अपडेट 
२०७७ श्रावण २०, मंगलवार ०६:१५

रोशन जनकपुरी : प्रदेश नम्बर दुईका प्रायः सबै प्रमुख शहरहरुमा कोरोनाको बढदो भयावहताको कारण निषेधाज्ञा जारी छ । राजबिराज, जलेश्वर, बीरगञ्ज, कलैयामा गत हप्ता नै निषेधाज्ञा घोषणा गरिएको थियो, भने सोमवार रातिदेखी प्रदेशको अस्थायी राजधानी जनकपुरधाम् मा पनि एकहप्ताको निषेधाज्ञा जारी गरिएको छ । तर निषेधाज्ञा जारीगरेर के गर्ने ? प्रदेश सरकारको गति हेर्दा उनिहरुमा कोरोना महामारीको बढदो भयावहताप्रति खासै सचेतता देखिएको छैन । बरुउनिहरु यस कोरोना महामारी काललाई पनि निजी आर्थिक जोरजामका थप अवसरको रुपमा प्रयोग गरिरहेको भान हुन्छ । यतिबेला प्रदेश सरकारले गठनगरेको कोरोना महामारी विरुद्धको विज्ञसमूह कि त प्रभावहीन, कि त निष्क्रिय, कि त औपचारिक मात्र देखिएका छन् । प्रदेश सरकारले न त विगतको चारमहिने लकडाउनमा कोरोना महामारी विरुद्ध कुनै प्रभावकारी योजना ल्याउन सक्यो, न त अहिले (प्रदेशका शहरहरुमा निषेधाज्ञा घोषणा गरेपछि) कुनै योजना सार्वजनिक गरेको छ ।

सामान्य बुझाईमा लकडाउन वा निषेधाज्ञा महामारीको बढदो गतिमा क्रमभङ्ग गर्नु हो र यस अवसरलाई उपयोग गर्दै सरकारले आवश्यक स्वास्थ्य र चिकित्सकीय उपकरणहरुको जोरजाम, सरकारी र निजी अस्पताल र स्वास्थ्य निकायहरुलाई आगामी चुनौतीको सामना गर्न तयार पार्ने योजना बनाउनु पर्ने हो । सरकारले यसको निम्ती सरकारीपक्ष र प्रतिपक्षको सांसदहरु, राजनीतिक दलहरु, प्रशासनिक र जनस्तरबाट समेत आवश्यक जनशक्तिलाई यस चुनौतीको सामना गर्न उपयोग गर्नुपथ्र्यो । तर प्रदेश सरकारको स्थिति हेर्दा केन्द्रिय योजनाहरुको यान्त्रिक अनुकरण गरिरहेको जस्तो मात्र देखिन्छ । जबकि प्रदेशले केन्द्रिय सरकारको योजनासंग तालमेल मिलाएर प्रादेशिक विशिष्टतामा तयारी गर्नसक्नु पथ्र्यो । तर प्रदेश सरकारबाट यस्तो कुनै पहल लिएको देखिँदैन । जिल्लाहरुमा यस विषयमा केन्द्रिय निर्देशनको आधारमा सिडियोले आयोजना गरेको कार्यक्रम र बैठकहरुमा सहभागिता बाहेक प्रदेश सरकारको कुनै पहल देखिँदैन । प्रदेशमा बढदो महामारीबाट सरकारी पक्ष होस अथवा प्रतिपक्षी राजनीतिक शक्तिहरु, कसैलाई कुनै मतलब नै न भए जस्तो देखिन्छ । स्थितिको गम्भीरता हेर्ने हो भने यतिबेला सबै राजनीतिक विषयहरु थाती राखेर समग्र देश कोरोना विरुद्धको अभियानमा लाग्नु पर्ने हो । तर यो गम्भीरता न त संघीय सरकार, न त प्रदेश सरकार र न त स्थानीय सरकार,मा नै देखिएको छ । यसमा सरकारको गैरजिम्मेवारपना र जनहितभन्दापनि अर्थलोलुप चरित्रको भूमिका प्रथम कारण छ ।

