अपडेट 
२०७७ भाद्र १०, बुधबार ०८:१६

विराटनगरमा मंगलबार राति एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मंगलबार राति ८ बजे मृत्यु भएको हो । मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा ती महिलाको मृत्यु भएको हो ।

विराटनगर –१५ मिल्स एरिया घर भएपनि विराटनगर–११ स्थित माइतीमा बस्दै आएकी ती महिलामा श्वासप्रश्वासमा समस्या भएपछि दिउँसो उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । स्वाब संकलन गरेर कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट महिलाको मृत्यु हुनुभन्दा केही बेरअघि मात्रै पोजेटिभ आएको थियो ।

विराट शिक्षण अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले रिपोर्ट पोजिटिभ आएर कोरोना पुष्टि भएको केही बेरमै उपचाररत महिलाको मृत्यु भएको बताए ।

Comment


Related News

Latest News

Trending News