अपडेट 
२०७७ श्रावण २३, शुक्रबार ०८:००

हेलो कोरोना… हेलो कोरोना ।

तिम्रो नाम स्वयंमा नयाँ होइन । तर आज अचानक यो नाम चर्चाको शीखरमा पुगेको छ । यसको कारण हो कोरोना भाइरसको आतकं । विज्ञहरुका अनुसार कोरोना भाइरस स्वयंमा नयाँ होइन । विगतमा पनि कुनै न कुनैरुपमा यो अस्तित्वमा थियो । तर यति विघ्न आतंक थिएन । हालसम्म प्राप्त विवरणका आधारमा विश्लेषण गर्ने हो भने यो रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर)सँग जोडिएको छ । जुन भूगोलका व्यक्तिमा इम्युनिटी पावर कमजोर र स्वास्थ्य सेवाको जटील उपलब्धता छ त्यहाँ यसले बढी आक्रमण गरेको पाइएको छ । कमजोर इम्युनिटी क्षमताकै कारण यस भाइरसले समग्र मानव सभ्यतालाई बढी समस्याग्रस्त बनाएको छ । सामान्यतया कोरोना भाइसरका बारेमा यो धारणा व्याप्त रहे पनि आज यो भाइरसले विश्व भूगोलको कुनै पनि मानव वस्तीलाई छोडेको छैन । मानव सभ्यताको प्रारम्भदेखि वर्तमानसम्मको इतिहासको विश्लेषण र समीक्षा गरिएका खण्डमा सम्भवतः भाइरसजन्य यो पहिलो संक्रमण रोग हो जसले सम्पूर्ण विश्वलाई नै प्रभावित बनाएको पाइन्छ । यसभन्दा पहिला भाइरसकै कारण उव्जिएको स्पेनिश फ्रलूलाई सर्वाधिक खतरनाक प्रशारक क्षमताको रोग मानिएको थियो तर यसको प्रशार पनि सम्पूर्ण विश्वभर भएको थिएन । युरोपेली देशहरु यसबाट सर्वाधिक प्रभावित थिए । आजको २१ औं शताव्दीमा जहाँ चिकित्सा र जैविक विज्ञानको विकास उत्कर्षमा पुगेको दावी भइरहेको छ, त्यहाँ यो कोरोना भाइरसले चुनौती दिँदै मानव सभ्यतालाई आक्रान्त बनाएको छ र विश्व यसको उपचार र नियन्त्रण कसरी हुन सक्छ भन्ने ध्याउन्नमा छ ।

कोरोनाबाट आक्रान्त विश्व

कोरोना भाइरस (कोभिड–१९)का कारण अहिले सम्पूर्ण विश्व त्रस्त र आक्रान्त बन्न पुगेको छ । विश्वभर नै अहिले यो भाइरसले एक किसिमले वितण्डा मच्चाएको छ । समकालीन विश्वमा महामारीको रुप ग्रहण गरिरहेको यो भाइरसजन्य रोग अहिले स्वास्थ्य विज्ञानका लागि चुनौती बनेको छ । विज्ञहरुका अनुसार निमोनियाजस्तै रोग निम्त्याउने यो भाइरसले सामान्यतया रुघा, खोकी र ज्वरोको लक्षण देखाउँछ । शरीर दुख्ने, अत्यधिक थकान अनुभव हुने र श्वाँस लिन कठीन हुनेजस्ता समस्यालाई विस्तार गर्दै यो भाइरसले मानिसलाई मृत्युको मुखसम्म लैजाने कुरा विज्ञहरुले बताएका छन् । विश्वमा यो भाइरस पछिल्लोपटक सबभन्दा पहिलो चीनमा देखिएको हो । गत डिसेम्बरमा चीनमा पहिचान भएको यो भाइरसजन्य रोग सोही समयमा जापानी– कोरियाली प्रायद्वीपमा पनि देखिएको बताइएको छ । डिसेम्बरपछि विश्वभरि यस रोगबाट थुप्रै व्यक्तिले समस्या भोग्नु परेको छ ।