सरकारीपक्ष होस अथवा प्रतिपक्ष, सबै आफ्ना पार्टीका आन्तरिक अन्तरविरोधमा अल्झेका छन् । प्रदेशमा सरकार होस, अथवा स्वास्थ्यक्षेत्र अथवा राजनैतिक सामाजिक मनोवृत्ति, सबैमा जड चिन्तन र यथास्थिति नै देखिन्छ । यस्तो चुनौतीपूर्ण स्थितिमा महामारीबाट बच्न सामाजिक दूरी कायम राख्ने तथा मास्कको अनिवार्य प्रयोगको चिकित्सकीय निर्देशनलाई धज्जी उडाउँदै पार्टीप्रवेश कार्यक्रममा आयोजना गर्नुले राजनैतिक दलहरुको बुझाईको जडता, सम्वेदनहीनता तथा जनसरोकारप्रतिको गैरजिम्मेवारीपना प्रष्ट हुन्छ । विगत दुई हप्तामा संघीय सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले धनुषा जिल्लाको सबैलामा आयोजना गरेको र प्रदेश नम्बर दुईमा सरकारको नेतृत्व सम्हालेको जनता समाजवादी पार्टीले धनुषा र सिरहामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पाटी समर्थकहरुको मास्कबिनाको सयौँको भीडले घम्साघम्सी गरिरहेको दृश्यले राजनैतिकदलका नेताहरुको गैरजिम्मेवारीपना प्रदर्शित गरिरहेको थियो । सरकारी नेकपाको पार्टी प्रवेश कार्यक्रममा प्रतिनिधिसभा सांसद र आफूलाई हमेशा जनताको पक्षमा देखाउन खोज्ने नेता मातृकाप्रसाद यादवलगायत पार्टीका प्रदेशस्तरिय प्रायः सबै नेताहरुको उपस्थिति थियो भने, जसपाको कार्यक्रममा पाटीैका वरिष्ठ नेताहरु उपेन्द्र यादव र डा. बाबूराम भट्टराई लगायत त्यसपार्टीका प्रमुख नेताहरुको उपस्थिति थियो । मञ्चमा नेताहरुले मुखमा मास्क लगाएपनि मञ्चमा उपस्थित कार्यकर्ताहरु र मञ्चभन्दा तल पार्टीकार्यकर्ताहरु र जनसमूहहरुको असुरक्षित उपस्थितिले ती कार्यक्रमहरुमा कोहीपनि कोरोना महामारीप्रति गम्भीर नभएको देखाईरहेको थियो ।

रोचक के छ भने यी दुबै कार्यक्रममा कोरोना महामारीबाट बच्न सामाजिक दूरी कायम गर्न, मास्क लगाउन, सैनिटाइजर प्रयोग गर्न र पटक पटक मिचिमिची हात धुन सन्देश दिइएको थियो । जनसमुदायले प्रेरणाको रुपमा आफ्ना अगुआहरुलाई हेर्ने गर्छ । तर अगुआ नै बाटो ……… भएपछि के हुने हो । हुन त यो स्थिति प्रदेशको मात्रै होइन । केन्द्रिय राजनीतिमा समेत स्थिति यसभन्दा भिन्न छैन । दुई दिन पहिले एउटा राष्ट्रियस्तरको पत्रिकामा सरकार र संसदीय गतिविधिहरु, पार्टी बैठकहरु र कयौँ सार्वजनिक आयोजनाहरुको तस्वीर प्रकाशित भएको थियो, जस्मा प्रधानमन्त्रीदेखी मन्त्रीहरु, र पार्टी सभापतिहरुदेखी नेता र कार्यकर्ताहरु मास्कबिना सामाजिक दूरीको खिल्ली उडाईरहेका थिए । यो भयावह स्थिति हो । विशेषज्ञहरुका अनुसार अहिले कोरानाको काबूबाहिरको प्रसारको कारण गैरजिम्मेवार जीवन चर्या हो । विगत चारमहिनाको लकडाउन खुलेपछि कोरोना संक्रमण सबैभन्दा बढी काठमाँडौ उपत्यका र प्रदेशनम्बर दुईमा देखिएको हो । यस्तोमा यी पार्टी प्रवेशजस्ता राजनीतिक कार्यक्रमको आयोजना गर्ने राजनीतिक दलहरु र नेताहरु कोरोना महामारीको विस्तार गराउने जिम्मेवारीबाट कसरी मुक्त हुनसक्छन् ? प्रदेश नम्बर दुईको गम्भीरता कति छ भने बीरगञ्जमा विगत दसदिनमा दशजना कोभिड–१९ रोगबाट मरेका छन् ।

