अपडेट 
२०७७ श्रावण ३२, आईतवार १४:२१

नेपाली कांग्रेसका उप–सभापति बिमलेन्द्र निधिलेसभापति शेरबहादुर देउवालाई पार्टीको चौधौ महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने जानकारी दिएकाछन । बिमलेन्द्र निधिको कथनले सभापति देउवालाई हतप्रभ बनाउनु स्वाभाबिक थियो । देउवाको राजनीतिक बिकासक्रममा निधिले धेरै सहयोग गरेका छन । तत्कालीन सभापति सुशील कोइरालाले देउवालाई राजनीतिक हिसाबले अप्ठेरोमा पार्न खोजेको ठाउँमा डटेर देउवाका पक्षमा लडेका छन । उनीसंगनिधिलाई फर्काउने तर्कसंगत जवाफ थिएन । पार्टीभित्र र नेपाली समाजमा पनि नेपाली कांग्रेसमा प्रभावकारी नेतृत्वको खोजी भै रहेकोसन्दर्भमा सभापति देउवा र उनका अनन्य मित्र तथा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलको सान्दर्भिकता समाप्त भै सकेको छ ।


यो अवस्थामा सभापति देउवाले निधिलाई जवाफदिदै आफू अर्को एक ‘टर्म’ सभापति हुन चाहेको बताएका थिए । सभापतिको यो चाहनाको जवाफमा निधिले त्यतिबेलासम्म आपूm सत्तरी बर्षको भै सक्ने खुलासा गर्दै सभापति देउवालाई आफनो निर्णयमा सहमत हुन अनुरोध गरेका थिए । निधिको यो भनाइ जायज मात्रै थिएन, समय सापेक्ष थियो । सत्तरी बर्ष कटी सकेपछि मानिसको न्यायोचित निर्णयगर्ने क्षमता हराउँछ भन्ने उदाहरण सभापति देउवा र बरिष्ठ नेता पौडेल नै हुन । कांग्रेस सन्चालनको प्रक्रियामा बरिष्ठ नेता गल्तीगर्न उक्साउने र सभापति गल्तीगर्ने काम भै रहेकोछ नेपाली कांग्रेसमा । नेता गोबिन्दराज जोशी र पुष्कर ओझा तथा डडेलधुरा जिल्ला कांग्रेस कार्यालयका सचिव रामबहादुर बिष्टलाई पार्टीबाट निष्काशित गरिएको घटना यसैको उदाहरण हो ।
सभापति देउवाले निधिको कुरा शान्त भएर सुनेका थिए । निधिको निर्णयले उनलाई स्तब्ध तुल्याएको थियो । सभापति देउवाले निधिसंग भनेका थिए, “चुनाव लडन कार्यकर्तासंग ब्यापक सम्पर्कगर्नु पर्दछ । तपाई अर्को पटक लडे भै हाल्छ नि । म पछि तपाईं नै हो । मेरो अर्को को छ र ?”


सभापति देउवाको यो भनाइ राजनीतिक रुपले ठीक थिएन । यद्यपि, निधिसंग ‘म पछि तपाईं नै हो, मेरो अर्को को छ र ?’ भनेर देउवाले आफनो नीरिह अवस्थाको चित्रण गरेका थिए ।तर, उनलाई त्यो अधिकार थिएन । निधि उनको उत्तराधिकारी नभएर सहयोगी हुन । निधिले आफनै बूतामा राजनीति गरेका हुन । आफनो राजनीतिलाई अघि बढाउन उनले, प्रकटमा, आफना पिता तथा कांग्रेसका महत्वपूर्ण नेता महेन्द्रनारायण निधिको यश र ख्यातिको सहारा समेत लिएका थिएनन । महेन्द्रनारायण निधि पूर्णत अहिंसात्मक बिचारका अनुयायी तथा प्रवक्ता हुनुहुन्थ्यो भने बिमलेन्द्र परिवर्तनका लागि हिंसात्मक गतिविधिको उपयोगितालाई इन्कार गरेनन । त्यतिबेला कांग्रेस हिंसात्मक आन्दोलनको मोडमा थियो । बिद्यार्थी जीवनमा उनी त्यो आन्दोलनको हिस्सा थिएनन भन्न मिल्दैन ।