नेपाल पनि अपवाद छैन

पछिल्लोपटक यो भाइरसले नेपालमा पनि वितण्डा मच्चाएको छ । यस भाइरसबाट संक्रमतिहरुको संख्या नेपालमा २१ हजारभन्दा बढी पुगिसकेको छ भने मृत्यु हुनेको संख्याले आधा सय काटिसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अति जोखिमको सम्भावना भएको मुलुकको सूचीमा राखी नेपाललाई कोरोना भाइरसबाट सतर्क रहन आव्हान निकै अघि नै गरेको हो तर यहाँको सरकार र नीति निर्माताहरु यसप्रति समयमै संवेदनशील हुन नसक्दा अवस्था भयावह बन्न पुगेको छ । डब्लुएचओको आव्हानपछि पनि नेपाल सरकारले यस दिशामामा पर्याप्त सतर्कता र सावधानी नअपनाउनु दुखद छ । यसको कुनै औषधी अहिलेसम्म निर्माण हुन सकेको छैन । त्यसैले सावधानी अपनाउनु नै यो रोगको प्रतिकारको मुख्य औजार हो ।

प्रदेश दुई अत्यधिक प्रभावित

यस भाइरसबाट नेपालमा प्रदेश दुई सर्वाधिक प्रभावित बन्न पुगेको छ । उपलब्ध तथ्यांकअनुसार यस प्रदेशमा कोरोना संक्रमितहरुको संख्या पाँच हजारभन्दा बढी पुगिसकेको छ । यस्तै यस प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि उल्ल्ेख्य छ । विज्ञहरुका अनुसार यस प्रदेशमा कोरोनाको संक्रमण समुदायमा पुगिसकेको छ । यो कुरा साँच्चै सत्य हो भने निश्च्य पनि यो खतरा र चिन्ताको विषय हो । यस प्रदेशमा कोरोनाबाट उच्च पदस्थ (हाई प्रोफाइल) व्यक्तिहरु संक्रमित हुनुलाई कोरोना समुदायमा फैलिएको वा फैलिन सक्ने सम्भावनाका रुपमा हेरिँदैछ । यस प्रदेशमा प्रदेश सरकारका मन्त्री, संघीय सासद, स्थानीय सरकार प्रमुख र तिनका परिवार, सुरक्षा निकायका कर्मचारी र पत्रकारहरु यस भाइरसको चपेटामा परिसकेको बताइएको छ । यसो हो भने निश्चय पनि यसको तीव्र स्थानीय प्रशारको अवस्थालाई स्वीकार गर्नुपर्ने हुन्छ । अहिले प्रदेशको राजधानी जनकपुर, व्यवशायिक नगरी वीरगञ्ज, राजदेवीको नगर राजविराजलगायत अधिकांश नगर क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । यसबाट पनि प्रदेशमा कोरोनाको भयावह अवस्थाको पुष्टि हुन्छ । अहिले यस प्रदेशमा कुनै यात्रा इतिहास (ट्राभल हिस्ट्री( र संक्रमण सम्बन्ध (कन्ट्याक्ट ट्रेसिगं) नखुलेका वा नभएकाहरु पनि कोरोनाबाट संक्रमित हुनुबाट यसको प्रशारको भयावहताको आँकलन सहजै गर्न सकिन्छ ।

नियन्त्रणमा उदासीनता

तर यसको रोकथाम र नियन्त्रणका लागि अझै पनि सम्बद्ध पक्षले आवश्यक रणनीति अख्तियार गर्न सकेका छैनन् जो दुखद छ । कोरोना संक्रमितहरुलाई उपयुक्त उपचारको व्यवस्था हुन नसक्नु त दुखद छ नै यसको प्रशारलाई नियन्त्रण गर्ने दिशामा सरकार असंवेदनशील देखिनु झनै दुखद छ । प्रदेशमा कतिपय ठाउँमा पहिचान भइसकेका कोरोना संक्रमितलाई आइसोलेसनमा नराखेर घरमै राख्नु र सम्बद्ध क्षेत्रलाई शील नगर्नु उदेकलाग्दो छ । घरमै रहेका संक्रमितले एकातिर आफ्रनै घरमा कोरोनाको प्रशार गर्ने र साुदायलाई पनि खतरा पुर्याउने सम्भावनालाई नकार्न सकिँदैन । तर सम्बद्ध प्रदेश र स्थानीय सरकार यस दिशामा मौन देखिएका छन् । कहाँसम्म भने यसको प्रशार निययन्त्रण गर्न सबभन्दा महत्वपूर्ण भूमिका स्थनीय तहको हुने कुरा निर्विवाद छ तर यी सरकराहरु यस दिशामा पछिल्लो समयमा खासै जिम्मेबार र उत्तरदायी देखिएका छैनन् । कोरोनालाई नियन्त्रण गर्न र यसबाट जनसामान्यलाई बचाउन यससँग सम्बद्ध आवश्यक सूचनाको प्रवाह अत्यन्त महत्वपूर्ण हुन्छ तर स्थानीय सरकारहरु त्यस्ता अत्यावश्यकीय सूचना उपलब्ध गर्न पनि तयार देखिएका छैनन् । कोरोना नियन्त्रणका दिशामा सूचनाको हकको कार्यान्वयन् एक महत्वपूर्ण औजार हुन सक्ने कुरामा शंका छैन ।

