अपडेट 
२०७७ भाद्र ५, शुक्रबार ०६:०५

कोरोना भाइरस (कोभिड–१९)को दूष्प्रभावबाट नेपाल आक्रान्त बन्दै गएको छ । बुधवार साँझसम्म नेपालभरि करिव २७ हजारभन्दा बढी संक्रमितको पहिचान भइसकेको छ भने एक सय २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । यसै स्थितिलाई दृष्टिगत गरेर हुन सक्छ, सरकारले काठमाडौ उपत्यकामा बुधवार राती १२ वजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । यसै गरी देशका विभिन्न नगरमा पनि स्थानीय तह र प्रशासनको सक्रियतामा लकडाउन र निषेधाज्ञा जारी हुँदै आएको छ । प्रदेश २ का नगरहरु पनि अपवाद छैनन् । यस प्रदेशका जनकपुर, वीरगञ्ज र राजविराजलगायतका मुख्य नगरहरु पनि निषेधाज्ञाको चंगुलमा जकडिएका छन् । यस्तै प्रदेशका अन्य स्थान पनि वन्दावन्दीको प्रभावबाट अछुतो रहन सकेका छैनन् ।

यसअघि गत चैत ११ देखि देश्व्यापीरुपमा तीन महिनाभन्दा बढी अवधिका लागि लकडाउन गरिएको थियो । पछिल्लोपटक सरकारले लकडाउनको सट्टा निषेधाज्ञा भन्ने श्व्द प्रयोग गरेको छ । तर लकडाउन र निषेधाज्ञाबीच मूलभूत भिन्नता के हो भन्नेबारे आामजनता स्पष्ट छैनन् । सर्वसाधारण यी शव्दहरुको जालोमा रुमल्लिनुभन्दा उनले समस्याबाट त्राण चाहेका छन् । अहिले लगाइने गरिएको निषेधाज्ञाा नै अन्तिम हुने कुरा तत्कालै भन्न सकिने अवस्था छैन । यो देश र जनताका लागि वाध्यात्मक आवश्यकता हो । सबैले सहयोग गर्नु अपरिहार्य छ । तर एउटा कुरा के सोचनीय छ भने कोरोनाको कहरका कारण समस्याग्रस्त बनेका जनता यो निषेधाज्ञा र वन्दावन्दीका कारण थप मारमा पर्नु हुँदैन । सम्बन्धित पक्ष यसबारे सचेत हुनु जरुरी छ । नेपालका सन्दर्भमा भने यहाँको सरकारहरुले कोरोनाका सामु घुँडा टेकेर हाथ उठाएजस्तो अवस्थामा छ । निश्चितरुपमा प्रदेश दुईको सरकार पनि अपवाद छैन । कोरोना व्यवस्थापनमा प्रारम्भदेखि नै यस प्रदेशमा पनि समस्या अनुभूत हुँदै आएको हो । यस प्रदेशका सबै जिल्ला नै भारतसँग सीमा जोडिएका छन् । यसको सोझो प्रभाव यहाँको स्थानीय जनसमुदाय र समाजमा पर्दे आएको छ ।

