अपडेट 
२०७७ भाद्र ७, आईतवार ०५:५९

कोरोना महामारी फैलिनुमा प्रधानमन्त्री खडगप्रसाद शर्मा ओली नेतृत्वको सरकार जिम्मेवार छ भन्न कोरोनासंग सम्बन्धित तथ्यांकसंग खेली रहनुपर्दैन । यो सत्य हो कि नेपाल जस्तो निर्धन देशका जनताले आफनो ‘माइवाप’ सरकारलाई नै मानेका हुन्छन । तर, जनताको हितगर्ने कुरा बताएर निर्वाचित भएको कुनैपनि देशको सरकार जब भोगबिलास र भ्रष्टाचारमा लिप्त हुन्छ, परिणाम यस्तै आउँछ । नेपालमा २०४६ र २०६३ को परिवर्तनपछि बनेका कुनैपनि सरकार जनताको हितमा नचुकेका होइनन । तर, खड्ग ओली नेतृत्वको वर्तमान सरकारले जानी जानी देशको भबिष्य अन्धकारमय बनाएकोछ । यो सरकार दुइ वा तीन, जतिसुकै तिहाइको समर्थनमा बनेको भएपनि यसको औकात शिखरबाट झरेर मटियामेट भै सकेको छ । प्रधानमन्त्री ओली, उनका उप–प्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तीनैजना कोरोना भ्रष्टाचारका ‘तिकडी’ हुन भन्ने तथ्य देशका बच्चा बच्चाले थाह पाइ सकेका छन । यो तथ्य कुनै बार्षिक प्रतिवेदनमा लेखिने छैन । तर, यो तथ्य जनताको मन र मस्तिष्कको अभिलेखमा रही रहनेछ । यी तीनैजना देश र जनताप्रति अत्यन्त गैर जिम्मेवार रहेको तथ्य समय–सन्दर्भमा उदाहरणका रुपमा प्रस्तुत भै रहनेछ ।


हिजो शनिवार संघीय राजधानी काठमाडौंबाट प्रकाशित मुख्य समाचारपत्रका शिर्षकहरुको कोलाज यस्तो थियो ः कोभिड शिर्षकमा १२ अर्ब खर्च, सरकारले एउटा पनि भेन्टिलेटर किनेको छैन, (कोभिड नियन्त्रणका लागि) संघीय सरकारबाट ५ अर्ब ८४ करोड ७९ लाख खर्च–प्रदेश र स्थानीय सरकारबाट ६ अर्ब २ करोड खर्च ः युवराज खतिवडा, सङक्रमण दर बढदो, अस्पताल भौतारिंदै ज्यान गुमाउँदै, एकैदिन ११ संक्रमितको मृत्यु, लक्षण भएका २५ प्रतिशत संक्रमितलाई अक्सिजन जरुरी…..

शिर्षकको यो कोलाजको छेउमा :
तत्काल १० हजार थान आइसीयू र भेन्टिलेटरको ब्यबस्थागर्नु – संसदीय समिति ।
जुनसुकै अस्पताल कोभिड डेडिकेटेड तोकिने – संघीय सरकार ।
आजको नेपालको अन्धकारमय तस्वीर हो यो । कोरोना महामारी एकैदिनमा यति धेरै समाचारको स्रोत बन्यो । त्यसमा पनि, यहाँ जतिपनि शिर्षक समेटिएका छन ती दुइनम्बर प्रदेशका जनकपुर र बीरगंज तथा बागमती प्रदेशको काठमाडौं उपत्यकाबाट आएका हुन । बाँकी देशको खबर पनि उत्तिकै अन्धकारमय छ ।

