अपडेट 
२०७७ श्रावण २८, बुधबार ०७:२३

अहिलेको समयमा कोरोना नै संसारको मुख्य समस्या भएको जस्तो देखिएको छ । केही देशहरुमा कोरोनाको नियन्त्रण मुख्य समस्या नहोला तर त्यस देशमा पनि आफ्नो नागरिकलाई कसरी कोरोनाबाट बचाइराख्ने भन्ने समस्या चाहिँ हुनुपर्छ । संसारका सबै देशमा प्रक्रिया पूरा गरी निर्वाध आवागमनको छुट अहिले कोरोनाकै कारण छैन । वास्तवमा सन् २०२० सुरु हुनुभन्दा पहिलेको विश्वको मनोविज्ञान र अर्थतन्त्र दुवै जुन किसिमको गति थियो, त्ययो अहिले छ कि छैन ? भनेर आफैँले आफैलाई विचार गर्ने हो भने कोरोनाको कारणले संसार कति प्रभावित भएको छ भन्ने स्पष्ट हुन सक्छ । अति विकसित देशदेखि अति अविकसित देशसम्म कोरोनाले प्रभावित भएपछि कोरोना अब विश्वकै समस्या भइसकेको हो भन्ने कुरामा स्पष्ट हुनु जरुरी छ । प्रायः हरेक देश कोरोनाविरुद्ध लडिरहेको छ । हरेक देश एक्लै लडिरहेको छ भन्दा पनि हुन्छ । केही समय पहिले युरोपियन युनियनले कोरोनाविरुद्धको लडाइमा संयुक्तरुपले बजेट विनियोजन गरेको खबर आएको थियो तर अन्यत्र भने करिब करिब एक्लै प्रयासमा कोरोनालाई हराउने काममा देशहरु लागिरहेका छन् ।

कोरोनाको कहरले जुन देश बढी प्रभावित छ, त्यहाँको सरकारलाई झन् बढी दबाब रहेको छ र जुन देशमा कोरोनाको प्रभाव कम छ त्यस देशलाई त्यसै गरी कोरोना नफैलियोस् भनेर जोगाइ राख्न र अर्थतन्त्रलाई गतिशील बनाइ राख्न बढी मिहिनेत गर्नु परिरहेको छ । कोरोनाले संसारलाई प्रभावित पार्दै धेरै हदसम्म पुरानो गतिविधिमा फर्किन रोकेको सन्दर्भमा सबैभन्दा बढी युवा वर्ग नै प्रभावित भएको छ । युवा भनेको ऊर्जाको अक्षय भन्डार हो । त्यही ऊर्जाको भरमा कुनै पनि देशले लगानी गर्ने वातावरण बनाएको छ । वास्तवमा युवाले चाहेमा जे पनि गर्न सक्दछ । राजनैतिक परिवर्तन पनि युवाकै भरमा हुन्छ भने आर्थिक क्रान्ति पनि युवाले नगरी हुँदैन । आज विश्वले युवा दिवस मनाइरहँदा युवाहरु भने कोरोनाको कारणले आफूलाई घरमा सीमित राख्नु परेको छ । भोलि के गर्ने भनेर विचार गर्नु परेको छ । कोरोनाको कहरबाट समाजलाई कसरी बचाउने भन्ने विषयमा युवाहरु त्यत्ति धेरै चिन्तनशील नरहे पनि आफ् नो भविष्यप्रति भने निकै गम्भीर रहेका छन् । वास्तवमा कोरोनाले गर्दा युवाहरुको आफ्नो भविष्यमाथि गम्भीर संकट आउन लागेको पो हो कि भन्ने चिन्ताको बादल मनभरि छाउन थालेको छ ।

