हाम्रो सामाजिक अवस्थामा बोलीको महत्व विगतमा निकै रहेको पाइन्छ । मान्छेको बोलीप्रति सर्वसाधारणको विश्वस रहेको पाइन्छ । भनेको पूरा गर्नुपर्दछ भन्ने भावना अझै पनि सर्वसाधारणमा रहेको छ । कुनै कामको विषयमा बोलीको अर्थ वर्तमान प्रचलनको प्रतिबद्धता रहेको सर्वसाधारणको बुझाइ रहेको छ । बोलीको प्रसंगलाई इतिहाससित सम्बन्धित गराएर हेर्ने हो भने कुनै जमाना यस्तो रहेको थियो कि बोली नै कानुन हुन्थ्यो । बोलीकै आधारमा जीवन मरणको सवाललाई पनि छिनोफानो गरिन्थ्यो । कुनै लिखित कानुन नरहेको समयमा बोलीले नै देशको शासन व्यवस्थालाई चलाएको थियो । सबै आदेशहरु मौखिक हुन्थे र सबै आदेशप्रति सम्बन्धित मानिसहरु बफादार रहने गर्दथे । जसले बोली वा आदेश दिएका छन्, उनले पनि आफूले के आदेश दिएको हो र यसको तात्पर्य के हो भन्ने कुरो स्पष्टसित बुझेका हुन्थे । हाम्रा पुराणहरुले त झन् बोलीको पक्षमा व्यापक प्रतिबद्धता जनाएको पाइन्छ । यदि पुराणहरुको अध्ययन गर्ने हो भने हरेक महत्वपूर्ण पात्रले आफ्नो बोलीको मूल्य स्थापित गरेको देखिन्छ ।
अझ हिन्दु समाजमा वर्तमान केही महिनादेखि ज्यादै चर्चामा रहेको रामायणको मुख्य पात्र राम र उनको वंशजको सम्बन्धमा स्पष्ट के भनिएको छ भने यस वंशका जो कोहीको लागि पनि आफ्नो वचनको पालन गर्नु राज्य तथा ज्यानभन्दा पनि महत्वपूर्ण रहेको थियो । यस वंशका राजा तथा पात्रहरुले आफ्नो बोलीको लागि जतिसुकै त्याग गरेको उल्लेख पाइन्छ । बोलीभन्दा महत्वपूर्ण र बोलीको परिपालन हुन्छ भन्ने कुरालाई विभिन्न प्रमुख देवदेवीहरुले पनि स्पष्ट पारेका छन् । पुराणहरुमा यस्ता अनगिन्ती उदाहरण पाइन्छन् । वर्तमान सन्दर्भका बोलीप्रति पूरै विश्वास हटिसकेको छैन । बोलीको महत्व आज पनि उत्तिकै रहेको छ । कसले कहाँ के बोल्यो र त्यसपछि त्यसै भनाइलाई विपरीत हुने गरी बोल्यो कि त्यसैलाई अझ स्पष्ट हुने गरी बोल्यो भन्ने कुराको ख्याल अहिले पनि गरिन्छ । यदि सञ्चार माध्यमलाई राम्ररी हेर्ने हो भने कुन ठूला नेताले के बोले भन्ने कुरालाई नै प्राथमिकतामा राखिएको पाइन्छ । वास्तवमा सञ्चार माध्यमले व्यवहारलाई कम र बोलीलाई बढी महत्व दिएको हो कि भन्ने भाव पनि विश्लेषणीय रहेको छ ।
कुनै सञ्चार माध्यमले मैले बोलीलाई महत्व दिएको छु कि व्यवहारलाई भनेर प्रायः विश्लेषण गरेको पाइँदैन । सञ्चार माध्यमका उपभोक्ताले बोलीको कुरा बढी पत्याउँछन् कि व्यवहारका ? यसलाई पनि राम्ररी हेर्ने हो भने व्यवहारभन्दा बढी बोलीका कुरा सर्वसाधारणले पत्याएको देखिन्छ । र, त ताता बहसप्रति धेरैको आकर्षण हुन्छ र व्यवहारमा उतारिएका कुरालाई हेर्न, सुन्न वा पढ्न चाहनेको संख्या कम भएको देखिन्छ । सञ्चार माध्यमले पनि सर्वसाधारणको रुचिअनुसारको सामग्री प्रस्तुत गर्ने त हो । सर्वसाधारणको रुचिलाई कसरी परिवर्तन गर्ने भन्ने कुरो प्राथमिकताको विषय रहँदैन । बरु कति धेरैजनाको बोली राख्न सकिन्छ भन्ने पक्षतिर बढी ध्यान दिइएको पाइन्छ । बोल्नेका आफ्ना पक्षका मानिस र उसका विपक्षका मानिसले पनि बोलीलाई नै बढी महत्व दिएर लिएका हुन्छन् र त्यसको प्रत्युत्तर फेरि बोलीमै त्यही माध्यमबाट दिन चाहेका हुन्छन् । यसले बोलीको तात्क्षणिक महत्वलाई बुझाउँछ । बोलीप्रति अझै पनि पर्याप्त भरोसा छ, विश्वास छ र आस्था पनि छ ।
अझ पनि गाउँ समाजमा धार्मिक काजको सम्बन्धमा यो मान्यता रहेको छ कि पण्डिजीले जे भन्दछन्, त्यही नै ठीक छ । पण्डिजीको बोली नै शुभ हुन्छ, पण्डिजीको बोली नै शुद्ध हुन्छ । यसको अर्थ यो हो कि पण्डिजीले जे बोले पनि ठीक हुन्छ । यदि गल्ती बोलेका छन् र मैले गल्ती सुनेको छु भने जे ठीक हुनुपर्ने हो त्यही ठीक हुन पुग्दछ । यसरी आशा र आस्थाको नजिक र सत्यभन्दा टाढा नहुने बोलीको उच्च सम्मान रहेको छ । पण्डिजीको बोलीकै आधारमा विभिन्न चाडपर्वको उठान गर्ने, व्रत बस्ने, व्रतको नियम परिपालन गर्ने, कुनै पूजा लगाउने, पूजाको नीति नियम पालन गर्ने तथा आफूले प्रतिफल पाउने वा पाएको भन्ने विश्वास गर्नेसम्मको सम्मान रहेको छ । अझै पनि बोलीको सम्मान समाजमा रहेको छ । कुनै प्रतिष्ठित व्यक्तिले भनेकै कुरालाई कतिपय कामको आधार मान्ने चलन रहेकै छ । सम्भवतः सहरी समाजमा बोलीको मूल्य सञ्चार माध्यममा बढी हुन्छ र ग्रामीण समाजमा सर्वसाधारणका लागि बोलीको व्यावहारिक महत्व बढी हुन्छ ।
वास्तवमा दुवैतिर बोली बिकेको छ तर बोलीप्रतिको विश्वास कहाँ बढी हुन्छ ? यो एउटा अनुसन्धानको विषय हुन सक्छ । बोलीको मूल्य चुनावको समयमा सबैभन्दा बढी खस्केको हुन्छ भन्ने बुझाइ बलियो हुँदै गएको छ । चुनावको समयमा विभिन्न राजनीतिक दलका प्रतिनिधि भएर उम्मेदवार बनेका व्यक्तिहरुले सर्वसाधारणका समस्यालाई सुन्दै विभिन्न किसिमका प्रतिबद्धताहरु व्यक्त गरेका हुन्छन् । चुनाव सकिएपछि त्यस्ता प्रतिबद्धताहरुप्रति निर्वाचित जनप्रतिनिधिले खासै सकारात्मक व्यावहारिक प्रतिक्रिया दिन नसकेको वा वाचाहरु पूरा गर्न नसकेको आरोप लाग्ने गरेको छ । यो पूर्णतया सत्य नहोला तर समाजको बुझाइ त्यस अनुरुपको बन्दै गएको छ कि चुनावको बेला गरिने प्रतिबद्धताहरु पूरा गर्नतिर निर्वाचित जनप्रतिनिधिहरुले ध्यान दिँदैनन् । कतिपयमाथि यस किसिमको आरोप पनि हुन्छ कि चुनावको समयमा मात्र जनताको पीरमर्का बुझ्न आउँछन् र फेरि बाँकी समय जनतामाझ जाँदैनन् । यहाँ मुख्य गरी बोलीको प्रसंग रहेको छ ।
