अपडेट 
२०७७ श्रावण १५, बिहीबार ०६:२९

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १५ लाख नाघेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या पनि ३४ हजार नाघेको छ । तर भारतको मुम्बई शहरमा गरिएको परीक्षणको नतिजाले संसारकै दोस्रो सबैभन्दा बढी जनसंख्या भएको मुलुक भारतको कोरोनासंक्रमणसम्बन्धी सरकारी तथ्यांकमा सन्देह पैदा गराइदिएको छ ।

भारतमा संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ र थुप्रै क्षेत्रहरुमा लकडाउन लागू गरिएको छ, तर यसै हप्ता मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अरु देशहरुको तुलनामा भारत राम्रो अवस्थामा रहेको’ र अन्तर्राष्ट्रिय प्रशंसा प्राप्त गरिरहेको बताएका थिए । भारतको संघीय स्वास्थ्य मन्त्रालयको वेभसाइटमा यतिखेर जम्मा संक्रमितको संख्या उल्लेख गर्न छाडिएको छ र निको हुनेहरुको संख्या राख्नमा विशेष जोड दिइएको छ । तर बुघबार मात्रै भारतमा ५० हजार नयाँ संक्रमितहरु फेला परेका छन् र ७६८ जनाको निधन भएको छ ।

संसारकै सबैभन्दा भीडभाडयुक्त शहरहरु भएका तथा जनस्वास्थ्यमा प्रतिव्यक्तिको हिसाबले विश्वमै सबैभन्दा कम खर्च गर्ने दक्षिण एशियामा अवस्थित भारतमा गत १२ दिनअघि मात्रै संक्रमितको संख्या १० लाख नाघेको थियो । घेरै विज्ञहरुको रायमा भारतले पर्याप्त जनसंख्यामा परीक्षण गरिरहेको छैन । साथसाथै, कोरोनाका कारण मर्नेहरुको तथ्यांक पनि रेकर्ड गरिएका छैनन् । गत मंगलबारमात्रै प्रकाशित एक अध्ययनमा कोरानाभाइरस एन्डिबडीको परीक्षणको रिपोर्टले मुम्बईका घनाजनसंख्यावाला झुपडपट्टीका ५७ प्रतिशत मानिसहरुमा कोरोनाको संक्रमण भइसकेको देखाएको थियो । यो भनेको सरकारी तथ्यांकहरुमा देखाएका भन्दा धेरै बढी हो ।

उक्त अध्ययन कार्यमा संलग्न टाटा इन्स्टिच्यूट अफ फन्डामेन्टल रिसर्चका उल्लास एस कोल्थुरले ‘उक्त नतिजाले आफू तीनछक्क परेको’ बताएका छन् । ‘ झुपडपट्टी इलाकाहरुमा, यति धेरै संक्रमण देखिनुको कारण त्यहाँ घना आवादी भएका कारण सामाजिक दूरीले काम गर्दैन,’ उनले एएफपी समाचार एजेन्सीलाई बताए । गत हप्ता, त्यस्तै किसिमको अध्ययनले भारतको राजधानी नयाँ दिल्लीका एक चौथाई मानिसहरु विगतमा कोरोनाभाइरस संक्रमित भइसकेको देखाएको थियो । यो भनेको त्यहाँको सरकारले दावी गरेभन्दा ४० गुनाबेसी हो ।

त्यसो त त्यस्ता अध्ययन रिपोर्टहरुमा गरिएको परीक्षण आफैमा कत्तिको सही र पूर्ण थियो भन्ने कुरामा शंका गरिएको छ । खासगरी, अहिले महामारी फैलाइरहेको सार्स–कोभ– २ कोरोनाभाइरसका कारण मात्रै हैन, अन्य रुघाखोकी लगाउने तथा सार्स, मेर्स जस्ता कोरोनाभाइरसका कारण पनि त्यस्ता एन्टीबडीहरु पैदा भएको हुन सक्ने सम्भावना पनि उत्तिकै छ । र, त्यसले पनि अहिले गलत नतिजा दिइरहेको हुन सक्छ । त्यसबाहेक, मुम्बईमा गरिएको सर्वेक्षणमा तुलनात्मक रुपमा ७००० मानिसको नमूना समुहमा परीक्षण गरिएको थियो । यो भनेको त्यहाँको जनसंख्याको तुलनामा निक्कै कम हो ।

जोन हप्किन्स युनिभर्सिटीको साउन १५ गते बिहान ५ बजेसम्मको तथ्यांकअनुसार यतिखेर भारतमा संक्रमितहरुको संख्या १५ लाख ३१ हजार ६ सय ६९ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या ३४ हजार १ सय ९३  । यो भनेको अमेरिका र ब्राजिलपछिको सबैभन्दा बढी संख्या हो । त्यसो त संक्रमितको तुलनामा निधन हुनेहरुको सरकारी तथ्यांक भने निक्कै कम छ । त्यसैगरी, जनसंख्याको अनुपातमा भारतमा संक्रमितको संख्या कम छ । अमेरिकामा प्रति १० लाख मानिसमा संक्रमित हुनेहरुको संख्या १३,१४८ छ भने भारतमा १,११० मात्रै ।

Comment


Related News