युवाहरुले आफ्नो अनुहारलाई उज्यालो बनाउन सकेका छैनन् । युवाहरुमा पनि दुई समूह बनाएर समस्याका बारेमा थोरै अध्ययन गरौँ । पहिलो समूह त्यो हो जो अहिले कक्षा १२ को परीक्षा दिनलाई बसिरहेको छ । सामान्य अवस्था भएको भए गत वैशाखमा परीक्षा सम्पन्न भइसकेको हुन्थ्यो र आज हो कि भोलि हो भनेर रिजल्टको व्यग्र प्रतीक्षा हुन्थ्यो । तर अहिलेसम्म परीक्षा हुन सकेको छैन । असोजसम्म परीक्षा हुने सम्भावना थियो तर पछिल्लो चरणमा कोरोनाको समाजमा विस्तार हुन थालेपछि र धेरै जिल्लाले आन्तरिक रुपमा निषेधाज्ञा जारी गर्न थालेपछि कोरोनाको संक्रमण अझ बढ्न सक्ने सम्भावना बढाएको छ । यसले गर्दा असोजसम्म पहिलेको मोडेलमा परीक्षा हुने सम्भावना पनि कम हुँदै गएको छ । कुन मोडेलमा कक्षा १२ को परीक्षा हुने हो ठेगान छैन तर यस बेठेगानको समयमा देशका लाखौँ नवयुवा अलमलिएका छन् । के गरौँ र के नगरौँको अवस्थामा आफूलाई थन्क्याएर राखेका छन् । र, कक्षा १२ को परीक्षा सञ्चालन हुन नसकेर रिजल्ट नआउँदासम्म देशका सबै विश्वविद्यालयहरुमा प्रथम वर्षको भर्ना खोल्न सकिँदैन । नेपालमा कक्षा १२ को परीक्षा उत्तीर्ण विद्यार्थीले नै सबै विश्वविद्यालयमा स्नातक तहमा विभिन्न कार्यक्रममा भर्ना हुन पाउँछन् ।

अर्थात, कक्षा १२ को परीक्षा रोकिँदा देशका विश्वविद्यालयहरुको स्नातक प्रथम वर्षको भर्ना सम्बन्धी सम्पूर्ण गतिविधि पनि रोकिएको छ, ठप्प छ । कोरोनाले गर्दा देशको शिक्षा तथा तालिममा रहेका युवाहरुको समस्या एक किसिमको रहेको छ । शिक्षा र तालिम प्रभावित हुँदा त्यसले देशमा भविष्यमा पार्न सक्ने असरको आँकलन अहिले गर्न सकिँदैन । शिक्षाको उमेर पार गरिसकेका वा शिक्षाको उमेरमै रहे पनि शिक्षाको औपचारिक शृंखलामा नरहेका नवयुवादेखि आफूलाई युवा हुँ भन्ने उमेरका युवाहरुले पनि बेरोजगारीको सामना गर्नु परिरहेको छ । पहिले दैनिक ज्यालादारीमा निरन्तर कतै न कतै काममा रहेका युवाहरु अहिले घर बसेर समय बिताउने काम गरिरहेका छन् । युवाहरुको अगाडि कामको समस्या छ । पहिलेभन्दा कम ज्यालामा पनि काम गर्न तयार छन् तर काम पाइरहेका छैनन् युवाहरुले । यसरी काम नपाउँदा एकातिर उनीहरुको श्रम खेर गइरहेको छ भने अर्कोतिर अर्थतन्त्र कमजोर भइरहेको छ । समाजमा अर्को पनि चिन्ता थपिँदै गएको छ । कोरोनाको कहर समाजमाथि यसै गरी कायम रहँदै विस्तार हुँदै जाने हो भने युवाहरु कुलतको शिकार हुने त होइन । गाउँमा यत्तिकै बसिरहेका युवाहरुमा दिनभरि तास खेल्ने बानी परिरहेको छ । समय बिताउने कसरी ? प्रश्न गर्छन् उल्टै युवाहरुले । युवाहरुलो आफूलाई सक्षम र जिम्मेवार बनाउनु जरुरी छ ।

