अपडेट 
२०७७ भाद्र ३, बुधबार ०५:५६

हिन्दू धर्मशास्त्रमा तीन ऋण मानेको छ – मातृऋण, पितृऋण र देवऋण । यसले के देखाउँछ भने मानिसले माता, पिता र देवताको सम्मान गर्नैपर्छ । शास्त्रहरुले माता, पिता र देवको परिचय पनि स्पष्टरुपमा दिएका छन् तर आधुनिक जीवनशैलीले सबैको अर्थको विस्तार गरेको छ । विभिन्न सन्दर्भमा पिताको अर्थ पालनकर्ता, संरक्षक तथा जन्म दिने व्यक्ति आदि लगाइएको पाइएको छ । पिताले पितृको अर्थमा हरेक व्यक्तिको आफूभन्दा पहिलेका आफ्नै वंशजहरु हुन् भन्ने अर्थ लगाइएको पनि पाइएको छ । पालनकर्ता तथा संरक्षकको लौकिक र आध्यात्मिक गरी दुई अर्थ लगाइएको पाइन्छ । पालनकर्ताको अर्थ विष्णु हो भन्ने गरिन्छ । संसारकै पिता विष्णु, संसारका सबै जीवको पालनकर्ता तथा संरक्षक विष्णु हो भन्ने मान्यता रहेको पाइन्छ । हामी पिताको सामान्य अर्थ लगाउँछौँ । यसलाई पिताको लौकिक अर्थ भनिन्छ । पिता भनेकै बुबा हुन् ।

बुबाबिना हाम्रो परिवेशमा मानिसको जन्म अहिलेसम्म सम्भव छैन । हाम्रो समाज पितृसत्तात्मक समाज हो । यसले गर्दा पिता वा केटा मान्छेको बर्चस्व रहेको छ । समाजमा पुरुषको महत्व अद्यापि उच्च रहेको छ । यहाँ महिलालाई कमजोर भन्न खोजिएको होइन । पुरुष प्रधान समाज रहेको तथा पितृ सत्तात्मक समाज रहेको अवस्थामा स्वतः सामाजिक लैंगिक विभेद रहेको भने स्पष्ट छ । हामीकहाँ वंश परम्परा पिता वा छोरातिरबाट नै चल्ने मानिन्छ । अहिलेसम्म सामान्य ग्रामीण जनजीवनमा छोरीभन्दा छोरालाई विशेष महत्व दिइन्छ । शास्त्र र हाम्रो सामाजिक व्यवहारले सम्मानको मामिलामा महिला र पुरुष अर्थात माता र पिता दुवैलाई सम्मान गरेको देखिन्छ । हरेक वर्ष पितृ पक्ष र मातृ पक्ष भनेर वर्षको दुई पक्षलाई पिता र माताको सम्मानमा छुट्याइएको पाइन्छ । पितृ पक्षमा पितृहरुको श्रद्धा, सम्झना र सम्मान गरिन्छ । सोह्र श्राद्धको पक्ष भनेर परम्परागत मान्यता रहेको पाइन्छ । मातृ पक्ष भनेको देवीहरुको शक्तिको पूजा र अर्चना गरिने पक्ष हो । सामान्यतया असोजको शुक्ल पक्षलाई मातृ पक्ष भन्ने गरेको पाइन्छ ।