कोराना अस्पताल र आइसोलेसन क्याम्प र त्यहाँ रहेका रोगीहरुको उपचारको जिम्मेवारीवहनमा देखिएको त्रुटिहरुलाई उपेक्ष ागर्न सकिँदैन । आइसोलेसनमा उपचाररत् रोगीहरु निम्ती निश्चय नै उचित बजेट छुट्याइएको हुनुपर्छ (हुनुपर्छ किन भनियो भने सरकारले नै उचित प्रबन्ध गरिएको दावी गर्ने गरेको छ ) । तर त्यहाँबाट भाग्ने गरेको संक्रमित रोगीले गर्ने गुनासोले उनिहरुले पर्याप्त खाना र नास्ता समेत नपाई रहेकोसंकेत दिन्छ । कोरोना भाइरस संक्रमित रोगीहरुमा रोग प्रतिरोधकशक्ति बढाउन पौष्टिक र शक्तिबद्र्धक खाना दिनुपर्ने हो । तर रोगीहरुले आफूहरुलाई खानामा पानीबाला दाल र भात तथा नास्तामा छोला र मुरही मात्र दिनेगरेको गुनासो गरेको समाचारपनि आएको छ । नास्तामा छोला र मुरही ! कति को होला ? बीस, तीस अथवा अधिकतम् पचास रुपैया कै होला । के एउटा कोरोनारोगीको नास्ताको निम्ती सरकारले बीस, तीस वा अधिकतम् पचासरुपैया नै छुट्याएको छ ? जबकि उसलाई थप प्रतिरोधक शक्ति उत्पादनको निम्ती मासु, अन्डा, दूध र भिटामिनहरु चाहिन्छ ? यस्तो हो भने यस आर्थिक गोरखधन्दाले कोरोना संक्रमितहरुको मृत्युमा कति जिम्मेवारी लिन्पर्छ ? यस्तो हो भने राजनीतिक दलहरु किन बोल्दैनन् ? र रोगीको उपचार र हेरचाहको निम्ती सरकारले छुट्याएको रकम अपुग छ भने प्रदेश सरकार, प्रशासनिक अधिकारीहरु, चिकित्साकार्यमा संलग्न जिम्मेवार अधिकारीहरु किन बोल्दैनन् ? यो यस्तो यक्ष प्रश्न हो, जो कतैबाट उठि रहेको छैन । एउटा कुरा के निश्चित छ भने कोरोना रोगबाट संक्रमितको निम्ती छुट्याइएको रकममा कि त व्यापक घोटाला भइरहेको छ, कि त गैरजिम्मेवारपना हो । सम्बन्धित निकायले कोरोना भाइरस संक्रमित रोगीको उपचार, खाना, नास्ता र अन्य आवश्यकताको निम्ती सरकारले छ्ट्याएको रकमको खुलासा गर्नुपर्छ । र रकम अपुग छ भने यसको निम्ती राजनैतिक मात्र नभई जनस्तरबाट दबाब सिर्जना गर्नुपर्छ । यो किन हो भने पर्याप्त उपचार र देखरेखकै अभावमा कयौँ रोगीहरु आइसोलेसन क्याम्पबाट भागेको र मृत्युवरण गरेका उदाहरणपनि हाम्रा सामू छन् । त्यसरी नै आइसोलेसन क्याम्पमा रहेका रोगीहरुले प्रयोग गरेका सामग्रीहरुको विसर्जनमा समेत लापरवाहीका कुरा उठ्दैछन् । उदाहरणको रुपमा जनकपुर नर्सिङ्ग क्याम्पस भित्र रहेको आइसोलेसन क्याम्पमा रहेका रोगीहरुले प्रयोग गरेका सामग्रीहरु, खानाका प्लेटहरु, बचेका खानाहरु, चिकित्सकीय सामग्रीहरु जनकपुर अस्पतालभित्रको खुला ठाउँमा नै फालिने गरिन्छ ।