यस कुरालाई अधिकांश युवाहरुले राम्ररी बुझेका छन् । स्वरोजगारमा रहेका युवाहरुले पनि अहिले समयले निराश बनाउँदै लगेको बताउन थालेका छन् । युवाहरुमा आउने निराशाको मुख्य कारण नै कोरोना र यसको प्रभाव हो । युवाहरुको मनोविज्ञानमा कोरोनाको कारण आफूहरु बेरोजगार हुने वा काम नै नपाउने हो कि पर्न थालेको छ । यस निराशापूर्ण समयलाई बिताउन एकै उमेरका केही साथीहरु मिलेर दिनभर तास खेल्ने वा साँझ तथा बिहान सरेहतिर डुल्न निस्कने गर्दछन् । सहरका विद्यालय, क्याम्पस तथा विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरुले पनि गाउँमा खासै पढाइमा समय दिन सकिरहेका छैनन् । वास्तवमा सहरको तुलनामा गाउँमा पढाइको वातावरण कम हुन्छ । जुन युवा सहरमा आफ्नो समयलाई व्यवस्थापन गर्न कति बजे के गर्ने भनेर समय तालिका बनाएका हुन्छन्, गाउँमा बसेको समयलाई व्यवस्थापन गर्न बनाएको दैनिक कार्यतालिका कुनै एक दिन पनि पूर्ण रुपमा राम्ररी लागू गर्न सकिएको भन्दैनन् । प्रदेशका अधिकांश ठूला सहरमा निषेधाज्ञा छ । गाउँमा निषेधाज्ञा त्यत्ति प्रभावित हुँदैन तर सहरी क्षेत्रमा भने निषेधाज्ञा धेरै हदसम्म प्रभावकारी भइरहन्छ ।

प्रहरीको सक्रियता पनि बढी हुन्छ र सडक सञ्जाल पनि तुलनात्मक रुपले राम्रो रहने हुनाका साथै तुलनात्मक सचेत मानिस बढी हुनाले सहर बजारमा निषेधाज्ञा बढी प्रभावकारी हुन्छ । प्रदेशका अधिकांश ठूला सहर तथा बजारमा निषेधाज्ञा जारी रहेको वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय युवा दिवसको मर्म कसरी प्रभावकारी हुन सक्छ ? युवाहरुले आफ्नो ऊर्जालाई घरमा सीमित राख्नु परेको छ । जुन युवाको सपना हुन्छ कि पखेटा भए संसारभरि नै उड्न सक्छु, त्यस्ता युवालाई घरमा सीमित भएर समय बिताउन कति गाह्रो भएको होला भन्ने अनुमान लगाउन सकिन्छ । समय खर्चिन समस्या भएको मात्र होइन आफ्नो ऊर्जा पनि त्यसै खेर गइरहेको छ र भविष्य पनि के हुने हो अनिश्चित छ भन्ने पर्दै गएको छ । युवकको काँधमा नै विश्वको भविष्य अडेको हुन्छ । युवालाई उसको क्षमता, दक्षता र रुचिअनुसार परिचालन गर्ने, उनीहरुमा त्यस किसिमको गुण भर्ने र देशको विकासमा लगाउने योजना हरेक देशका सरकारहरुले बनाएको हुन्छ । अझ त्यसमा युवाहरु आफूलाई सक्षम छु भनेर साबित गर्न प्रतिस्पर्धा पनि गरेका हुन्छन् । युवामा प्रतिस्पर्धी गुण हुने हुनाले प्रतिस्पर्धाको वातावरण पनि बनाएको हुन्छ । प्रतिस्पर्धाको हुने भएपछि युवाहरु त्यसको लागि तयारी गरिरहेका हुन्छन् । हो, आजका हाम्रा युवाले अहिले निषेधाज्ञा र कोरोना कहरको समयमा यही विचार गर्नु आवश्यक छ कि घरमा बसेर आफूले चाहेको र आफूले रोजेको क्षेत्रको लागि आफूलाई योग्य बनाउन घरमा बसेर तयारी गर्नु परेको छ र आफूले कोरोनाको कहर देखिएको समय खेर नफालेको प्रमाणित गर्नु परेको छ । विपद्को समयलाई पनि आफूलाई तयारी गर्ने अनुकूल बनाउँदा आफूमा ऊर्जा थपिने मात्र होइन कि अरुमा पनि समेत शक्तिको सञ्चार हुने छ । यसले देशलाई पनि समेत असल नागरिक प्रदान गर्ने छ ।