नेपाल र भारतबीच विद्यमान खुला सीमानका कारण दुवैतिरका जनता दुवैतिर आवतजावत गर्ने हुँदा देशको अन्य क्षेत्रको तुलनामा यस प्रदेशमा कोरोनाको प्रशार तीव्र भएको कुरामा विमति हुन सक्दैन । वास्तवमा प्रदेशको यो भौगोलिक अवस्था नयाँ होइन । सबै जनता र नीतिनिर्माताहरु यस तथ्यसँग जानकार छन् । यस आधारमा यस प्रदेशमा कोरोनाको प्रशार तीव्र हुन सक्ने अनुमान पहिले नै गर्न सक्नुपथर््यो र व्यवस्थापनको आवश्यक रणनीति बनाउन सक्नुपथर््यो । तर यसो गर्न नसक्दा आज प्रदेश दुईमा कोरोनाको संक्रमणबाट सबैभन्दा बढी व्यक्ति प्रभावित हुन पुगेका छन् । यसको सोझो प्रभाव देशको संघीय राजधानीमाथि पनि परेको छ । सरकारहरु जिम्मेबार हुन नसक्दा कोरोनाका वाहकहरुको निर्वाध आवतजावतले प्रदेश दुईलगायत देशका अन्य ठाउँ प्रभावित हुन पुगेको कुरा कसैबाट अब लुकेको छैन । संघीय राजधानी र प्रदेश दुईका विभिन्न ठाउँमा समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिई सके पनि व्यवस्थापनको उपयुक्त विकल्प सरकारहरुसँग छैन । प्रदेश दुईलगायत देशको संघीय राजधानी अहिले कोरोनाको हटस्पट बनेको अवस्था छ । दिनहुँ सयौंभन्दा बढी संक्रमितहरु पहिचान भइरहेका छन् । यति हुँदाहुँदै पनि सरकारले कोरोना ‘डेडिकेटेड’ अस्पतालहरुको व्यवस्था गर्न सकेको छैन । कोरोना ‘डेडिकेटेड’ अस्पतालको अभावमा कुनै पनि अस्पताल अन्य रोगका विरामी र चिकित्सकका लागि सुरक्षित रहन सक्ने सम्भावना न्यून हुँदै गएको छ ।

यस अवस्थामा भविष्यमा सिर्जित हुन सक्ने भयावह अवस्थाको सहजै आँकलन गर्न सकिन्छ । हो, आइसोलोसन र क्वारेन्टाइनको अलग व्यवस्थाको प्रयास गर्दा पनि कोरोना उपचारको अलगै अस्पतालको व्यवस्था हुन नसक्दा अवस्था भयावहोन्मुख छ भनेर भनियो त्यो असंगत हुने छैन । कोरोना ‘डेडिकेटेड’ अस्पतालको अभावमा अस्पताल आउने सबैजसो सेवाग्रही कोरोनाको त्रासले आक्रान्त बनेका छन् । कोरोना समुदायमा फैलिइसकेको मूल्यांकन गरिरहिएको वेलामा कुनै पनि प्रकारको असावधानीको उपस्थितिमा सबैजसो व्यक्ति यसबाट संक्रमित हुने जोखिम बढेर गएको छ । उपचारको पूर्णतः अभाव रहेको यस्तो अवस्थामा आवधिक लकडाउन, वन्दावन्दी वा निषेधाज्ञा जे नाम दिइए पनि यस्ता विधिबाट कोरोनाको कहरबाट मुक्त हुने सम्भावना देखिँदैन । यो लेखको उद्देश्य कोरोनाका सम्बन्धमा थप त्रास उत्पन गर्नु निश्चय पनि होइन । यसको अर्थात कोरोनाको भयावहताको संकेत गरी सचेतना अभिवृद्धि गर्नु यस लेखको उद्देश्य हो । वास्तवमा अहिले पनि धेरै विग्रिसकेको छैन । अवस्था नियन्त्रणभन्दा बाहिर गइसकेको छैन । तर अझै पनि सरकारलगायतका सम्बन्धित निकाय सचेत भएनन् भने अवस्था नियन्त्रणबाहिर जाने कुरालाई अस्वीकार गर्न सकिँदैन । भारतमा विहीवार विहानसम्म एकै दिनमा ६९ हजारभन्दा बढी व्यक्ति कोरोनाबाट संक्रमित हुन पुगेको र हालसम्म ५४ हजारभन्दा बढीको मृत्यु हुन पुगेको कुरा त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । यो तथ्यांक निश्चय पनि उदेकलाग्दो छ । निश्चय पनि यो तथ्यांकले कोरोनाको संक्रमण कुन दू्रत गतिमा बढिरहेको छ र कसरी भयावह बनिरहेको छ भन्ने कुरातर्फ स्पष्ट संकेत गर्दछ ।