पछिल्लो केही दशकदेखि चुनावको प्रचारमा लिखित सामग्रीको प्रयोग बढेको छ । लिखित सामग्रीमा मुख्य गरी घोषणापत्र, प्रतिबद्धतापत्र वा स्थानीयस्तरमा बनाइएको पोस्टर, पम्पलेट तथा यस्ता अन्य सामग्रीहरु हुन्छन् । ती सबैमा के लेखिएका थिए भन्ने कुरा निर्वाचित भएपछि बिर्सन्छन् भन्ने आरोप हाम्रो समाजमा रहेको छ । कहिलेकाहीँ त केन्द्रीयस्तरका सञ्चार माध्यमहरुले समेत सम्बन्धित नेतृत्वसँग त्यस प्रकारका सबालहरु सोध्ने गर्दछन् । यस अर्थमा अरु समयको भन्दा चुनावको बेलाको बोलीको महत्व अलिक कम हुन्छ कि ? भन्ने मनोविज्ञान सार्थक रहेको छ । चाहे जुनसुकै किसिमको चुनावको सन्दर्भ किन नहोओस् । तर अहिले बोलीको अर्थ सामाजिक सञ्जालले गर्दा निकै बदलिएकोजस्तो बनाएको छ । सामाजिक सञ्जाललाई यदि वर्तमान समाजको प्रतिबिम्ब मान्ने हो भने वर्तमान समाजको क्रिया प्रतिक्रियात्मक बोली आरोपवादतिर बढी उन्मुख रहेको देखिन्छ । यसलाई राजनीतिक दलको नेता वा कार्यकर्ताको काम र प्रतिक्रियाको तहमा हेर्दा अझ बढी स्पष्ट भएर आउँछ ।
कुनै एकजना नेताले आफूले गरेको सकारात्मक कामको लिखित वा फोटोसहित सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दा त्यसलाई विरोध गर्ने, दार्शनिक आधार दिएर अनैतिक साबित गर्नेहरुको ठूलो जमात खडा हुन्छ । फेरि अर्को समूहले गरेको राम्रो कामको कसैले सामाजिक सञ्जालमा सकारात्मक दृष्टिकोण राखेर नै पोस्ट गर्दछ भने पनि त्यसको पनि धुँवाधार विरोध हुने गरेको छ । राम्रो कामको प्रशंसा गर्नेहरु ज्यादै कम छन्, अझ खुलेर प्रशंसा गर्नेहरु झन् कम छन्, स्वार्थरहित सकारात्मक प्रतिक्रिया दिनेहरु झन् थोरै छन् तर कसैले राम्रो काम गरेर त्यसको जस आफूले पाउन सामाजिक सञ्जालमा राख्छन् भने त्यससित सम्बन्धित वा असम्बन्धित कुराहरु आउन थाल्छन् । कामभन्दा व्यक्तिगत आलोचना गर्नेहरु पनि देखिन्छन् । यसरी गरिएको आलोचनाको खास कुनै सन्दर्भ हुँदैन । ठाउँ नपाएर आलोचना गरिएको हुन्छ वा आरोप लगाइएको हुन्छ । यस प्रकार सकारात्मक कामको पक्षमा बोल्नेहरु कम हुँदै गएको वा कम भएको सामाजिक सञ्जालमा देखिएको तर आरोप प्रत्यारोप लगाउनेहरुको कुनै कमी नभएको अवस्था देखिएको सन्दर्भलाई आरोपवादको नजिक मान्न सकिन्छ ।
सामाजिक सञ्जालमा बोलीवाद कम र आरोपवाद बढी भएको हो कि भन्ने महसुस हुन थालेको छ । सामाजिक सञ्जाल कसैको कामको मूल्यांकनको कसी होइन । सामाजिक सञ्जालमा सक्रिय नरहेकाहरुले पनि सकारात्मक काम गरिरहेका हुन्छन् । यसै गरी कतिपयले आफूले सिन्को नभाँच्ने तर अरुको कामको आलोचना गर्ने गर्दछन् । कतिपयले त साँच्चै सैद्धान्तिक ज्ञान राखेका हुन्छन्, अध्ययन गरेका हुन्छन् तर व्यवहारमा उतार्न