अपडेट 
२०७७ श्रावण ३२, आईतवार १४:४५

कोरोना सङ्क्रमणमुक्त भएको रिपोर्ट आएपछि डिस्चार्ज भएको केही घण्टापछि वीरगञ्जमा एक जनाको ज्यान गएकाे छ । वीरगञ्ज हेल्थ केयरमा बनाइएको नारायणी अस्पताल विषेश कोरोना अस्थायी अस्पतालबाट शनिबार राति कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका वीरगञ्ज महानगरपालिका १३ का ५५ वर्षीय पुरुषकाे मृत्यु भएको हो । 

उहाँको नारायणी प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । डिस्चार्ज भएको समयमा नै झाडापखाला लागेको र अक्सिजनको मात्रा पनि कम भएकोले उहाँलाई उपचारको लागि अस्पताल भर्ना गर्न चिकित्सकले सल्लाह दिएका थिए ।  कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि कोभिड अस्पतालमा राख्न नमिल्ने भएकोले उहाँलाई थप उपचारकाे लागि अस्पतालमा लैजान आफन्तलाई चिकित्सकले त्यतिखेरै सुझाव दिएका थिए । त्यसपछि आफन्तले उहाँलाई नारायणी वयोधा अस्पतालको आईसीयूमा भर्ना गरेका थिए । उपचारकै क्रममा शनिबार राति साढे ११ बजे उहाँको ज्यान गएकाे अस्पताल प्रशासनले जनाएकाे छ । 

प्रयोगशालाको परीक्षण रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएको चार घण्टापछि ज्यान गएपछि परीक्षण रिपोर्टमै आशङ्का उत्पन्न भएको छ । मृतकका आफन्तले फेरि स्वाब परीक्षणको माग गरेका छन् । मृतकको शव नारायणी वयोधा अस्पतालमै राखिएको छ ।  मृतकका एक छोरामा पनि कोरोना सङ्क्रमण देखिएपछि अहिले उनी होटल रानीपोखरीमा बनाइएको सामुदायिक आइसाेलेशनमा उपचाररत छन् । मृतकका श्रीमती र अर्को छोराकाे पनि स्वाब परीक्षणका लागि स्वाब लिइएकाे छ । 

गएकाे साउन १७ गते स्वाब दिएका मृतककाे नारायणी अस्तालको प्रयोगशालामा गरिएको परीक्षणमा साउन १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।  

Comment


Related News

Latest News

Trending News