अपडेट 
२०७७ भाद्र ९, मंगलवार ०६:३०

विदेशमा समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि मंगलबारदेखि फेरि चार्टर्ड उडान सुरु हुने भएको छ । यसअघि क्वरेण्टीनको व्यवस्था हुन नसकेको भन्दै रोकिएको चार्टर्ड उडान फेरि सञ्चालन गर्ने निर्णय भएसँगै मंगलबारदेखि उडान हुने भएको हो । यसअघि होटेल क्वरेण्टीनको व्यवस्थापन हुन नसकेको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनमा गएकाे सोमबारदेखि विदेशबाट नेपालीलाई ल्याउन रोक लगाइएको थियो । तर अहिले सरकारले विदेशबाट फर्कनेको साथमा कोरोनाको पीसीआर जाँचको नेगेटिभ रिपोर्ट भएमा होटल क्वरेण्टीनमा बस्न नपर्ने निर्णयसमेत गरिसकेको छ ।

मंगलबारबाट लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तालिका तय गरेको छ । यसअनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाले यूएईबाट नेपाली ल्याउने छ । 

बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट नेपाली ल्याउन चार्टर्ड उडान भर्नेछ । नेपाली कम्पनीको उडान तालिका भने बिहीबार मात्र छ । बिहीबार  नेपाल एअरलाइन्सले रियाद र हिमालय एअरलाइन्सले दमामबाट नेपाली ल्याउनका लागि उडान भर्नेछन् ।

त्यसै दिन यूरोप र अमेरिकाबाट पनि यात्रु लिएर टर्किस एअर आउने छ । फर्कने सबैको पीसीआर रिपोर्ट हुनुपर्छ । पीसीआर नभएका यात्रु ल्याएमा उनीहरुलाई क्वरेण्टीनमा राखेको खर्च एअरलाइन्सले नै बेहोर्नुपर्छ ।

टर्किस र कतार एअरले एक उडानमा मात्र १ सय जनासम्म बोक्न पाउने गरी अनुमति दिएको पर्यटन मन्त्रालयले जनाएको छ । सरकारले दैनिक पाँच सय जनाको मात्र उद्धार गर्ने जनाएको छ । सङ्क्रमण जोखिम कम भएका र पीसीआर परीक्षण सहज भएका देशबाट भदौं १६ गतेदेखि नियमति उडान हुनेछ । 

Comment


Related News

Latest News

Trending News