अपडेट 
२०७७ श्रावण ३१, शनिबार ०६:२९

आज ७४ औं भारत स्वतन्त्रता दिवस  । हरेक वर्ष अगस्त १५ तारिखमा भारतमा स्वतन्त्रता दिवस मनाइन्छ । सन् १९४७ अगस्त १५ तारिखमा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो । यसै ऐतिहासिक दिनको सम्झना गरी भारतरभर उत्साहका साथ अगस्त १५ मा भारतीय स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।

स्वतन्त्र भारतका लागि सुवासचन्द्रबोस महात्मा गान्धीलगायतका नेताले अहिंसात्मक प्रदर्शन र नागरिक अवज्ञाको माध्यमबाट स्वतन्त्रता संग्राम गरेपछि भारत स्वतन्त्र भएको हो । भारतलाई स्वतन्त्र बनाउन बनेको विधान इण्डियन इण्डिपेण्डेन्स एक्ट सन १९४७ बेलायती संसद्ले पारित गरेर इण्डियन कस्न्टिच्युशनल एसेम्लीलाई भारतकोे संसदीय सम्प्रभुता प्रदान गरिएको थियो । भारतले संक्रमण काल पार गरेर संविधान जारी नगर्दासम्म बेलायती राजा जर्ज छैठौं नै भारतका राष्ट्रप्रमुख थिए । संविधानसभामार्फत बनेको भारतीय संविधान सन् १९५० मा जारी भएपछि भारतले पूर्ण स्वतन्त्रता प्राप्त गरेको हो । स्वतन्त्रतापछि भारतीय नागरिक राजेन्द्रप्रसाद गणतन्त्र भारतका प्रथम राष्ट्रपति र जवहारलाल नेहरु प्रथम प्रधानमन्त्री भएका थिए । भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतभर झण्डोत्तोलन गरी परेडको आयोजना गर्नुका साथै प्रधानमन्त्रीबाट देशवासीका नाममा सम्बोधन गर्ने चलन छ ।

प्राचीन भारतवर्षमा पर्ने दुई देश नेपाल र भारतबीच युगौंदेखि जनस्तरमा नजिकको नाता छ । नेपालको जनकपुरमा जन्मेकी जनकपुत्री सीताले भारतीय समाजमा नारीधर्म र शालीनताको आदर्श सिकाइन् । नेपालको लुम्बिनीमा जन्मेका भगवान गौतम बुद्धले गयामा साधना गरेर ज्ञान प्राप्त गरेका हुन् । बुद्धको शिक्षा खोज्दै नेपाल आएका मगध सम्राट अशोकले स्थापना गरेको शिलास्तम्भले लुम्बिनी बौद्धजन्मस्थल प्रमाणित गरेको छ । ढुंगाको अक्षरले भनिरहेको छ हिद बुधे जो अर्थात यहाँ बुद्ध जन्मेका हुन् । भारतको पुरीमा नेपाली शालग्राम पूजित छन् । गोरखपुरमा नेपालका गोरक्षनाथको पूजा गर्ने परम्परा छ । गोरखनाथका गुरु मत्स्येन्द्रनाथ कामख्याबाट नेपाल आउँदा गरिएको स्वागत आज मच्छेन्द्रनाथको जात्राका रुपमा प्रचलित छ । यताका जनताको धार्मिक धाम उता छ । उताका नागरिकका तीर्थ तपोभूमि यता छ । सीमापार आवतजावत भइरहन्छ ।

आजन्म स्वतन्त्र राष्ट्र नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति र मित्रतासम्बन्धी सन्धिपछि दुई मुलुकबीच औपचारिक सम्बन्ध स्थापना भएको मानिन्छ । यो सन्धिपछि द्विपक्षीय सहयोग आदानप्रदान हुँदै आएको छ । नेपाल भएर भारततर्फ बग्ने नदी प्रणालीको विकासमा दुई देशबीच महत्वपूर्ण सहयोग गर्ने सन्धि भएको छ । नेपालको सडक,पुल,भवनलगायतका पूर्वाधार विकासमा केही सहयोग गरेको छ । दुई देशका जनशक्ति अर्काको भूमिमा रहेर काम गरेका छन् । नेपाली जनशक्तिले भारतीय भूमिरक्षामा अहम् भूमिका खेलेको छ । यस्तो विशिष्ट सम्बन्ध भएका छिमेकी विश्वमा पाउन दुर्लभै छ ।

नेपाल र भारतीचको सम्बन्धमा कहिलेकाँही तिक्तता नआएको होइन । कहिले प्राकृति सम्पदा सदुपयोगका समस्या, कहिले व्यापारमा देखिएका व्यवधान,कहिले पारवहनका प्रश्न त, कहिले एकतर्फी नाकाबन्दीका दुःख, जे जे आइपरे ती सबै समस्याको शान्तिपूर्ण समाधान गरिएको इतिहास छ ।

वर्तमान अवस्थामा पनि सीमाका सवाल उठेका छन् । भूमि अतिक्रमणका मुद्दा बाँकी नै छन् । तर पनि यी सबै समस्याका समाधान आपसी वार्ताबाटै सम्भव छ भन्नेमा दुवै देश विश्वस्त छन् । छिमेकी देशबीच बेलाबेलामा समस्या आइपर्छन् तर यी सवाललाई गम्भीरतापूर्वक वार्ता र प्रमाणका आधारमा किनारा लाउन सकिन्छ भन्नेमा दुवै देशका विद्वतवर्ग र नेतृत्व आश्वस्त छन् । यही विश्वासबाटै नेपाल र भारतबीचको सम्बन्ध चिरकालसम्म सुमधुर रहिरहनेछ । छिमेकी मित्रराष्ट्र गणतन्त्र भारतको स्वतन्त्रता दिवसका अवसरमा जनता टेलिभिजन परिवार नेपाल भारत सम्बन्ध अनन्तकालसम्म सुमधुर रहोस् भन्दै शुभकामना प्रकट गर्दछ ।

Comment


Related News

Latest News

Trending News