अपडेट 
२०७७ श्रावण २५, आईतवार ०७:४१

बिहान राजबिराजबाट मेरा पुराना मित्र तथा पत्रकार शिवहरि भट्टराइको फोन आयो । उनी एक्लिएका थिए । कोरोनाको डरले घरैमा एकान्तवास बसेका भट्टराईको आवाज भावुक थियो । भोलि के हुन्छ हुन्छ ! हामी दुबैलाई अनिश्चित भविष्यले गिज्याइ रहेका थियो । हामी आपसमा आफना भावना साटासाट गर्दै थियौ । निकैबेर कुरा गरेपछि छुट्टियौं । केहीबेरमा घरमा अखबार आयो – सरकारी अखबार । त्यसमा झण्डै आरपारको शिर्षक छापिएको थियो “कोरोनाबिरुध्द सरकारको तयारी प्रभावकारी ।” समाचारसंगै एउटा फोटो छापिएको थियो – बी ग्रेड हिन्दूस्तानी सिनेमाको खलनायक जस्तो देखिने उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको । उनको भनाइ थियो, कोरोना भाइरस संक्रमितको संख्या बढेपनि त्यसको नियन्त्रण र उपचारका लागि सरकारले पर्याप्त तयारी गरेको छ । गम्भीर प्रकृतिका एकहजार पाँचसयसम्म बिरामीको उपचारगर्न औषधि र उपचारका सामग्री मौज्दात रहेको छ ।

मन्त्री पोखरेलको यो बक्तब्य पढेपछि मलाइ लाग्यो, वर्तमान सरकारका मन्त्रीहरुले कुनदिन कोरोनाले मर्नेहरुको ससम्मान अन्तिम संस्कारगर्न सरकारले पूरा तयारी गरेको बयान दिनेछन । यस्तो लाग्दछ – बर्तमान सत्ताको सिंहासन पूरै मृत्यु नृत्यमा मग्न भएकोछ । एकातिर, राजनीतिमा कोहराम मच्चिएको छ भने अर्कोतिर महामारीको नाममा सरकारका पदाधिकारीले गरेको अकूत भ्रष्टाचारले जनताको भाग्यसंग खेलबाड गरेकोछ । यो अवस्थामा जनताले हरेस खाएका छन भने अस्वाभाविक होइन । कोरोना महामारीको संक्रमण प्रतिदिन बाक्लिदै गएको अहिलेको अवस्थामा जनताले भरोसा खोज्नु अस्वाभाबिक होइन । त्यो भरोसा कसले दिने ? ठग र बिचौलियाहरुको घनीभूत प्रभावमा परेको सरकारबाट कसैले पनि केही आशाराख्ने कुरा भएन । संघीय राजधानी काठमाडौंका गल्ली गल्लीमा संक्रमित भेटिन थालिएका छन । दस रुपियाँको मास्कले मात्रै कोरोना महामारीबाट बचाउने भए संसार दग्ध हुने थिएन । तीन करोड जनताको देशमा पन्ध्रसयलाई उपचारदिने ब्यबस्था गरेर छापामा मुस्कुराएको फोटो छपाउने मन्त्री छन । जनताले यस्तै हो भनेर कति सहने ? पछिल्लो संक्रमण देशब्यापि रुपमा फैलिएको छ । संक्रमणको बाक्लो प्रभाव परेको छ काठमाडौ उपत्यका र मधेशमा । औद्योगिक तथा ब्यापारिक शहर बीरगन्जको अवस्था नाजुक छ ।

दुइ नम्बर प्रदेशको राजधानी जनकपुर कोरोना आतंकमा डुबेको छ । एक नम्बर प्रदेशको राजधानी बिराटनगर कोरोनामा डुबेको छ । राजबिराज, सिराहा, लाहान, सर्लाही, गौर, कलैया – मधेशका कुनैपनि बस्ती कोरोनाबाट अछूत रहेका छैनन । कोरोनाका ६३३० सक्रिय बिरामी मध्ये २४११ ले मात्र अस्पतालको सेवा पाएका छन । सरकारले निजी क्षेत्रका मेडिकल कलेजहरुलाई कोरोना उपचारका लागि कजाउन सकेको छैन । मेडिकल कलेज संचालनको लाइसेन्स दिंदा मन्त्रीहरुले मोटो रकम घूस नखाएको भए सरकारसंग तिनीहरुलाई कारबाहीगर्ने नैतिक अधिकार हुन्थ्यो । आर्थिक अपराधमा संलग्न सरकारसंग नैतिक अधिकार हुने कुरै भएन । शुक्रराज अस्पताल टेकुका सरुवारोग बिशेषज्ञ डा अनूप बाँस्तोलाले एक अन्तर्वार्तामा भनेका कुराको सारसंक्षेप यस्तो छ – मधेशमा अब लकडाउन गरेपनि स्थिति नियन्त्रणमा आउँदैन । काठमाडौ उपत्यका बिनास (डिज्याष्टर) उन्मुख छ । सरकारले यातायातको साधनमा जोर–बिजोर प्रणाली लागू गरेर कोरोना महामारी नियन्त्रणगर्न खोजेको हो कि ट्राफिक ब्यबस्थापनगर्न खोजेको हो ? हाम्रो शैलीले बिनास निम्त्याउनेछ । अहिलेसम्म कति संक्रमित छन र कसरी संक्रमित छन त्यसको पत्तो छैन । आगामी जाडोमा कोरोना उच्चतम बिन्दूमा पुग्नेछ । अहिलेका तालले हामीले यो महामारी थेग्न सक्दैनौं । यो सारसंक्षेप एकजना कर्तब्यपरायण चिकित्सकको हो जो आफनो ब्यवसायिक कर्तब्यमा जुटेको छ । कुनै सरकार बिरोधी नेता वा यूट्यूबेले देखाउने तमाशा होइन यो । हास्यास्पद कुरा के भने सरकार बिपत्तिको मध्यमा आएर तथ्यसंग खेलवाडगर्न थालेकोछ । सरकारका मन्त्री र कारिन्दाहरु एकथोक भन्छन । तर, यथार्थ अर्कै हुन्छ । शासनगर्ने नाममा सरकारले यति धेरै भूmठको सहारालिने हो भने किन चाहियो लोकतन्त्र ? किन चाहियो गणतन्त्र ? एकीकरण अघिको मल्लकालमा जस्तै कबिलातन्त्र चलाए भै गो ।