पछिल्ला दिनमा निश्चय नेपाल पनि कोरोनाको यस भयावह प्रवृत्तिबाट मुक्त रहन सक्ने सम्भावना देखिएको छैन । पछिल्लो दश दिनमा करिव सात हजारको हाराहारीमा नेपालमा पनि संक्रमित देखिनुले यहाँको अवस्था प्रीयकर छैन भन्ने स्पष्ट हुन्छ । एकातिर कोरोनाको कहर, अर्कोतिर वेरोजगारी र भोखमरीको समस्या तथा सामाजिक विश्रंखलता अहिलेको भयावह परिणाम हो । यसबाट सम्पूर्ण समाज कूप्रभावित बन्ने सम्भावनाको विकास हुन पुग्नु दुखद छ । सम्भवतः मानव सभ्यताकै सर्वाधिक चुनौतीपूर्ण अवस्थाबाट गुज्रिन बाध्य मानीसले अब के गर्ने ? भयंकर प्रश्न ठडिएको अवस्था छ । यस्तोमा सरकारहरु संवेदनशील हुनुपर्ने र आम मानीसका समस्या सम्बोधनको दिशामा जुट्नुपर्ने हो । लोककल्याणकारी राज्यबाट गरिने अपेक्षा यही नै हो । तर नेपालका सरकारहरु यसप्रति संवेदनशील देखिएनन, यो दुखद छ । माथि पनि उल्लेख गरिसकियो प्रदेश दुईको सरकार पनि अपवाद छैन । यसले जनतालाई कोरोनाका सन्दर्भमा आशा र भरोसाको प्रत्याभूति गर्न सकेन । कोरोनाको उपचारका सन्दर्भमा कुनै औषधीय चमत्कारको सम्भावना नदेखिएको वर्तमान अवस्थामा जनतामा सकारात्मक आशाको सञ्चारले पनि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । अहिले आमव्यक्तिलाई मनोवैज्ञानिकरुपमा सवल बनाउनु आवश्यक छ । यस दिशामा सरकारको क्रियाशीलता अपेक्षित छ ।

एक अनौपचारिक तथ्यांकअनुसार देशभरि क्रियाशील स्वास्थ्यकर्मीहरुको संख्यामा प्रदेश दुईको योगदान उल्लेख्य छ । यसै गरी अवकासप्राप्त स्वास्थ्यकर्मीको संख्या पनि यस प्रदेशमा उल्लेख्य छ । अहिलेको कठीन अवस्थामा त्यस्तो योग्य जनशक्तिको पहिचान गरी सबैलाई परिचालित गर्न सके यसबाट जनतामा आशाको सञ्चार हुन सक्ने अपेक्षा गर्न सकिन्छ । प्रदेश सरकारलाई आर्थिक समस्या नै हो भने पनि सरकारले अर्थ संकलनका लागि जनआह्वान गर्न सक्छ । प्रदेशमा आर्थिकरुपले सम्पन्नहरुको कमी छैन । यस्तै विदेशमा रहेका प्रदेश दुईका नागरिकलाई पनि आर्थिक र प्राविधिक सहयोगका लागि आह्वान गर्न सकिन्छ । तर यी सबै कार्यभन्दा पहिले प्रदेश सरकारले भ्रष्टाचार र अनियमितताको अन्त्य र सुशासन स्थापनाको प्रत्याभूति गर्नु आवश्यक छ । साँच्चै सुशासनको प्रत्याभूति गर्न सक्ने हो भने प्रदेश दुईमा सहयोग गर्नेहरुको कमी हुने छैन र कोरोनासँग लडन सहज वातावरणको निर्माण हुन सक्ने तथ्यलाई अस्वीकार गर्न सकिँदैन ।

Comment


Related News