अपडेट 
२०७७ श्रावण २८, बुधबार ०७:०८

उपचारको लागि अस्पतालको चक्कर लाउँदा लाउँदै ज्यान गुमाएका ९ वर्षीय बालकको कोरोना परीक्षण रिपाेर्ट भने नेगेटिभ आएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालाका अनुसार बाराको बारागढी गाउँपालिका–२ सुखीपत्रा निवासी ९ वर्षीय बालक सुशीलकुमार साहको कोरोना परीक्षण रिपोर्ट मंगलबर साँझ नेगेटिभ आएको हो । साहको मंगलबार बिहान वीरगञ्जमा रहेकाे नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएकाे हाे । सामान्य ज्वरो, झाडापखाला र बान्ताले सिकिस्त सुशीललाई आइतबार उनका बुवाले उपचारका लागि वीरगञ्ज ल्याउनु भएको थियो ।

रातभर विभिन्न अस्पताल चाहर्दा पनि कुनै अस्पतालले भर्ना लिएर उपचार गर्न मानेन । सामेबार बिहान पर्सा प्रहरी प्रमुख गंगा पन्तको सहयोगमा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरियो । सुशीलका नातामा भिनाजु पर्ने उपेन्द्र साहले  एसपीको फोनमा अस्पतालले भर्ना लिए पनि उचित उपचार नगरेकोले सुशीलको ज्यान गएको आरोप लगाउनु भयो । भर्ना गरिएको बालकलाई उपचार गर्न भर्ना कक्षमा चिकित्सक नगएको साहको आरोप छ । झाडापखाला र बान्ताले गाह्रो भएपछि आइतबार बिहान सुशीलका बुवा उमेश साहले उनलाई ज्वाइँ उपेन्द्र साहसँग सुरुमा नेशनल मेडिकल कलेज लिएर जानुभएकाे थियाे तर त्यहाँ आइसीयू कक्ष खाली नभएको भन्दै त्यहाँका चिकित्सकले उनलाई तराई हस्पिटल जान सल्लाह दिए । 

सुशीललाई लिएर उहाँहरु तराई अस्पताल,एलएस न्यूरो अस्पताल, भवानी हस्पिटल, नारायणी अस्पताल पुग्नुभयो, तर कहीँ पनि आइसीयू खाली छैन भन्दै भर्ना गर्न मानेनन् । अन्तिमा पर्सा प्रहरी प्रमुखलाई हारगुहार गरेपछि सोमबार नेशनल मेडिकल कलेजमा सुशीलको भर्ना गरिएको थियो । कलेजले बिरामी उपचारका लागि आफूहरुसँग दुई सेट पीपीई समेत खरिद गर्न लगाएको उपेन्द्रले बताउनु भयो । पीपीई किनेपछि  राति ८ बजेतिर बाबुलाई हेर्न एकजना डाक्टर  आएर केही औषधि लेखेर गएको उपेन्द्रले बताउनु भयो । यता शिक्षण अस्पतालका प्रवन्ध निर्देशक बसरुदिन अन्सारीले उपचारको क्रममा बालकको ज्यान गएको बताउनु भयो ।

उहाँले शिक्षण अस्पतालमा आइसीयू खाली नभएको समेत प्रष्ट पार्नु भयो । वीरगञ्जका सबै अस्पतालहरुबाट फर्केपछि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गरिएको तर बचाउन नसकिएको उहाँको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News