हाम्रो समाजमा माता भनेर देवीहरुलाई पनि भन्ने गरिएको पाइन्छ । यस अर्थमा माताहरुको सम्मान गरिएको हो भन्दा अत्युक्ति नहोला । शास्त्रहरुमा भनिएको पितृऋणको अर्थ केही भिन्न रहेको पाइन्छ । सामान्य लौकिक जीवनमा पिताको सेवा र सम्मान गर्नु, पिताको अपमान नगर्नु, पिताको इच्छाको पनि सम्मान गर्नु आदिलाई पिताको सम्मान मान्न सकिन्छ । आफू जवान र पिता बूढो भएपछि पितालाई अपमान गर्ने वा कतिपयले घरबाट निक्लिनेसम्मको अवस्था आउने गरेको देखिन्छ । खानलाई नै नदिने, लुगाकपडामा ध्यान नदिने, चाडपर्वमा पनि ख्याल नगरिदिने, बिरामी पर्दा औषधि उपचार नगरिदिने र अनेक अपशब्द प्रयोग गर्नेजस्ता अपमानहरु गर्ने मानिसहरु पनि छन् । अझ कतिपयले आफ्ना पितालाई गाली गर्ने र कुट्नेसम्म अपराध पनि गरेको पाइन्छ । यस प्रकारका मानिसलाई समाजले नै पापी वा अपराधी भन्ने गरेको पाइन्छ । पितालाई अपमान गर्नु अपराध हो, पाप हो । कम्तीमा यति बिर्सनु हुँदैन कि पिता नभएको भए उनको अस्तित्व हुने थिएन । कुनै पनि पिताले आफ्ना छोराछोरीले नराम्रो गरुन्, नराम्रो मानिस बनून् र समाजमा कमजोर होऊन् भन्ने चाहना कदापि राखेका हुँदैनन् । साथै जब सन्तानको रुपमा आफ्ना काखमा राखेका हुन्छन्, अनेक सपना पनि त्यही सन्तानमाथि टेकेर देखेका हुन्छन् । धेरै आशा लिएर पालेका हुन्छन्, दुःख गरेर हुर्काएका हुन्छन्, भोलि केही राम्रो गर्लान् भन्ने सोचेका हुन्छन् । यसरी कुनै पनि पिता वा जन्मदाताले आफ् नो जीवनको कठिन घडीमा सहारा हुने आशा राख्नु र आफ्नो सन्तानको असल भविष्यको लागि निरन्तर आफूले सकेको उपाय गर्नु हाम्रो सामाजिक यथार्थ हो ।

समाजलाई राम्ररी अध्ययन गर्ने हो भने पिताक अपमान गर्नेले आफूले पनि अपमान भोगेका दृष्टान्तहरु पाइन्छन् । पितालाई पिता नमान्नेले आफ्नो सन्तानबाट पनि आफूले खोजेको सम्मान नपाएको देखिएको छ । यो शतप्रतिशत नमिल्ला तर अधिकांश मानिसले यही विचार गर्दछन् कि जसले आफ्नो मातापिताको सम्मान गर्दैन, उसले अरुको पनि सम्मान गर्दैन । आफ्नो पिताको इज्जतको ख्याल नराख्नेले अरुको पनि इज्जतको के ख्याल राख्ला ? यसरी सम्मानको अविश्वास निजमाथि रहेको धरातलमा वास्तवमा हरेकले पिताको सम्मान गर्नैपर्ने देखिन्छ । शास्त्रहरुले पनि पिताको ऋण नतिर्ने मानिस आफ्नो जीवनभर सदैव ऋणी बनिरहन्छन् भनिएको छ । पिताको ऋण तिर्नु भनेको पिताको इच्छाको सम्मान गर्नु हो र आवश्यक परेको समयमा पितालाई चाहिएको सहयोग गर्नु हो । चाहिएको सहयोग भन्नु हो अर्थ पिताको शरीर स्वास्थ्यको ख्याल गर्नु हो । उमेर बढ्दै गएपछि पिताको स्याहार गर्नुपर्ने अवस्था बढी आउन सक्छ । यही स्याहारको समयमा नै वास्तवमा सन्तानको वास्तविक पहिचान हुन्छ । परेको समयमा पिताको स्याहार नगर्नेलाई समाजले नराम्रो मानेको त हुन्छ नै पिताको आत्माले पनि सरापेको हुन्छ । पिताको सराप लागेको मानिस आफ्नो जीवनमा के कति सफल होला भन्ने विषयमा समाज कहिल्यै पनि सकारात्मक रहेको पाइन्न । पितृ ऋण तिर्न नसक्ने मानिस ऋण पचाएको अपराधीजस्तो आफ्नो जीवनलाई पाएको हुन्छ । शास्त्रहरुमा के भनिएको पाइन्छ भने पिताको इच्छाको सम्मान र अवस्थाअनुसारको स्याहार पितृऋण तिर्ने उपाय हो । यो एक किसिमको संस्कार हो, संस्कृति हो । यो हस्तान्तरणीयजस्तै हुन्छ ।

