अपडेट 
२०७७ श्रावण २७, मंगलवार ०६:५०

श्वास–प्रश्वासमा समस्या उत्पन्न भएकी बीरगञ्ज छपकैयाँकी विष्णुमायाको परिवार राती नौ बजेदेखी दुईबजेसम्म एउटा अस्पतालदेखी अर्को अस्पतालमा भौँतारिई रहे । कुनैपनि निजी अस्पतालले उनलाई भर्ना गर्न मान्दैन । अन्ततः पुनः नारायणी अस्पताल (सरकारी) अस्पतालले उनलाई भर्ना गर्न माने, तर त्यतिबेलासम्म विष्णुमायाको मृत्युभई सकेको थियो । विष्णुमायालाई भर्ना नगर्ने अस्पतालमा नेसनल मेडिकल कलेजपनि छ । यस्तो महामारीको संकटकालमा आफ्नो न्यूनतम् चिकित्सकिय दायित्व पूरा न गर्ने निजी अस्पतालहरुलाई दण्डित गर्ने ठाउँमा सरकारले नेसनल मेडिकल कलेजमा पाँचसय बेडको कोरोना अस्पतालमा परिणत् गर्ने तयारी गर्दैछ । निजी अस्पतालहरुले सरकारले निश्चित गरेको संख्यामा जनसामान्यको निःशूल्क उपचार गर्नुपर्ने सरकारी निर्देशनलाई शुरुदेखी नै नेसनल कलेजले उपेक्षा गर्दै आएको हो । यद्यपि स्वास्थ्य शिक्षाको व्यापार गर्ने यस कलेजका सञ्चालकहरु शुरुदेखी नै सत्ताधारी पार्टीको सद्भाव प्राप्त गर्ने कलामा निपुण देखिएका छन् । यस्तोमा कोरोनाको नाममा उनको अस्पतालमा पाँचसय बेड थप्ने सरकारी निर्णय यस निजी अस्पतालको निजी सम्पत्तिमा वृद्धि हुने मात्र देखिन्छ । महोत्तरी गौशालाकी गंगादेवी महतो प्रसूती व्यथालागेपछि जनकपुरको रामजानकी अस्पतालमा भर्ना भइन् । तर चिकित्सको लापरवाहीको कारण उनलाई ‘ओ’ पोजिटिभको सट्टा ‘बी’ पोजिटिभ रगत चढाएको कारण उनको मृत्यु भयो । चिकित्सकले रगतको पोका दिने रेडक्रसको कर्मचारीमाथी दोष थोपरे । रेडक्रसको कर्मचारीले लापरवाही गरेपनि रगत चढाउनेबेला उनले पोकोमा लेखेको हेर्नुपर्ने हो, हेरेनन् । गंगादेवीका श्रीमानको उजूरीमा प्रहरीले रेडक्रसका कर्मचारी र चिकित्सक दुबैलाई पक्राउ ग¥यो । तर मिडियामा आए अनुसार त्यसै रात गंगादेवीका पति तथा परिवारजनलाई अस्पतालबाट पठाइएका गुन्डाहरुले धम्क्याए र प्रलोभन दिए । परिणामतः रु.५लाखमा कुरा मिल्यो र रेडक्रसका कर्मचारी र चिकित्सक दुबै रिहा भए ।

