अपडेट 
२०७७ भाद्र ११, बिहीबार ०५:५३

नमुनाको अर्थ हुन्छ आदर्श वा उदाहरणको रुपमा प्रस्तुत हुनु । यसलाई प्रष्ट अर्थको रूपमा लिने हो भने व्यवहार उदाहरणीय हुनुपर्छ । नेपाल सरकारले केही विद्यालयलाई नमुना घोषणा गरी यसको कार्यान्वयन पक्षलाई अगाडि बढाउने काम समेत गरिसकेको छ । यस्तै विद्यालय मध्येको एउटा विद्यालयको नाम हो । जनता नमुना प्राविधिक माध्यमिक विद्यालय, गिद्धा–वेलापट्टी, जो धनुषा जिल्ला अन्तर्गत विदेह नगरपालिका भित्र वडा नं. ६ मा अवस्थित छ । हाल यसका प्रधानाध्यापक पवनकुमार मण्डल हुन् । नमुना विद्यालय निर्धारण गर्न नेपाल सरकार, शिक्षा मंत्रालयले केही शर्त राखेका थिए । जिल्ला भित्रको विद्यालयहरू मध्ये ती शर्त पूरा गरेकालाई नमुनाको रूपमा छनौट गरियो । त्यस मध्येको एउटा नमुना विद्यालय गिद्धा–बेलापट्टीको माध्यमिक विद्यालय पनि हो । हाल विद्यालय पूर्णरूपेण गाउँपालिका वा नगरपालिका भित्रको स्वामित्वमा रहेकोले सोही अनुसार काम गर्नु पर्ने रहेछ । गतिलो गाउँरनगरपालिका अध्यक्ष वा नगर प्रमुख रहेको ठाउँमा काम गर्न त्यति असजिलो छैन । तर नभएको ठाउँमा कार्यान्वयन गर्न निकै कठिनाइको सामना गर्नु पर्ने हुँदो रहेछ । त्यसैले नमुना विद्यालयको अनुमति पाएर मात्र हुँदैन, काम कति कुशलता पूर्वक अगाडि बढी रहेछ त्यो हेर्न बाँकी छ।

गिद्धा–बेलापट्टीका प्रधानाध्यापक पवनकुमार मण्डल नमुना विद्यालय बनाउन गर्न पर्ने कामहरूलाई बडो सकारात्मक रूपमा स्वीकार गरेका छन् । उहाँको भनाई अनुसार काम गर्दा चुनौती त आउँछ तर त्यसलाई धैर्यतापूर्वक चिर्न सक्नुपर्छ । यस्ता कामलाई कार्यान्वयन गर्दा प्र.अ. को इमान्दारिता, निर्भिकता, योग्यता, सामाजिकता, मिलनसारिता तथा मैत्रीपूर्ण व्यवहारमा निर्भर हुन्छ । नीज प्र.अ. सँग यी गुणहरू भएकाले नै उहाँ काम पूरा गर्न अलिकति पनि सशंकित रहनुहुन्न । यता विद्यालयसँग सम्बन्धित पक्षहरू विद्यार्थी, शिक्षक, अभिभावक, व्यवस्थापन समिति तथा नगरपालिकाले यसकामलाई निकै सकारात्मक रूपमा लिई कार्यान्वयन गर्न आ–आफना मत जाहेर गरिसकेका छन् । प्र.अ. पवनकुमार मण्डलको के भनाइ छ भने प्र.अ. ले विद्यालयका चारवटा कुरालाई सही रूपमा व्यवस्थापन गर्न सक्यो भने उ सफल प्र.अ. को रूपमा अगाडि आउँछ । ती कामहरु हुन्ः शैक्षिक, आर्थिक, भौतिक तथा प्रशासनिक पक्षहरू । यस विद्यालयको इतिहासतिर जाँदा २००६ सालमा जमीन्दारहरूका बीचमा यसलाई स्थापना गर्नु सजिलो थिएन तर त्यस बेलाका रैती भनिने जनता आफ्नै नाममा विद्यालय खोल्न सफल भए । त्यसबेला नेपाली शिक्षकहरूको अभावले गर्दा भारतीय शिक्षकहरूलाई बोलाई ती शिक्षकहरूद्वारा विद्यालय संचालित गराइयो ।