नेपाली प्रजातान्त्रिक आन्दोलनका प्रणेता तथा कांग्रेसका संस्थापक सभापति बीपी कोइरालाले निधिमा नेतृत्वको क्षमता देखेर नै २०३६ सालमा उनलाई नेपाल बिद्यार्थी संघको निर्विरोध अध्यक्ष बन्ने वातावरण बनाइदिनु भएको थियो । कांग्रेस राजनीतिमा रुचिराख्ने सबैले यो तथ्यमाथि ध्यान दिनु पर्छ कि निधिले आठबर्षसम्म नेबिसंघको अध्यक्षका रुपमा काम गरेका देउवालाई बिस्थापित गरेका थिए ।


सभापति देउवाको कुराले निधि टसमस भएनन । उनले भने, ‘म तपाईं नेताहरु सबैको सहमतिमा कांग्रेसको सभापति पदमा चुनाव लडन चाहन्छु । यो मेरो निर्णय हो । मलाई साथी भाइ र सहयोगीहरुसंग जोडिन त्यति अप्ठेरो छैन ।’ उनको कुरा सुनेर सभापति देउवाको मनस्थिति खलबलियो होला । उनले त्यो देखाएनन ।


के यसपटक पनि बिमलेन्द्रले नेपाल बिद्यार्थी संघको अध्यक्ष पदबाट जस्तै कांग्रेस सभापति पदबाट पनि देउवालाई बिस्थापित गर्न सक्लान त ? के देउवा र उनका भित्री बाहिरी सबै सहयोगीहरुलाई कांग्रेस सभापति पदमा निधिको उम्मेदवारीस्वीकार्य होला ? यो प्रश्न आफनो ठाउँमा छँदैछ । यसबाहेक, सभापति पदका अन्य प्रत्याशीले निधिको उम्मेदवारीलाई कसरी हेर्लान ? त्यसमा पनि धेरै कुरा निर्भर गर्दछ । कुनैबेला कांग्रेस महान पार्टी थियो । अहिले त्यति महान छैन र त्यति गैवार पनि छैन । कांग्रेस सभापतिको उम्मेदवारका रुपमा निधिको पक्षमा जाने पहिलो र महत्वपूर्ण कुरा उनी मधेशको माटोमा खेलेर हुर्केका ब्यक्तिहुन । कांग्रेस पार्टीको सभापति पदमा निधिको निर्वाचन कांग्रेसको इतिहासमा नै महत्वपूर्ण सावित हुनेछ । कांग्रेसीका लागि सभापति पदमा निधिलाई चुन्नु भनेको मधेशमा कांग्रेसले गुमाएको अवसरको प्राप्ति र पहाडका चुनौतिहरुको समाधानको मौका पनि हो ।


बिमलेन्द्र निधिको उम्मेदवारीको घोषणाले उनको गृह नगर तथा प्रदेश –२ को राजधानी जनकपुरमा निकै ठूलो तरंग आएको हुनु पर्दछ । यद्यपि, कोरोनामहामारी र भारी बर्षातका कारण जनकपुर अस्तब्यस्त होला । निधि जनकपुरमा लोकप्रिय छन भन्नेमा शंका छैन । तर, उनको लोकप्रियता नै कहिलेकहीं प्रतिकूल बनिदिन्छ । बिगत चुनावमा बिमलेन्द्रको बिजयमा शंका थिएन । तर, उनको पराजयका लागि हाल जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो त्यहाँ उत्रिए त्यो सुनियोजित थिएन भन्न गाह«ो पर्दछ । राष्ट्रिय राजनीतिमा निधिको बढदो प्रभावले धेरैको मन कुँढिएको होला । पार्टीभित्रका उनका साथी र शुभचिन्तकहरु पनि ठुस्स परेका होलान । त्यतातिर निधिको ध्यान पुग्नु पर्दछ । कांग्रेस पार्टीले आफनो र अर्काकोमा भेदभाव नगर्ने सभापति खोजेको छ । यसलाई निधिले बुझेको हुनु पर्दछ ।