जाहेरी नै नपरेले केही गर्न नसकिने भन्ने प्रहरीको प्रतिक्रियापछि खेल खतम !कसैले जाहेरी गरेन भने के हत्याको मामिलाका दोषीहरु मुक्त हुनसक्छन् ? नागरिक सुरक्षामा प्रहरीको दायित्व र भ्मिका के नागरिकको जाहेरीपछि मात्र शुरु हुन्छ ? यस घटनामा प्रहरी जसरी उदासीनता देखाउँदैछ, त्यसले अप्रत्यक्षतः अदृश्य दबाबको सम्भावना व्यक्त गर्छ । हुनपनि जानकीमन्दिरको जग्गामा निजी अस्पताल बनाउनका निम्ती लीज लिनेबेला अस्पताल सञ्चालकहरुको पक्षमा प्रतिनिधिसभामा प्रतिपक्षका प्रभावशाली नेताहरुले समेत सक्रियता देखाएका चर्चापनि यदाकदा सुनिएकै हुन् । सामान्य हैसियतको पिडित महतो परिवारले आवश्यक सहयोगको अभावमा विवशतामा परिस्थितिसंग सम्झौता गरेर पाँचलाखमा चित्त बुझाउनु अचम्मको कुरो होइन । तर प्रश्न छ पाँचलाख तिरेर रामजानकी अस्पतालको निधारमा छापिएको गंगादेवीको हत्याको पाप पखालिन्छ त ? देखीदेखी हत्याको मामिला मिलोमतोमा पचाउनलागेकोमा प्रहरी र अन्य सरोकारवाला सरकारी निकाय मौन बस्न मिल्छ ?नागरिक समाज र चाहे–अनचाहे, पार्टी, धर्म र जातिको नाममा जनसुकै बेला झन्डा बोकेर ज्यान फाल्न तयार युवासमुदायको उदासीतालाई पनि के भन्ने ?


गत हप्ता घटेका प्रतिनिधिमूलक घटनामा यीबाहेक अन्य दुई घटनापनि छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन माडीका जनप्रतिनिधिहरुलाई बोलाएर माडी नै रामको वास्तविक जन्मभूमि अयोध्यापुरी भएकोलेत्यहाँ राम, सीता र लक्ष्मणको भव्यमन्दिर बनाउन र अर्को रामनवमीमा भव्य मेला लगाउन प्रोत्साहित गरे । उनले यस्मा हरेक किसिमले सहयोग गर्ने वचनपनि दिए । केही दिन पहिले भानु जयन्तीको समारोहमा प्रम ओलीले माडीको अयोध्यापुरी नै रामको वास्तविक जन्मस्थल रहेको तर्क गरेकाथिए । प्रम ओलीको यो वक्तव्य यस्तो समयमा आयो, जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत, उत्तरप्रदेशको अयोध्यामा राममन्दिरको शिलान्यास गर्ने तयारीमा थिए । एक त भारतले कालापानीक्षेत्रमा सीमा अतिक्रमण गरेपछि दुईदेशबीचको सम्बन्धको कटुता, प्रम ओलीको यस वक्तव्यले झन थपियो । प्रमको यो बयान नेपालको सन्दर्भमा भएको र भारतीय अयोध्याको गरिमा कम गराउने मनसाय नरहेको भनेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्थिति सम्हाल्न खोजेपनि कटुतामा खासै कमी आएको देखिएको छैन । प्रमओलीको माडीका जनप्रतिनिधिसंगको भेँटत्यतिबेला भएको छ, जतिबेला भारतीय प्रम मोदी अयोध्यामा रामजन्मभूमिको शिलान्यास गरिसकेका छन् । नेपाल र भारत, दुईदेशबीच बढदो कटुकाकै बीच जानकीमन्दिरका महन्थ रामतपेश्वर दास पाँचवटा चाँदीका ईँटा सहित भारतको अयोध्यामादावी गरिएको रामजन्मभूमि स्थलमा मन्दिर निर्माणमा योगदान दिन अयोध्या गए । साधूहरु आफूलाई देश र भूगोलको सीमाभन्दा माथी मान्छन्, मानियो । त्यसैले देश र देशभक्तिको मर्यादा यिनिहरुको निम्ती अर्थ राख्दैन, योपनि मानियो ।