जबकि ती सामग्रीहरु खाल्डो खनेर सुरक्षित विसर्जन गरिनुपर्ने हो । खुला ठाउँमा फालिएका ती सामग्रीहरुमाथी कुकुर, र कागहरु लुछालुछ गरीरहेका हुन्छन् । काग र कुकुरले ती सामग्रीहरु अस्पताल बाहिर बस्तीमा पु¥यायो भने के होला ? चिकित्सकीय क्षेत्रका जानकारहरुले यस्तो लापरवाही गरिरहेका छन् भने जनसाधारणसंग कति अपेक्षा राख्ने हो ? जन साधारणको कुरै न गरौँ । कानमा मास्क झुण्डिएको हुन्छ, तर मुख खुला हुन्छ । श्रव्यदृश्य मिडिया होस, मोबाइल होस, वा सामाजिक सञ्जाल होस, कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन अपनाउनु पर्ने उपायबारे सबैतर सन्देश प्रसारित भइरहेको छ । तर दूधको पसल होस, वा तरकारी पसल वा कुनै सार्वजनिकस्थल सुरक्षित रहने निर्देशनहरु कतै पालन भइरहेका हुँदैनन् । धरमधकेल भीड हुने स्थल देवस्थलपनि हो । मन्दिर र मस्जिद लगायत देवस्थलमा सुरक्षाका उपायहरु कतै अपनाइएका छैनन् । मन्दिरहरुका मूलढोका बन्द रहेपनि अर्को ढोकाबाट भक्तजनहरु मन्दिरमा प्रवेश गरेकै हुन्छन् । भगवत् भजन स्वर्गको सीढी हो भन्ने कथन अहिले मन्दिरहरुमा सटिक बसी रहेको छ । न पत्याए जनकपुरलगायतका मन्दिरहरुमा भ्रमण गरे हुन्छ । कयौँ मन्दिर त खुल्ला नै हुनेगर्छ र भक्तजनहरु कुममा कुम जोडर स्वर्गमा स्थान दिनलाई भगवानसंग प्रार्थना गरीरहेका हुन्छन् । कोरोना भाइरस संक्रमण विस्तारमा हाम्रो राजनैतिक र सामाजिक सम्पूर्ण परिवेशमा व्याप्त अराजकता र गैरजिम्मेवारपना एउटा अहम् कारण छ । राज्य प्रशासनको स्थिति कस्तो छ भने कि त उसले कडाईको नाममा उधुम नै मच्चाउने गर्छ, कि त पूर्णतः निष्क्रिय हुनेगर्छ । यस्ले हामीभित्रको छद् मबोध र आचरणको नग्न चित्र खडा गर्छ । यो कति दिक्दारपूर्ण स्थिति हो कि हामी आफ्नो निम्ती आफै हाँसी हाँसी खाल्डो खन्दै छौँ ।

यस्तै स्थितिमा एउटा समाजवादी सरकारको औचित्य सिद्ध हुन्छ, जस्ले समग्र समाजको जिम्मेवारी बहन गर्छ र आवश्यक प¥यो भने मैत्रीपूर्ण दबाबपनि सिर्जना गर्छ । हाम्रो परिप्रेक्ष्यमा हेर्दा अहिलेपनि एकातिर राजनीति र जनप्रतिनिधि इमान्दार र जिम्मेवार हुनुपर्छ र जनस्तरमा चौतर्फी जिम्मेवार सामाजिकताको निर्माण हुनुपर्छ । भगवानले होइन, डाक्टरले हाम्रो ज्यान जोगाउँछ र भाग्य भन्ने केही हुँदैन, प्रयत्न र सचेतता मूख्य कुरा हो भन्ने बोध नभए सम्म यस महामारीबाट पार पाउन गाह्रो छ । किनभने अहिलेपनि जनमनोविज्ञानको एउटा स्तर भगवान र भाग्यको भरोसामा आफूलाई सुरक्षित महसूस गर्छ र चिकित्सकीय सचेतताको उपेक्षा गरिरहेको हुन्छ । यस सचेतताको निम्ती राजनीति र सामाजिक अगुआवर्ग सक्रिय हुन जरुरी छ । तर यस्को निम्ती त सबैभन्दा पहिले प्रभावकारी योजना सहित राजनीति नै अगाडी आउनु पर्छ ।

Comment


Related News

Latest News

Trending News