२०७७ भाद्र २, मंगलवार १७:०७
सप्तरीमा तेस्रो पटक निषेधाज्ञाको समय थप गरिएको छ । पछिल्लो पटक आगामी भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको जिल्लाका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, जिल्ला संकट व्यवस्थापन केन्द्रका पदाधिकारीको संयुक्त बैठकले गरेको सिफारिसको आधारमा भदौ १५ गते राति ११ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । जिल्लामा सक्रिय संक्रमितको संख्या २ सयभन्दा बढी रहेको र जिल्लाको विभिन्न स्थानमा संक्रमितको संख्या बढिरहेको हुँदा निषेधाज्ञा थप गरिएको आचार्यले बताए ।
सप्तरीमा यसअघि १९ साउनदेखि २६ साउनसम्म र २६ साउनदेखि २ भदौसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।