स्थानीय तहमा कोभिड सूचना प्रवाह

स्थानीय तहमा सूचनाको हकको कार्यान्वयन्को विकल्प छैन । यस सन्दर्भमा स्थानीय तह सूचनाको स्वतःखुलाशामा संवदनशील हनु अपरिहार्य छ । जनताका आमसरोकार र आवश्यकताका सूचना प्रदान गर्नु सरकारको प्रत्येक तह र मातहतका निकायको कानुनी दायित्व हो । आज आमव्यक्तिमा कोभिडका सन्दर्भमा अनेक प्रकारका जिज्ञासा व्याप्त छन जसको उत्तर र समाधान तिनलाई चाहिएको छ । यस्तो सूचना मानीसलाई आफू र आफ्रनो परिवारलाई सुरक्षित राख्न, भाविष्यका लागि सावधानीका उपाय अपनाउन र कोभिडका नाममा सरकारले गरिरहेको व्यवस्था र त्यसका लागि हुने खर्चका बारेमा जान्न आवश्यक ठहरिएको छ । मानीसका यस्ता विज्ञासा सरकार र सार्वजनिक निकाय खास गरी स्थानीय तहसँग सम्बन्धित छन् । यस्तो अवस्थामा सम्बद्ध निकायले सूचना प्रदान गर्ने दुई तरिका छन् । पहिलो, जनताले माग्नुभन्दा पहिले नै सूचना उपलब्ध गराएर र दोस्रो, जनताले माग गरेका सूचना (सूचनाको हकसम्बन्धी ऐनको दफा ३ को ३ मा उल्लेखित सीमा बाहेकका) तत्काल उपलब्ध गराएर । पहिलो तरिकाअनुसार सार्वजनिक निकायले सूचना कसैले मागे पनि वा नमागे पनि आफै सक्रिय भई उपलब्ध गराउनुपर्छ । कोभिडसँग सम्बन्धित सूचनालाई निश्चय पनि पहिलो तरिकाअन्तर्गत राखेर स्थानीय तहले स्वतः खुलासाका माध्यमबाट सार्वजनिक गर्नुपर्छ । तर अवस्था दुखद छ । स्थानीय तहहरु आफैले सूचना दिनु त कहाँ हो कहाँ माग्दा पनि सूचना उपलब्ध गराइरहेका छैनन् । यसै पंक्तिकारद्वारा पनि पत्रकार आदित्य दाहालसँग मिलेर संयुक्तरुपमा धनुषा जिल्लाका स्थानीय तहहरुसँग कोभिडसँग सम्बन्धित सूचना मागिएको छ । सूचनाको हकसम्बन्धी ऐनअनुसार पहिलो निवेदनका हकमा व्यवस्थित १५ दिनका म्याद गुज्रिसकेको छ तर कुनै पनि निकायले हालसम्म सूचना उपलब्ध गराएका छैनन् । यसबाट के पुष्टि हुन्छ भने यी स्थानीय तहहरु एकातिर संवंधानिक र कानुनी दायित्वबाट पन्छिन खोजिरहेका छन् भने अर्कोतिर जनतको अधिकारप्रति असंवेदनशील बनिरहेका छन् । सारमा यो दुवै अवस्था लोकतन्त्र र जनस्वास्थ्यप्रतिको उपहास हो भन्दा असान्दर्भिक हुँदैन । यसबाट स्थानीय तह जनताप्रति उत्तरदायी र पारदर्शी बन्न नचाहेको स्पष्ट हुन्छ ।

Comment


Related News

Latest News

Trending News