अपडेट 
२०७७ श्रावण २९, बिहीबार ०७:५३

धर्मको सोझो अर्थ ‘स्वभाव नियत कर्म’ वा ‘ईश्वर प्रति मानिसको कर्तव्य’ रहेछ । अर्को शब्दमा धर्मको अर्थ ईश्वर प्रतिको विश्वासलाई धारण गर्नु रहेछ । यसको मूल उद्देश्य मानव कल्याणसँग सम्बन्धित हुन्छ । यसरी प्रत्येक मानिस कुनै न कुनै धर्म धारण गरेकै हुन्छ । सबै धर्मको अर्थ लगभग मिलेकै हुन्छ । कुनै धर्मले पनि हत्या–हिंसालाई प्रोत्साहन गरेको देखिँदैन । तर पनि समाजमा विभिन्न किसिमको हिंसा–हत्या, अपराध तथा झै झगडा भएकै हुन्छन् अर्थात धर्म बारे ज्ञान पाउँदा पनि त्यसको सही प्रयोग गरेको हुँदैन । यसरी धर्मको प्रयोग तिर जाँदा विश्वका विभिन्न देशमा आ–आफ्ना धार्मिक संस्थाहरू खोलेर आ–आफ्ना धर्मको प्रचार–प्रसार गरेका हुन्छन् । कतिको विचारमा मेरो धर्म अरूको धर्म भन्दा राम्रो, अर्काको नराम्रो । यसरी राम्रो नराम्रो बीचमा ठूल–ठूला धार्मिक दंगा भएका दृश्यहरू देखका छौं । जातीय दंगा देखेका छौं । यस्ता दंगाले हजारौं मान्छेको ज्यान गएका छन् । यसरी धर्मको गलत प्रयोगगर्दा कहिले पनि हत्या–हिंसाबाट छुटकारा पाउँदैनौं । धर्मको प्रयोग गर्दा सबैको धर्मप्रति समान भावना राख्नु पर्दछ । धार्मिक गुणहरूले पनि यस्तै दिक्षा दिएका हुन्छन् । कुनै पनि धार्मिक गुरूहरूले हत्या–हिंसा गर्न सिकाउँदैनन् । तब पनि हामी हत्या हिंसाको शिकार भै रहेका हुन्छौं ।

नेपालमा विभिन्न धार्मिक समूहहरू छन् । ती मध्ये हिन्दू धर्म मान्नेहरूको वाहुल्यता देखिन्छ । हिन्दूहरूले मान्ने धर्मको मठ–मन्दिरहरू जता–ततै हेर्न पाइन्छ । पश्चिममा लुम्बिनी जो बौद्ध धर्मको प्रतिनिधित्व गर्दछ भने पूर्वमा वराहक्षेत्रले हिन्दू धर्मको । यस्तै मध्य नेपालमा पशुपतिनाथ तथा जगत जननी जानकी माताले हिन्दू धर्मको प्रतिनिधित्व गरेका छन् । मुस्लिमहरू पनि पूरै तराई–मधेश क्षेत्रमा बसोवास गरेपनि संख्या निकै पातलो रहेकाले आफु बसेको ठाउँमा नै मस्जिद बनाई नबाज पढेका हुन्छन् । हुनत नेपाल अन्य धर्मावलम्बीहरू क्रमशः किराँत, जैन, क्रिश्चियन, सीख, बहाई, प्रकृति, बोन तथा अन्य रहेका छन् । यी धार्मिक समूहहरू पनि आ–आफ्ना बसेको ठाउँमा आ–आफ् ना धर्मका मठ मन्दिर वनाएर धार्मिक आस्था प्रकट गरेका हुन्छन् । राजाको शासन कालमा नेपाल हिन्दू राज्य रहेपनि हाल धर्म निरपेक्षको रूपमा रहेको छ । सबै धर्मलाई समान दूरीमा राखेको हेर्न पाइन्छ । धार्मिक समूहहरू पनि मिलेर बसेका यस्ता नमूना विश्वमा विरलै देख्न पाइन्छ । हाम्रो छिमेकी देश भारत पनि धर्म निरपेक्ष हो तर त्यहाँ कुनै यस्तो वर्ष छैन जहाँ हिन्दू मुस्लिम दंगा भएको छैन । सयकडौंको ज्यान यस्तै दंगाबाट गएको देखिन्छ । करोडौं धन–दौलतको क्षति भएको छ । पश्चिमी मुलुकहरूमा क्रिश्चियन धर्मालम्बीहरूको वाहुल्यता छ भने मुस्लिम देशहरू पूर्णरूपेण इस्लामिक मुलुक भएका छन् । त्यहाँ अर्को धर्मको स्वतन्त्रता प्रायः नगन्य छ ।