निश्चय पनि, अहिले २०३६ को समय अहिले छैन । न त बीपी कोइराला जस्ता अव्दितिय नेता नै छन । राजनीतिमा जीवन मूल्य बदलिएको छ । मधेशको स्वरुपमा ठूलो परिवर्तन आएको छ । मधेश र पहाडको बीच रहेको सम्बन्धको पुनर्लेखन र समन्वय गर्नुपर्ने आबश्यकता छ । नेपालमा गणतन्त्रको जग मधेशले खनेको हो । सबै प्रदेशमा गणतन्त्रको जग बलियो बनाउनु अहिलेको मुख्य दायित्व हो राजनीतिक दलको । जातीय असमानताको अन्त्य र समाबेशीसमाजको निर्माण अर्को मुख्य शर्त हो । यसका लागि अरु पार्टीहरुको योगदान उत्तिकै महत्वपूर्ण छ । तर, राष्ट्रिय पार्टीका रुपमा रहेको कांग्रेसको सक्रियताले सुधारको गति तेज बनाउछ । नेपाली कांग्रेसलाई यसको मौलिक आकारमा ल्याउन यसको खिइदै गएको मियोको मर्मत सम्भार गर्नु पर्दछ । तबमात्र या पार्टी सशक्तबन्नेछ ।यो दायित्व अब बन्ने कांग्रेस सभापतिको मुख्य काम हुनुपर्दछ । यो स्थितिमा बिमलेन्द्र निधिले अवसर पाएको खण्डमा पनि बाटो सुगम हुनेछैन । तर, उनमा लडने मात्र होइन, आपूmले बिबेकसम्मत नठहर्याएको बिषयमा असहमति जनाउने क्षमता पनि छ । प्रचण्डको नेतृत्वमा कांग्रेस–माओवादीको सरकार बन्दा नेपाली कांग्रेसका तर्फबाट उप–प्रधान तथा गृहमन्त्री बनेका निधिले आइजीपी नियुक्तिका प्रसंगमा सभापति देउवासंग जनाएको असहमति यसको महत्वपूर्ण उदाहरण हो ।यसबाट पनि थाहहुन्छ निधिका लागि सुगम नभएको त्यो बाटो पनि त्यति कठिन नहोला । किनभने, पार्टीभित्र र राजनीतिको लोकतान्त्रिक मूलधारमा उनको निरन्तरता मात्रै होइन, प्रतिबध्दता पनि उत्तिकै देखिएकोछ ।


बिमलेन्द्रले कांग्रेसभित्र सभापति पदमा को हुने भन्ने निर्णयसहमतिको आधारमा होस भन्ने चाहना राखेका छन । उनको त्यो चाहना सभापति पदको निर्वाचन नहोस भन्ने पक्षमा होइन । उनी स्वस्थ्य प्रतिस्पध्र्दाको आधारमा सभापतिको चयन होस भन्ने चाहन्छन । अहिले देखापरेका सभापति पदका प्रभावशाली उम्मेदवारहरु डा. शशांक कोइराला र डा. शेखर कोइराला तथा प्रकाशमान सिंह र निधिका बीच सहमतिको वातावरण बन्न सक्यो भने त्यो धेरै राम्रो कुरा हो । त्यो काममा अहिलेका बरिष्ठतम भनेर दावीगर्ने नेताहरु लाग्नु कांग्रेस पार्टीको हितमा हुनेछ । पार्टीमा अनाबश्यक किचलो नझिकेर, शक्तिको बढीभन्दा बढी प्रयोगमा नलागेर सभापति देउवाले कांग्रेसका बरिष्ठतम नेताहरुसंगको सरसल्लाहमा भावी नेतृत्व चयनको खाका खिचे भने पार्टीको भविष्य सुदृढ हुनेछ । सुदृढ पार्टी निर्माणका लागि सहमतिको आबश्यकता सबैले देखेका छन ।तर, सहमति र समन्वयको वातावरणको निर्माणमा कोही लाग्न चाहँदैनन ।

Comment


Related News

Latest News

Trending News