भदौ १ गतेको सरकारी सूचना अनुसार साउन मसान्तसम्म जम्मा ५ लाख ९ हजार ४२७ नेपाली जनताको कोरोना परीक्षण भएको छ । देशमा लगभग तीन करोड जनसंख्या छ । त्यो हिसावले कोरोना परीक्षण भएका जनताको जुन संख्या छ त्यसले हाम्रो अन्धकारमय भबिष्यको संकेत गर्दछ । सरकारले समयमा नै पर्याप्त कोरोना परीक्षण मसीन झिकाएको भए अहिलेसम्म रोगको गति नियन्त्रणमा आइसक्ने थियो । तर, सरकार प्रमुखको तिकडी कहिले ओम्नीलाई सामान ल्याउने ठेक्का दिएर तथा कहिले आर्मीलाई बिचौलिया बनाएर देशको ढुकुटी लुट्न लागे । अहिले स्थिति भडकिइ सक्दा पनि चेत आएको देखिदैन । प्रधानमन्त्री आफैले दश अरब खर्चमा भएको भ्रष्टाचारको प्रतिरक्षागर्दै क्वारेन्टाइन बनाउँदा पैसा खर्च भएको ओठे जवाफ दिए । त्यो क्वारेन्टाइन कहाँ बन्यो ? क्वारेन्टाइन बनेको भए अहिले देश यो अवस्थामा हुन्थ्यो ? स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले गरेको राम्रो काम नदेख्ने जनताको आँखामा मोतियाबिन्दू लागेको भन्ने धृष्टतासम्म गर्न भ्याए । जो चोर उसैको ठूलो स्वर भन्ने उखान उनैको नाममा चरितार्थ भयो ।


कोरोना रोगको परीक्षण देशका अधिकांश भागमा भएको छैन । सरकारले कोरोना परीक्षणका लागि पुग्दोसंयन्त्र अर्थात मसीन जुटाउन सकेकोछैन । नेपालमा वुहान (चीन) बाट आएका नेपालीले कोरोनाको प्रवेश गराएको तथ्य माघ ९ गते सार्वजनिक भएको थियो । यो तथ्य सार्वजनिक भएको दिनदेखि झण्डै दुइ महिना सरकार कानमा तातो तेल हालेर सुत्यो । बल्ल चैत ९ गते सरकार गहिरो निद्राबाट ब्यूँझियो र आफनो अत्यन्त महत्वाकांक्षी कार्यक्रम नेपाल भ्रमण बर्ष रद्द गर्यो । त्यही दिनदेखि अन्तर्राष्ट्रिय उडानहरुको आवागमन रोकियो । चैत ११ गते लकडाउनको कार्यक्रम आयो र साउन ६ गते त्यसको अन्त्य भयो । यसबीच, चैत २२ गते सुदूर पश्चिम प्रदेशको कैलालीमा स्थानीय तहमा संक्रमित बिरामी भेटिए । जेठ १ गते कोरोना लागेका एकजना बिरामीको मृत्यु भयो । यो नै पहिलो मृत्यु थियो अव त मृत्युको बाढी नै आउने देखिएको छ । सरकार त लालचमा लिप्त भयो भयो । देशका अरु पार्टीहरु कहाँ गएँ ? किन नेपाली जनता ऐतिहासिक नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेताशेरबहादुर देउवा गमक्क परेर सोफामा बसेको सामन्त आकृतिको ओलीका अघिल्तिर ऋणमांग्न आएको नीरिह आसामी जस्ता देखिन्छन ? किन गणतन्त्रको त्यति लामो युध्दको नेतृत्वगर्ने प्रचण्ड चुमुक्क परेका देखिन्छन ? पक्कैपनि, यो मेरो नजरको दोष होइन, सबैले तस्वीर र टेलिभिजनमा यी दृश्यदेखेका छन ।


