अपडेट 
२०७७ भाद्र १, सोमबार ०७:१९

नेपाल र भारतबीच आज कूटनीतिक तहमा वार्ता हुने भएको छ । दुई देशबीच नक्सासम्बन्धी मतभेद जारी रहेकै बेला लामो समयपछि कूटनीतिक तहमा वार्ता हुन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार दुई पक्षीय वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिब शंकरदास वैरागीले गर्दै हुनुहुन्छ । त्यस्तै भारतीय प्रतिनिधि मण्डलको नेतृत्व काठमाडौंस्थित भारतीय राजदूत विनय मोहन क्वात्राले गर्नुहुने भएको छ । नेपालले गत वैशाखमा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको थियो । त्यसअघि भारतले २०१९ मा एकपक्षीय रुपमा नेपाली भूमि समेटेर नक्सा जारी गरेको थियो । नेपालले पनि त्यसको विरोध जनाउँदै वार्ताको पहल गरेको थियो । तर, भारतले वार्तामा कुनै चासो नदेखाई नेपाली भूमि हुँदै सडक बनाएपछि नेपालले नयाँ नक्सा जारी गरेको थियो ।

नेपालले नक्सा जारी गरेपछि दुईमुलुकबीच सम्बन्ध चिसिएको थियो। आज (सोमबार) हुने वार्ता नेपालमा भारतीय लगानीका आयोजनामा मात्रै केन्द्रित हुने भए पनि नक्सा मतभेदपछि चिसिएको दुई देशबीचको सम्बन्धलाई सुधार र विश्वासको वातावरण बनाउन भने सहयोग पुग्ने विश्लेषकहरुले बताएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार टेलिफोन वार्तासमेत भएको छ।

Comment


Related News