सकेका हुँदैनन् । कतिपयले त अरुका कुरा हेर्दछन्, सुन्दछन् तर प्रतिक्रिया जनाउँदैनन् । यी सबका बावजुद पनि सामाजिक सञ्जाल भने मूल्यहीन होइन । सामाजिक सञ्जालको महत्व कम भएको छैन । वर्तमान परिवेशमा अर्थात कोरोनाको समयमा सामाजिक सञ्जालमा सर्वसाधारणको सक्रियता निकै बढेको छ । आफ् नो रुचि तथा क्षमतामात्र नभई दिन कसरी कटाउने वा के पढ्ने, के हेर्ने जस्ता सबै कुराको प्रदर्शन पनि सामाजिक सञ्जालमा गरिएको पाइन्छ । सामाजिक सञ्जालमा पोस्ट हुने लिखित अभिव्यक्ति, फोटो, कमेन्ट, भिडियो तथा लेखरचनाहरुको रुचिअनुसार अध्ययन गरेर समय बिताउन धेरै सजिलो भएको छ । यसै गरी म्यासेन्जर ग्रुपमा एक अर्काको अभिमत जान्न तथा अनुभव आदानप्रदान गर्न, विमर्श परामर्श गर्न पनि काम लागेको छ । लकडाउनको समयमा धेरै तालिम तथा गोष्ठीहरु पनि अनलाइनबाट नै भएको पाइएको छ ।
यस अवस्थामा सामाजिक सञ्जालको महत्व बढेको छ । यसमा हजारौँ साथी हुने भएकाले आफूले पोस्ट गरेको सामग्री र लेख्ने प्रतिक्रियाका आधारमा नै आफ्नोप्रति साथीहरुको धारणा निर्माण हुने हुँदा सामाजिक सञ्जालमा बोलीको महत्व हुँदैन भन्ने होइन । यसकारण सकेसम्म आरोपवादबाट मुक्त हुने प्रयास गर्नु आवश्यक भएको छ । बोलेको कुरालाई पूरा गर्ने तात्पर्य हुने अवस्थामा बोलीवाद निकै सार्थक छ । यसै कारण पनि होला कतिपय मननीय भनाइ (बोली)हरुको सर्वत्र चर्चा गरिन्छ । तर बोल्दै जाने र उसको जीवनमा भने केही पनि देखिने हो भने बोलीवादको महत्व कम हुन्छ । बोलीलाई सार्थक बनाउने क्रममा समाजको हित हुने काम हुँदाहुँदै पनि जसरी होओस् त्यसलाई कमजोर बनाउने वा तल पार्ने वा आलोचना नै नगरी नरहने यस्ता केही मानिसहरुमा आरोपवाद हावी भएको देखिन्छ । अझ सकारात्मक कामको कहिल्यै प्रशंसा नगर्ने र अरुको केही गल्ती पो छ कि भनी खरो आलोचना गर्ने तथा अन्त्यमा मैले नियतवश गरेको होइन, सकारात्मक सोचेर गरेको हो भन्नेहरुले गर्दा आरोपवाद मौलाउँदै गएको छ । आरोपवादले समाजलाई अग्रगतितिर लगेको छ कि छैन ? यस दृष्टिले आलोचना गर्नु वा समर्थन गर्नु राम्रो होला । कुरा नबुझेर, बुझ्न नचाहेर, बुझ पचाएर, अधुरा कुरा सुनेर, कसैको लेखरचना नपढी शीर्षक नै देखेर सबै कुरा बुझेको अनुमान गरेर दिइने प्रतिक्रिया सकारात्मक नै भए पनि वास्तवमा आरोपवाद हो । सकारात्मक आरोप लगाइएको हुन सक्छ । आरोप नकारात्मक नै हुन्छ तर कसैको अपराधलाई पनि ठीक भनी विश्लेषण गर्दा त्यो सकारात्मक आरोप हो भन्ने जस्तो मलाई लागेको छ । सकारात्मक हुनु राम्रो हो तर सकारात्मक आरोपबाट बच्नु पनि पर्दछ । यहाँ बच्नु भनेको आरोप लगाउने र आरोपित हुने दुवै पक्ष हो भन्ने बुझ्नु आवश्यक छ ।