हाम्रा युवाहरु सक्षम छन् । हाम्रा युवाहरु असल छन् । हाम्रा युवाहरुमा भविष्य देख्ने क्षमता छ । हाम्रा युवाहरुले यस संकटको समयमा अझ राम्रो गर्न सक्छन् । घरमा मातापिताको निगरानीमा नवयुवाहरुले भविष्यमा जीतको तयारी गर्न सक्छन् भन्ने भाव र भावनालाई सञ्चार गरी युवालाई सत्मार्गमा राखिराख्न हरेक सचेत अभिभावक, सामाजिक अभियन्ता, सामाजिक अगुवा तथा जिम्मेवार पक्षले प्रत्यक्ष र परोक्ष रुपमा भूमिका खेल्नु परेको छ । रातपछि दिन आउँछ, अँध्यारोपछि उज्यालो आउँछ भनेझैँ वर्तमान अँध्यारो समयमा कमसेकम टुकी वा मैनवत्तीको उज्यालोले पनि काम चलाउने गरी र आफ्नो वातावरणमा उज्यालो मुस्कुराएको देखिने गरी अभिभावकीय भूमिमा रहेका हरेकले युवाहरुको मनबाट निराशारुपी अन्धकारलाई हटाउनु परेको छ । युवामा सचेतना त ल्याउनु परेको छ नै साथमा अबको दिन झन् उनीहरुको भएर आउँदैछ । वर्तमान अवस्थामा युवाहरु घरमा बसेर एकातिर कोरोनामाथि विजय गराउनु छ र अर्कोतिर आफ् नो भविष्यको तयारी पनि गर्नु छ भन्ने बुझाउनु परेको छ । विश्व नै विशिष्ट समयबाट गुज्रिरहेको वर्तमान अवस्थापछि आउने समय वर्षापछि आकाश छ्याङ खुलेजस्तै हुने निश्चित छ । वास्तवमा कोरोनापछिको समय युवाहरुकै हो, युवाहरुको भूमिका अझ बढ्दै छ, कोरोनाको पछिको समय युवाहरुलाई पर्खेर बसिरहेको छ, त्यस उज्यालोको लागि युवाहरुको तयारी निकै महत्वपूर्ण छ भन्ने भावना युवाहरुमा फैलाउनु पनि उत्तिकै आवश्यक देखिएको छ । वर्तमान अवस्थालाई पार लगाउन पनि युवाहरुको नेतृत्व चाहिएको छ । यदि हरेक युवाले आफूलाई आत्मसंयमित बनाएर आफ् नो घरमा बसेर आफ्नो घरपरिवारलाई सम्भावित कोरोना संक्रमणको सबै किसिमको जोखिमलाई हटाउने नेतृत्व लिने हो भने यो संकट धेरै दिन टिक्न सक्दैन । यसै गरी आफ्नो टोल छिमेकका मानिसमाथि पनि घरबाटै निगरानी राखेर त्यस घरमा युवालाई आत्मसंयमित भई घरमा परिचालन गर्न सक्ने हो भने वास्तवमा कोरोनाको कहर हेटर जाने निश्चित छ । कोरोनाले सबै उमेरका मानिसलाई प्रभावित पारिरहेको युवाहरुले देखेको र बुझेको हुनाले अबको आफू सचेत रही समाजलाई नै सचेत बनाउने कार्यमा घरबाटै संलग्न हुनु परेको छ, नेतृत्व लिनु परेको छ । आजका युवाले आज पनि र भोलि पनि आफूलाई सक्षम साबित गर्नु परेको छ ।

Comment

Related News

Latest News

Trending News