा १२ को बार्षिक परीक्षाका लागि तोकेको शुल्कमा नबढ्ने गरी विद्यालयले परीक्षा शुल्क लिन सक्नेछ ।

परीक्षामा संलग्न हुने जनशक्तिको पारिश्रमिकः परीक्षामा संलग्न हुने जनशक्तिको पारिश्रमिक परीक्षा तथा प्रमाणीकरण समितिले तोकिदिए बमोजिम हुनेछ ।

परीक्षा केन्द्र : परीक्षा केन्द्र सम्बन्धित विद्यालयमा हुनेछ ।

उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक : उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक परीक्षा तथा प्रमाणीकरण समितिले तोकिदिए बमोजिम हुनेछ ।

उत्तरपुस्तिका संपरीक्षणको पारिश्रमिक : उत्तरपुस्तिका संपरीक्षणको पारिश्रमिक परीक्षा तथा प्रमाणीकरण समितिले तोकिदिए बमोजिम हुनेछ ।

पुनर्योगसम्बन्धी व्यवस्था : नतिजा प्रकाशन भएको मितिले सात दिन भित्र पुनर्योगको लागि निवेदन दिन सकिनेछ । पुनुर्योगको निवेदन दिने म्याद समाप्त भएको सात कार्यदिनभित्र विद्यालयले पुनर्योगको नतिजा प्रकाशन गरिसक्नुपर्नेछ । पुनर्योग वापत बोर्डेले कक्षा १२ का विद्यार्थीहरुको लागि तोकेको पुनर्योग शुल्कमा नबढ्ने गरी विद्यार्थीबाट पुनर्योग शुल्क लिन सकिनेछ ।

उत्तरपुस्तिका हेर्न सक्ने : पुनर्योगको नतिजा प्रकाशन पश्चात उक्त नतिजामा चित्त नबुझेमा नतिजा प्रकाशन भएको मितिले सात दिन भित्र सम्बन्धित विद्यार्थीले उत्तरपुस्तिका हेर्न चाहेमा निवेदन पेश गर्न सक्नेछन् । त्यसरी निवेदन प्राप्त भएमा परीक्षा तथा प्रमाणीकरण समितिले सात दिन भित्र मिति तोकी उत्तरपुस्तिका हेर्न दिनुपर्नेछ । उत्तरपुस्तिका हेर्नको लागि पुनर्योग शुल्कमा नबढ्ने गरी विद्यार्थीबाट शुल्क लिन सकिनेछ ।

उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था : विद्यार्थीले उत्तरपुस्तिका पुनः परीक्षण गराउन चाहेमा उत्तरपुस्तिका हेरेको मितिले सात दिनभित्र निवेदन दिनुपर्नेछ । प्राप्त निवेदन उपर परीक्षा तथा प्रमाणीकरण समितिले आवश्यक प्रकृया पूरा गरी उत्तरपुस्तिका पुनः परीक्षण गराउन लगाउनुपर्नेछ ।

Comment


Related News

Latest News

Trending News