कोही पिताका पनि पिता छन् वा थिए, यसै गरी कोही सन्तानका पनि सन्तान छन् वा हुन्छन् । यस अर्थमा पिताले पनि पिताको सम्मान गर्नुपर्छ र सन्तानले पनि सन्तान जन्माउनु पर्दछ । एक ठाउँमा मैले अध्ययन गरेको छु – छोराको रुपमा जन्मनेले आफू पनि पिता बन्नै पर्दछ, लौकिक जीवनमा पिता नबन्नेले चाहिँ पितृऋण तिरेको ठहरिन्न । यसले पिताको सेवा गर्नु पितृऋण तिर्नु अवश्य हो तर आफू पनि पिता बन्नु र उसको स्याहार गरेर, उसलाई हुर्काएर एउटा नागरिक बनाउनु वर्तमान परिवेशमा सन्तानप्रतिको कर्तव्य कहिएला तर यो पनि पितृऋणकै अंश हो । कतिपयले के भन्ने गरेका छन् भने सबैले आफ्ना पिताको इमानदारीपूर्वक स्याहार गर्ने हो भने वृद्धाश्रमहरु बन्द हुनेछन् । यो आंशिक सत्य हो । चाहेर पनि घरमा बस्न नसिकने अवस्था हुन्छ । आजको परिवेशमा मानिस रोजगारीको क्रममा अनेक ठाउँमा जानुपर्ने बाध्यतामा हुन्छन् । जहाँ रोजगारी छ, त्यहाँको वातावरणमा मातापितालाई सँगै राख्न सकिन्छ कि सकिँदैन, यो एउटा पक्ष हो । अर्को महत्वपूर्ण पक्ष यो पनि हो कि कतिपय मातापिता आफ्नो गाउँघरलाई छाडेर छोराछोरीको ठाउँमा जान मन पराउँदैनन् । मातापिताको आफ्नो अनुकूलको परिवेश नै नहुने भएकोले आफ्नो गाउँठाउँबाट अन्यत्र जान नचाहेका हुन्छन् । कतिपय व्यक्ति विशेष यस्ता पनि हुन्छन् जो आफैँ अशक्त हुन्छन् । जन्मजात अशक्त पनि हुन सक्छन् वा जीवन भोगाइको क्रममा कुनै दुर्घटना वा रोगले पनि अशक्त हुन सक्छन् । यस अवस्थामा त मातापिताको स्याहार गर्न सम्भव हुँदैन । यस कारण वृद्धाश्रमको आवश्यकता र औचित्य हुन्छ । कतिपय मानिसका कोही सन्तान हुँदैन । कतिपय चाहिँ विशेष कारणले सन्तानसित बस्न चाहँदैनन् । कतैबाट कुनै किसिमको स्याहार पाउन नसक्नेले वृद्धाश्रम यदि व्यवस्थित छ भने आफ्नो अशक्त जीवनलाई त्यहाँ व्यतीत गर्न सक्छन् । यस अर्थमा ज्येष्ठ नागरिकको शरीर अनुकूल तथा मनोविज्ञान अनुकूलको सुव्यवस्थित ज्येष्ठ नागरिक स्याहार केन्द्र वा वृद्धाश्रम आवश्यक हुन्छ । कसैले पनि आफ्ना मातापितालाई सामान्यतया वृद्धाश्रममा पठाउन नपरोस् । यस किसिमको वातावरण कुनै व्यक्तिले मात्र बनाउन सक्दैन । मुख्यतः समाजले र राज्यले नै बनाउने हो ।