पछिल्लो समयमा, खासगरेर,नेपाली कांग्रेस आफनो कर्तब्यपथबाट बिचलित भएकोछ । प्रधानमन्त्री ओलीले सबै पार्टी र सांसदलाईछलेर संसदको अधिवेशनएक्कासी अन्त्य गरेपछि कांग्रेसले मुखमा मास्क र हातमा पन्जा लगाएर जनता जगाउन सडकमा उत्रिनु पर्दथ्यो । उसले संसदमा रहेका सहयोगी पार्टीहरुसंग संवाद स्थापित गरेर सरकारले कोरोना महामारी नियन्त्रणका लागि लिएको गलत नीतिका बिरुध्द संसदीय आन्दोलनको नेतृत्व गर्नुपथ्र्यो । दुर्भाग्य के भने, अघिपछि सभापति देउवाका बिरुध्द नारावाजी गरेर नथाक्ने रामचन्द्र पौडेल लगायतका कांग्रेसकानेताहरु यहीनिर चुके । कांग्रेसप्रति, ब्यर्थमा, जनताको मनमा संशय जन्मियो ।
यही घानमा पर्यो जनता समाजवादी पार्टी । जसपाका अधिकांश नेता पदलोलुपदेखिएका छन । मधेश आन्दोलनको अन्त्य हुन नपाउँदै प्रधानमन्त्री ओलीको चाकरीगर्न बालुवाटार पुगेका नेता राजेन्द्र महतोलाई एक दृष्टान्तका रुपमा लिन सकिएला । अहिलेको अवस्थामा उपेन्द्र यादवमा पनि कुनै आकर्षण बाँकी रहेको छैन । मधेशका कद्दावर भनिने नेताहरु आफनो ‘अग्लाइ’ जोगाउन यति तल्लीन देखिन्छन कि त्यस बाहेकका बिषयप्रति उनीहरु निरपेक्ष देखिएकाछन । निश्चयपनि, देशका लागि यो राम्रो कुरा होइन । महामारीको आयाम नै नबुझेको अभिनयगर्दै अनाबश्यक बिषयमा जनताको राजनीतिक दलका नेताहरु अझै आफूलाई जनताप्रति निष्ठावान ठान्दछन भने, उनीहरुले लोकतन्त्रका लागि जनताले बहाएका रगत र पसीनाको मूल्य र महत्व बुझेका छन भने, अधिनायकवादीको नेल र हतकडीमा बाँधिएका जनताको बन्धन खोल्ने क्रममा शहादत प्राप्तगर्ने अमर सेनानीको आत्माको आवाज सुनेका छन भने उनीहरुले यो देशको एकमुठ्ठी माटो हातमा लिउन र सोचुन । के उनीहरुले यो बिपदको अवस्थामा आफना मतदाताका कष्टहरुका बारेमा सोचेका छन ? भारतका समाजवादी चिन्तक डा. राममनोहर लोहिया भन्नुहुन्थ्यो – ज्यूँदो देशले पाँचबर्ष पर्खिदैन । कोरोना महामारीलाई आफनो स्वार्थ पूर्तिगर्नका लागि जानाजान अब्यबस्थित तुल्याउने यो सरकारले शासनगर्ने अधिकार गुमाइ सकेको छ । नेपाल कम्युनिष्ट पार्टीभित्रका इमान्दार जन–प्रतिनिधिहरुलाई समेत समेटेर सबै राजनीतिक दलका नेताहरुले यो सरकारका बिरुध्द कदम चाल्नु आबश्यक भै सकेको छ ।

सबभन्दा पहिले दलहरुले संसदको बिशेष अधिवेशनको मांग गर्नुपर्दछ । त्यसका लागि सरकारलाई बाध्य तुल्याउनु पर्दछ । दलका नेताहरुले देशभरी कोरोना महामारीमा मरेका जनताको लाशहरुको तमाशा हेरेर बस्ने कि ? नालायक सरकारको बिकल्प खोज्ने ? चुनावमा जनताले नेपाल कम्युनिष्ट पार्टीको नाममा बहुमत दिएका हुन । खड्गप्रसाद शर्मा ओलीको अलोकतान्त्रिक, अधिनायकवादी र भ्रष्ट नेतृत्व स्वीकार गरेका होइनन ।

Comment


Related News