यद्यपि यी सन्त र महन्थहरुले पनि देशको नागरिकता प्राप्त गरेका हुन्छन् र यस दृष्टिले उनले अन्य नागरिक सरह देशको हितलाई सर्वोपरि ठान्नु पर्ने हो । प्रत्यक्षमा अयोध्यामा आयोजीत राममन्दिर शिलान्यास कार्यक्रमको आयोजक रामजन्मभूमि न्यास थियो र भारतीय प्रम मोदी प्रमुख अतीथिको रुपमा यसमा सहभागी थिए । तर यथार्थमा यसको मूल आयोजक केन्द्र र उत्तरप्रदेशमा सत्तारुढ भारतीय जनतापार्टी र यस्को वैचारिक संगठन राष्ट्रिय स्वयंसेवक संघ थिए भन्ने कसैसंग लुकेको छैन । त्यसरी नै राममन्दिर निर्माणसंग जोडिएको राजनीतिक अभियानमा सामेल विश्व हिन्दु परिषद् र बजरङ्ग दल जस्ता कयौँ राजनैतिक धार्मिक संगठनहरु प्रचारकको भूमिकामा थिए । मोदी र उनको पार्टी बीजेपी यिनै धार्मिक संगठनको आक्रामक प्रचारात्मक अभियानको घोडा चढेर सत्ताशीर्षमा बिराजमान हुन सफल भएका हुन् । यसबाट के बुझिन्छ भनेअयोध्यामा मोदीले रामजन्मभूमिको शिलान्यास गरेको कार्यक्रम यथार्थमा बीजेपीको एउटा धार्मिक राजनीतिक आयोजन मात्र थियो, जस्मा मोदी समर्थक राजनीतिक र साधु जमातको मात्र उपस्थिति थियो । तर मोदीको अत्यन्त प्रभावशाली प्रचारयन्त्रले यस नितान्त राजनैतिक कार्यक्रमलाई यस्तो धर्मकार्यको रुपमा प्रचारित ग¥यो, मानौ यस्मा भाग लिनु संसारभरीका धर्मभीडू हिन्दूहरुको सर्वोच्च कर्तव्य होस । यसको प्रभाव कतिसम्म गहिरो छ भने मोदीले अयोध्यामा रामजन्मभूमिको शिलान्यास गर्नेदिन भारतभन्दा बाहिर नेपालमा पनि दिपावली गरिएको देखियो । भनियो, अहिलेसम्म राम बेघर थिए, अब उनको घरको ठेगान भयो, त्यसैले खुशियाली मनाऔँ ।

प्रश्न छ, हिन्दु मिथ चेतनामा सर्वव्यापी, सार्वकालिक र सर्वशक्तिमान छन् भनिने राम बेघरबार कसरी हुनसक्छन् ? त्यसरी नै सर्वव्यापीलाई घरको आवश्यकता नै किन पर्छ ? अर्को तर्क तेस्याइन्छ ः यो त भगवानको लीला हो । भगवान लीलाकै क्रममा लौकिक भएका हुन् । भगवानको सबै लौकिक कार्यहरु लीला मात्र हो भन्ने थाहा छ भने मन्दिर नहुनुको दुःख वा हुनुको खुशी दुबै व्यर्थ नै हो । तर यी सबै विवेकपूर्ण तर्कहरु एउटा कट्टर धर्मभीडू हिन्दूको निम्ती कुनै अर्थ राख्दैन । किनभने धार्मिक प्रचारयन्त्रले धार्मिक सौँचहरुलाई उसको अस्तित्वसंग जोडिदिएको हुन्छ । यस्ले सामान्य पारम्परिक हिन्दुजनमा स्थापित धर्म र धार्मिक कार्यको परिभाषा र बौधसमेत नै बदलिदिएको छ । ‘साँई इतना दिजिए, जा मे कुटुम समाय, मैँ भी भूखा ना रहे, साधु भूखा न जाय’ ; वा महात्मा गान्धीका प्रिय भजनहरु ः ‘वैष्ण्व जन तो तेने कहिए, पीर पराई जाने रे’ र ‘अल्ला इश्वर तेरो नाम’हरुबाट निःसृत उदात्त मानवीय भावहरु मूल्यहीन र अनौचित्यपूर्ण देखिएका छन् । अब आध्यात्मिक परिभाषाको शान्तिपूर्ण वातारणमा अन्तःमा निहित ब्रह्मको साधना र पवीत्रताको साटो भौतिक भव्यताको मन्दिर र मूर्तिहरु, यस्को निम्ती अन्य धर्म र धर्मावलम्बीहरुसंग शत्रुतापूर्ण प्रतिद्वन्दिता र यसको निम्ती आवश्यक परे ज्यान लिनु र दिनुसम्मको उन्माद नै धर्मको आधुनिक परिभाषाको रुपमा व्याख्यायित छ । किनभने प्रचारयन्त्रले धर्मलाई अस्तित्वको बोधसंगपनि जोडेको छ, त्यसैले एउटा धर्मभीडू हिन्दुको निम्ती हिन्दु धर्मको आलोचना हिन्दु समुदायको अस्तित्वको आलोचना र आक्रमण हुनजान्छ । मोदी प्रचारयन्त्रले चतु¥याँईपूर्वक हिन्दू हुनुको अर्थ विश्वमा जहाँसुकै रहेपनि भारतीय भौगोलिकताको भावनासंग गहिरो गरी जोडेको छ । त्यसैले होला नेपालका प्रम ओलीले रामको जन्मभूमि माडीको अयोध्यापुरीमा रहेको दावी गरेकोलाई नेपालकै ठूलो हिस्साले नै पत्याएन ।