जोसंग धन छ त्यो राजा भो, जो संग थोरै धन छ त्यो रजौटा भयो । अहिलेको परिस्थितिमा नेपाली जनता न हाँसको चाल चल्न सक्छन, न कुखुराले जस्तो बास्न सक्छन । देशको नाउँमा यति ठूलो मजाक अन्यत्र कही पनि हुँदैन । यस्तो बिजोग देखेर पनि मन नपग्लिने प्रतिपक्ष, महामारीलाई हाँसेर उडाइदिने आर्थिक बिज्ञहरु र नेपाल आमाको रगत निरन्तर चुस्ने बिचौलियाहरुको यो समाज कहाँ गएर किनारा लाग्ने छ ? के कसैले भन्न सक्दछ ? “मैले भनेपछि भ्रष्टाचार भएको छैन । मान्नुस न” चल्दाचल्दै रोकिएको पछिल्लो संसद अधिवेशनमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सांसद गगन थापाले सोधेका भ्रष्टाचारको प्रश्नमा जवाफ दिएका थिए । माननीय सांसदले प्रतिप्रश्नको जवाफ पाए कि पाएनन ? थाह भएन । जहाँसम्म यो स्तम्भकारको पर्यवेक्षण छ, माननीय सांसदले आफनो प्रश्नको जवाफ पाएनन । उनले संसदीय मर्यादाको नाउँमा भ्रष्टाचारमा आकण्ठ डुबेको प्रधानमन्त्रीसंग प्रतिप्रश्न गरेनन । जनताले चुनेका भनिने यी प्रधानमन्त्री मर्यादा र लोकलाजको परिधिभन्दा धेरै बाहिर छन । पन्चायतकालमा राजाले चुनेका प्रधानमन्त्रीहरु कम्तीमा राजासंग डराउँथे र आफनो औकातमा बस्थे । जे जति भएपनि राजा जनतासंग डराउँथे । अहिले त न संविधानको मर्यादा राखिएको छ । न कानूनको प्रतिष्ठा छ । राष्ट्रपतिको आसनमा बस्न चुनिएकी महिला आपूmलाई कम्युनिष्ट पार्टीको अध्यक्षका रुपमा प्रस्तुत गर्छिन । यो बेहालमा पनि जन–प्रतिनिधि केही बोल्दैनन । सत्ताधारी दलका नेताहरु, जो बोल्छन ती बोल्दा बोल्दै थाक्छन । प्रतिपक्षका नेताको संख्या एक त कम छ, त्यसमा पनि ती अनेक स्वार्थम बाँडिएका छन । यस्तो अबस्थामा कसैले त अगाडि बढेर साहसका साथ आवाज उठाउनु पर्यो । भारतका समाजवादी नेता डा. राममनोहर लोहिया भन्ने गर्दथे, “ज्यूँदो देश परिवर्तनका लागि पाँच बर्ष पर्खिएर बस्दैन ।” सांसद प्रदीप गिरिले प्रधानमन्त्री ओलीको कुशासनसंग वाक्क भएर संसदमा बोलेका थिए, “प्रधानमन्त्रीजी, यो त अति भयो । इनफ इज इनफ ।” सांसद गिरिको इनफको इ समातेर केही युवक सत्याग्रहमा उत्रिएका थिए ।

त्यसपछि खोइ, आवाजहरु थाके जस्ता छन । प्रधानमन्त्री ओलीको सत्ताको चरित्र राक्षसी छ भन्ने प्रमाणित पलपलमा प्रमाणित भइरहेको छ । कोरोना महामारीका बेला सरकार रेष्टुराँ खोल्छ । बार खोल्छ । होटल खोल्छ । शपिङ मल र सुपर स्टोर खोल्छ । तर, मन्दिर खोल्दैन । हिन्दूहरुको आस्था छ, शिव र शक्तिको प्रार्थनाले मानिसको भलो गर्दछ । दुःखमोचन गर्दछ । जसले बिश्वास गर्दछ उसको बिश्वासमा प्रतिबन्ध लगाउने अधिकार कुनै शासन सत्तालाई हुँदैन । यो कस्तो सरकार कि महामारीको बेला मर्न लागेको मानिसलाई उसको इश्वरको नजीक बसेर शान्तिसंग मर्नपनि दिदैन । ब्रम्हनाल बन्द गर्छ । धर्म मानिसको आस्था र संस्कार हो । देशमा जति ठूलो बिपत्ति आएपनि भगवानको शरणमा जाने सबै धर्मका करोडौं धर्मावलम्बी छन । राजाको अमानवीय सत्तालाई चुनौति दिएर पराजितगर्ने हामी नेपाली अहिले यस्तो अमानवीय सत्तालाई सही रहेका छौ । हामी कति नीरिह, कति कायर । हे राम !

Comment


Related News