विश्वमा धर्मको कारणले ठूल–ठूला युद्ध भइसकेका छन् भने भविष्यमा समेत यस्ता धार्मिक युद्ध हुने सम्भावना रहेको देखिन्छ । भर्खर भारतको राजधानी दिल्ली जस्तो ठाउँमा हिन्दू–मुस्लिम दंगा देखिएका छन् जसमा ४५ जनाको ज्यानको साथसाथै करोडौंको क्षति भएको देखिन्छ । सैकडौ घायल भई उपचारत छन् । धेरैको जिउ अंगभंग भएका छन भने हजारौंका घरबार लुटिएका छन् । उनीहरू हाल घरबार विहिन भएका छन् । के धर्मले यही सिकाउँछ त । धर्मको प्रयोग यस्तै रूपमा गर्न भनेका छन् त । विचारणीय कुरो छ । प्रत्येक मानिसको मस्तिष्कमा दुईटा विचार काम गरेका हुन्छन् । एउटा मानवीय प्रवृत्तिको प्रतिनिधित्व गर्दछ भने अर्को दानवीय प्रवृत्तिको । यसरी मानवीय र दानवीय प्रवृत्तिको बीचमा निरन्तर संघर्ष चलिरहेका हुन्छन् । मानवीय प्रवृत्तिले धर्म तथा सत्यको बाटो देखाउँछ भने दानवीय प्रवृत्ति अधर्म तथा असत्यको बाटो–तिर लगेका हुन्छन् । यसैलाई अर्को शब्दमा देवमार्गलाई मानवीय प्रवृत्तिले तथा असुरमार्गलाई दानवीय प्रवृत्तिले नेतृत्व गरेका हुन्छन् । जुन मानिसमा दानवीय प्रवृत्ति बलियो हुन्छ भने त्यहाँ यस्ता हत्या– हिंसा बढी भएको देखिन्छ । जुन ठाउँमा मानवीय प्रवृत्ति बलियो हुन्छ भने त्यहाँ हिंसा हत्याको सट्टा दया, ममता बढी रहेको पाइन्छ । प्राचिन कालमा पनि यस्तै दुइटा प्रवृत्ति बीचको झगडाले गर्दा ठूल–ठूला युद्ध भएका थिए जसको उदाहरण अहिले पनि हामी विभिन्न धर्म शास्त्रमा पाउँछौं । अहिले पनि यस्तै प्रवृत्तिले गर्दा ठूल–ठूला युद्ध तथा दंगाहरू भइरहेका छन् । धर्मले जहिले पनि हामीलाई मानवीय प्रवृत्तिलाई अगाँल्न सिखाउँछ । कहिले पनि दानवीय प्रवृत्तितिर जान भन्दैन । तर पनि मानिसहरू दानवीय प्रवृत्ति अपनाई आफूलाई ठूला देखाउने प्रयास गरेका हुन्छन् । यस्ता प्रयास कहिले पनि दिगो हुँदैन ।

यस्ता प्रवृत्तिबाट जहिले पनि समाज कमजोर भएका छन् । देशैको अस्तित्व समाप्त भएको छ । तसर्थ यस्ता प्रवृत्तिलाई धर्मले कहिले पनि अँगाल्न भन्दैन । धर्मको मूल उद्देश्य पनि यही हो । अर्कोतिर मानवीय प्रवृत्तिले सद्विचार, अनुशासन तथा अग्रजहरू प्रति सम्मान गर्न सिखाउँछ भने दानवीय प्रवृत्तिले कहिले पनि यस्ता सद् व्यवहारलाई अपनाउँन भन्दैन । धर्मले हामीलाई पितृ देवो भवः, मातृ देवो भवः, गुरू देवो भवः तथा अतिथि देवो भवः को भावनालाई साकार रूप दिएको हुन्छ । यसलाई परिवार तथा समाजमा प्रयोग गर्न सिकाउँछ । यहाँ विचारणीय पक्ष के छ भने मानव बन्ने वा दानव । यस्ता कुरा देशको शिक्षामा निर्भर हुन्छ । अहिलेको शिक्षामा यस्ता कुराको अभाव देखिन्छ । हामी ठूल–ठूला प्रमाणधारी पाउँछौं तर साँचै यस्ता शिक्षा वोक्ने शिक्षकको अभाव देखिन्छ । हुनतः हाम्रो संस्कृति हाम्रो जीवन भन्छौं तर रटेर पढेका मात्र देख्छौं, प्रयोगमा उतारेको देखिंदैनौं । यस्ता कुराहरू प्रयोगमा आउनु पर्छ । हामी आफ्ना संस्कृति जोगाउन जान्नु पर्दछ । हाम्रो सभ्यता कतैबाट आयात भएको होइन वरू हामीले दुनियालाई मानवीय धर्म के हो ? सिकाएका छौं । हाम्रै यहाँका राजर्षि जनक, अष्टावक्र, गौतम बुद्ध आदि ऋषि–मुनिहरूले यस्ता मानवीय शिक्षामा विश्वलाई प्रतिनिधित्व गरेका धेरै उदाहरण छन् । प्राचीन कालमा मिथिलामा विश्वका राजा महाराजा देखि लिएर सामान्य व्यक्ति यस्ता शिक्षा लिन आउँथे र दीक्षित भएर जान्थे । केही दशक पहिलेसम्म जनकपुरमा वरिपरिका विभिन्न जिल्लाबाट विद्यार्थीहरू विभिन्न विषयका शिक्षा लिन आउँथे र दीक्षित भएर जान्थे । आज यही जनकपुर छ जहाँका विद्यार्थीहरू छिमेकी जिल्लाहरूमा शिक्षा लिन जान्छन् । संस्थाहरू नाफामुखी भएका छन् । ठूल–ठूला सार्वजनिक संस्थाहरू धरासायी भएका छन् ।