जानकीमन्दिरका महन्थ चाँदीको इँटालिएर मोदी वर्णित अयोध्या यसै कारण गएका हुन् । यद्यपि प्रम ओलीको प्रयास अहिलेपनि जारी नै छ, भन्ने आसय उनले माडीमा राम–सीताको मन्दिर बनाउनमा जोड दिएकोले देखाउँछ । तात्पर्य के हो भने मोदी प्रचारयन्त्रले हिन्दुधर्मको व्याख्या जलेबीजस्तो यसरी घुमाउरो प्रस्तुत गर्छन्, कि त्यसमा अल्झेर धर्मभीडू हिन्दू सर्वसाधारणले अलौकिक, सार्वकालिक, सर्वशक्तिमान र सर्वव्यापी रामलाई लौकिक, समकालीन, निरीह र भौतिक सामान्यमा परिणत् गरिदिएको थाहै पाउँदैनन् । तथ्यपूर्ण विवेकलाई तिनै प्रचारपुरुषको जिम्मा लगाउँदै पुनर्परिभाषित धर्माचारमा नै मोक्ष र पारलौकिक सुख खोज्न थाल्छन् । यथार्थ के हो भने राम मिथ पात्र हुन्, जस्लाई ऐतिहासिकरुपमा प्रमाणित गर्न सकिँदैन । राम आस्थामात्रका विषय हुन्, त्योपनि हिन्दुहरुको लागी । इतिहास निश्चित हुन्छ, त्यसैले त्यसमा फरक स्थिति उत्पन्न हुँदैन । बुद्ध, बद्र्धमान महाबीर, अशोक, सिकन्दर, आदि एैतिहासिक पात्रहरु हुन् । यिनको बारेमा ऐतिहासिक प्रमाणहरु उपलब्ध छन्, त्यसैले यिनको ऐतिहासिकतामा सन्दिग्धता छैन् । तर राम, कृष्ण, रावण, कंस आदि मिथपात्रहरु हुन्, जस्को बारेमा पुराण वा महाकाव्यमा अलौकिक वर्णन बाहेक कुनैपनि लौकिक तथ्य पाइँदैन । त्यसै कारण यिनको जन्मस्थली वा अस्तित्वको बारेमा विविध समुदायले आ–आफ्ना तार्किकता सहित दावी गर्छन् । रामको जन्मस्थली अयोध्या भनेर भारतीय हिन्दुहरुको दावी र थाईल्यान्डका बौद्ध धर्मावलम्बी राजाहरुलाई अहिलेपनि रामभन्ने परम्परामा रामको जन्मस्थली त्यहाँको अयोध्या (थाई सम्बोधनमा अयुथ्था)को दावी यसै कारण हो । रामको बारेमा यस्ता अन्य दावीहरुपनि छन् । मिथको यसै अनिश्चितताको फाइदा उठाएर प्रम ओलीलेपनि माडीको अयोध्यापुरीलाई अगाडी सारेर पार्टीभित्रको संकटको दिशा अन्यन्त्र मोडने र मोदीपथ मै आगामी राजनैतिक रणनीति सेट गर्ने प्रयास गरेका हुन् । तर, समग्रमा यो धर्म र पूँजीको मिश्रित गोरखधन्दा हो । सबैलाई थाहा छ, अब साधु साधुजस्ता छैनन् र राजनीतिज्ञहरु राजनीतिज्ञ छैनन् । दुबैले चोला मात्र ओढेका छन् । होइनभने दुबैको लक्ष्य धन कमाउनु र भौतिकसुखको लालसा नै हो । यस अर्थमा भन्ने हो भने दुबै बनियाँ वा व्यापारीमा परिणत् भएका छन् । यथार्थमा धर्म राजनीतिकौ हिस्सा नै हो, जस्ले आफू अनुकूलको राजा वा शासकलाई देवतुल्य प्रचारित गर्छ । धर्म र राजनीतिको यो नक्कलीपनालाई आधुनिक राजनीतिमा फासीवादको संज्ञा दिइएको छ ।