वर्तमान परिवेशमा स्थानीय तहले चाहेर यस किसिमको व्यवस्था गर्न सक्छ कि हरेकले पिताको सम्मान गर्नैपर्ने अवस्था आओस् । स्थानीय सरकारको दृष्टिकोणले यो मानवता हो तर सन्तानहरुले मातापिताको सेवा गर्नुपर्ने वातावरण बनाउनु व्यवहारको निरन्तरता पनि हो । संस्कृतिको परिपालन हो । जसले मातापिताको सेवा गर्दैन, उसलाई के कस्ता अधिकारबाट वञ्चित गर्न सकिन्छ वा मातापिताको सम्मान गर्न के कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने विषयमा बहसको थालनी गर्ने समय आइसकेका छ । अहिलेको व्यवहारले छोरा जन्मिएपछि पिताको सम्पत्तिमा स्वतः अधिकारको वकालत गर्दछ । यो हुनु पनि पर्दछ तर निशर्त होइन । सम्पूर्ण सम्पत्तिमा होइन । सबै किसिमको सम्पत्तिमा होइन । मातापिताको आफ्नो सुरक्षा हुनुपर्ने अवस्था हुनु पनि आवश्यक छ । कुनै पनि मातापिताले आफ्ना सबै सन्तानको सकेसम्म राम्रो भविष्य होओस् भन्ने चाहेका हुन्छन् । यसका लागि सकेसम्म प्रयास गरेका हुन्छन् । आफ्ना कतिपय इच्छा र चाहनालाई सन्तानको उज्ज्वल भविष्यको लागि छोडेका हुन्छन् तर त्यही सन्तान अलिक कमाउने भएपछि मैले आफ्नो प्रतिभाले, आफ्नो क्षमताले, आफ्नो दक्षताले गरेको हुँ भन्न थाल्दछन् । हो, क्षमता, दक्षता र प्रतिभा नभइकन कुनै पनि मानिसले धेरै प्रगति गर्न सक्दैन तर यसमा मातापिताको योगदानलाई बिर्सिनु हुँदैन । ठूलो मान्छे भएँ भन्दैमा मातापितालाई बिर्सिन पाइँदैन । हाम्रो सामाजिक परिवेशले पितालाई कमाउने जिम्मेवारी दिएको छ । एक अर्थमा घरको मुख्य मान्छे मात्र हुने होइनन् पिता, मुख्य जिम्मेवार मान्छे पनि हो । सबै किसिमको संकटबाट परिवारलाई जोगाउनु, परिवारका सबै सदस्यको भरणपोषण गर्नु, उमेरअनुसारको सबैको चाहनाको ख्याल गर्नुजस्ता कर्तव्यलाई प्रायः पिताले इमानदारी र निष्पक्षतापूर्वक परिपालन गरिरहेका छन् ।

यो हाम्रो समाजको एउटा बलियो आधार हो । यस आधारभूमिका आफ्ना सम्पूर्ण जीवन, सम्पूर्ण परिश्रम, सम्पूर्ण मानसिकता तथा सम्पूर्ण सामथ्र्य पिताले लगानी गर्दैगर्दा मनको कुनै कुनामा आफू अशक्त र वृद्ध भइसकेपछि थोरै भए पनि आलम्बनको अपेक्षा पनि राखेका हुन्छन् । सन्तानले पिताको अपेक्षा पूरा गर्नुपर्ने देखिन्छ । पिता शब्द आफैँमा सर्वत्र सम्मानयोग्य हो । विभिन्न दिवस मनाउने क्रममा औपचारिक रुपमा पिताको सम्मान गर्ने दिवसको सुरुआत गरिएको हो । यो आफँैमा राम्रो यसकारण पनि हो कि यस दिनको चर्चामात्रले पनि व्यक्तिमा आफूले आफ् ना पिताको सम्मान गरे नगरेको आत्ममूल्यांकन गर्न सजिलो हुन्छ । यसै गरी आफूले आफ् ना सन्तानबाट कस्तो किसिमको सम्मान पाउन चाहेको हो त्यो पनि स्पष्ट हुन्छ । पिताको सम्मानले सन्तानले आफ्नो सम्मान गर्दछ भन्ने मनोविज्ञानको विकास हुने यस दिनले पिताप्रति श्रद्धाको उत्सव मनाउने गर्दछ । सामाजिक सञ्जालहरुमा यस दिनले उत्सव मनाइरहेको देखिन्छ । सामाजिक सञ्जालमा मनाइने पितृ सम्मान दिवस नै अन्तिम त होइन तर यसले धेरैलाई प्रेरणा दिने र धेरैलाई यस दिनको पनि सम्झना गराउने हुन्छ । आफ्ना पिताप्रति सबैले सम्मान व्यक्त गर्दछन् । पिताप्रति सम्मान व्यक्त गर्न कतिपयले आफ् ना मातापिताको नाउँमा विभिन्न पुरस्कारको स्थापना पनि गरेका हुन्छन् । पुरस्कारको स्थापना गरेर हरेक वर्ष उनको योगदानलाई अरुमाझ फैलाउने र सबैको स्मृतिमा आफ्ना पितालाई पु¥याउने गर्दछन् । जीवनभर पिताको सम्मान गर्ने र शेषपछि पिताको नाम र योगदानलाई उँचो बनाउने किसिमका संघसंस्थाहरु पनि नखोलिएका होइनन् । यस प्रकारका सार्थक कामहरुले निरन्तरता पाउनुपर्छ तर यसभन्दा पनि अति महत्वपूर्ण काम चाहिँ हरेक जीवित पिताले वास्तविक सम्मान पाउनु पर्दछ भन्ने नै हो ।

Comment


Related News