यहाँ व्यापार गर्ने शैक्षिक संस्थाका केही मालिकहरूले पैसा त कमाएका छन् तर गुणस्तर कायम राख्न नसकेका कारणले यहाँका विद्यार्थी राष्ट्रसेवक भएर राष्ट्र सेवामा जान सकि रहेका छैनन् । वाध्य भएर खाडी देशमा गएका हुन्छन् । यो त एउटा सानो उदाहरण पो हो । देशको केही भाग हालसम्म यस्ता चपेटामा नपरेपनि निकट भविष्यमा प्रवल सम्भावनालाई कसैले नकार्न सकिदैन । मठ मन्दिरमा बसेर मात्र धर्मको सही प्रयोग भँइदैन । धर्म त कर्म पो सिखाउँछ । कर्मले व्यवहारमा प्रयोग गर्न लगाउँछ । कर्मले नै विश्वमा चिनाएको छ । हिन्दूहरूका पवित्र ग्रन्थ रामायणले पनि कर्मको महत्वलाई शीर्ष रूपमा देखाएको देखिन्छ । रामायण अनुसार : ‘कर्म प्रधान विश्वकैरी राखा, जो जस करही तस फल चाखा’ अर्थात कर्म प्रधान हो भने विश्वले मानेको देखिन्छ । अर्कोतिर जो जस्तो गर्छ त्यसै अनुसारको फल प्राप्ती हुन्छ भन्ने कुरामा जोड दिएको देखिन्छ । यस्तै एउटा अर्को भनाईलाई उघृत गरौं ः ईश्वरले पनि उसैलाई मद्दत गर्दछ जो आफ्नो कर्म आफै गरेको हुन्छ । यसरी कर्म भन्दा ठूलो केही हुँदैन । कर्मलाई राम्ररी बुझेर वच्चाहरू कुबाटोतिर लाग्दा समय मै सचेत गर्नु पर्दछ । हाम्रो धर्मले सही बाटोमा हिड्न सिखाउँछ । खानपानमा नियन्त्रण गर्न सिकाउँछ । नसालु पदार्थ खान वा पिउन सल्लाह दिदैन । हाम्रो देशलाई ऋषि मुनिहरूले आ–आफ्ना विचारबाट प्रभावित गरेका छन् । उनीहरूका अनुसार हाम्रो जीवन सादा तथा विचार उच्च हुनुपर्दछ । धर्म त मान्छेको आँखा पो खोल्ने हो । धर्मले विश्वलाई चिनाउन मद्दत गर्छ । धर्मले त वासुधैव कुटुम्बकमको मार्गमा चल्न सिकाउँछ । यसरी धर्मको वास्तविक अर्थको सही प्रयोगले मानिसलाई कहिले पनि दायाँ–बायाँ हुन दिदैन । निष्कर्षमा के भन्न सकिन्छ भने आ–आफ्ना धर्म सबैले बचाऔं । आ–आफ्ना संस्कृतिलाई सबैले माया गरौं । आ–आफ्ना समाजलाई सही बाटोमा चल्न आ–आफ्ना विचार प्रयोग गरौं । देश निर्माणमा आ–आफ्ना ठाउँबाट सबैले सहयोग गरौं । यही धर्मको मूल अर्थ हो ।

अर्थलाई अनर्थ रूपमा भएको प्रयोगलाई रोकौं । धर्मको कर्मबाट प्रदर्शन गरौं ।

Comment

Related News

Latest News

Trending News