पाम्परिक फासीवादले वर्तमानका समदर्शी विचारहरुको सट्टा प्राचीन पुख्र्यौली गर्वलाई वर्तमानमापनि गर्वको रुपमा स्वीकार्दै अन्य समुदायभन्दा आफूलाई श्रेष्ठ र योग्यको रुपमा प्रस्तुत गर्छ, जस्तै आर्य श्रेष्ठता, वा हिन्दु श्रेष्ठता वा इस्लामको श्रेष्ठता वा अन्य कुनै धार्मिक साँस्कृतिक श्रेष्ठताको भाव । आधुनिक फासीवाद भने पारम्परिकभन्दा खतरनाक र चतुर छ । यस्ले वर्तमानलाई नै पुरातन वा पौराणिकतामा फेर्न चाहन्छ, त्यसैले उसले आधुनिक चेतनाका सबै उपजहरुलाई पुरातनको नविनीकरणमात्र भन्छ । त्यसैले मोदीले अयोध्यामा शिलान्यास गर्नेबेला बिजेपी समर्थक लामा दाढी र गेरुवा चोलाधारी साधुहरुको उपस्थिति र वेदमन्त्रका सामूहिक पाठहरुमा कुनै हिन्दु धर्मभीडूले निहित नितान्त राजनीतिक स्वार्थको साटो रामले गरेको अश्वमेधको दृश्यबोध वा बीजेपी प्रचारयन्त्रले भनेजस्तै पाँचसय वर्षको गुलामीबाट मुक्त हिन्दु धर्मको पुनस्र्थापनाको बोधको भ्रमित अनुभूति गर्नसक्छ । यद्यपि यो इतिहासको भ्रम नै हो । अन्तिम कुरो, भौतिक सुखको निम्ती धनको अनन्त लालसाले हामा सम्वेदना र चिन्तन प्रकियालाई निष्ठुरता र अमानवीयताको हदसम्म पु¥याई दिएको छ । त्यसैले हामीलाई न त उपचारबिना ज्यान गुमाउने विष्णुमायाले, न त चिकित्सकीय लापरवाहीले ज्यान गुमाउने गंगादेवीको मृत्युले सम्वेदित गर्छ । तर हामी फगत आस्थाको नाममा ढुङ्गाको मूर्ति स्थापना गर्न र भव्य बनाउने नाममा आत्मबलिदानको हदसम्म सम्वेदित हुन्छौँ । वस्तुतः यो चिन्तन प्रक्रियाकै दोष हो, जस्ले हामीलाई मानिसलाई ढुङ्गा र ढुङ्गामा जीवनको बोध गर्न सिकाउँछ । यसलाई बदल्ने साहस उसैले गर्नसक्छ, जो भौतिक वैचारिकताबाट लैस हुन्छ । उपरी राजनैतिक परिवर्तनहरुले तात्कालिक सुधारमात्र गर्न सक्छ, जो हामी भोगी रहेका छौँ । अस्तु ।

Comment


Related News

Latest News

Trending News