यसको स्थापनामा पनि भारतीय नागरिक परमानन्द दत्त जो एउटा ठूला समाजसेवी थिए । वहाँको उत्प्रेरणाले गिद्धा–बेलापट्टीका सम्पन्न किसान द्वय रामभज्जु मण्डल र अमृत मण्डल तथा विपन्न किसान द्वय रामऔतार पण्डित र मुनिलाल मण्डल लगायत अन्य व्यक्तिहरूको सहयोगमा विद्यालय खोलियो । यहाँका स्थानीय जनताको पूर्ण सहयोगले गर्दा नै विद्यालय आज प्राविधिक तथा नमुनाको रूपमा स्थापित भएको देखिन्छ । हुनत हरेक समाजमा केही न केही असामाजिक तत्व रही रहन्छ । यहाँ पनि ती तत्वहरू विद्यालयको कामलाई नकारात्मक पक्षतिर लान खोज्दा स्थानीय अभिभावक, बुद्धिजीवी, सामाजिक कार्यकर्ता, राजनीतिकर्मीहरू मिलेर त्यसलाई निस्क्रिय पारेको देखिन्छ । हाल रहेको अभिभावक संघ, वालक्लव, व्यवस्थापन समिति र नगरपालिकाको सकिय सहयोगले नै नमुना विद्यालयको रूपमा आएको पाइन्छ । विद्यालय संचालनमा विद्यालय व्यवस्थापन समितिको भूमिका मुख्य रहेको हुन्छ । यस समितिमा कुशल नेतृत्व प्रदान गर्ने व्यक्तित्वहरू रहेका छन् । यसका पदाधिकारीहरूका शैक्षिकस्तर तिर जाँदा साक्षर देखि विद्यावारिधि सम्म रहेका छन भने राजनैतिक स्तरतिर जाँदा वडादेखि केन्द्रीय पदाधिकारी सम्म, पूर्व जिल्ला उपसभापति देखि पूर्व प्रधान पञ्चसम्मका व्यक्तित्वहरु समावेश छन् जसले गर्दा विद्यालयमा कुनै समस्या आउँदा सजिलैपूर्वक समाधानको बाटो पहिल्याउने गर्छन् ।

यसमा प्र.अ. को भूमिकालाई हेर्ने हो भने निकै सराहनीय मान्न सकिन्छ । यो विद्यालय क्रमशः प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक तथा उच्चमाध्यमिक स्तर सम्म कुशलतापूर्वक संचालनमा रहेका छन् । यति मात्र कहाँ हो र ? प्राविधिक धारतिर पशु विज्ञानको पढाइ कक्षा ९ देखि १२ सम्म सफलतापूर्वक संचालनमा रहेको छ भन्ने उच्च शिक्षा तिर त्रि.वि. बाट सम्बन्धन ल्याई मानविकी तथा व्यवस्थापनका स्नातक कक्षाहरू समेत संचालित छन् । यी सबै काममा व्यवस्थापन समिति र प्र.अ. को भूमिका तथा जिम्मेवारीलाई पूर्णरूपेण प्रशंसनीय रहेको भन्न सकिन्छ । यहाँ प्रश्न उठ्छः प्र.अ. कुशल नभएको भए के यस्ता उपलब्धि पाउन सजिलो हुन्थ्यो र ? प्र.अ.को व्यक्तिगत आचरणतिर जाँदा विहानै उठी ठीक ६ः३० बजे जनकपुररनाथपट्टीबाट प्रत्येक दिन पुगी सकेका हुन्छन् । त्यसैलाई नै सबै शिक्षक–शिक्षिकाहरूले अनुशरण गरेका छन् । वादै महिना समयको पालनामा बढी ध्यान दिएको हुन्छ । त्यति मात्र कहाँ छ र ? प्रत्येक शिक्षक, कर्मचारी तथा विद्यार्थीहरू विद्यालय पोशाकमा आउन अनिवार्य रहेको देखिन्छ । प्रत्येक दिन राष्ट्रिय गान तथा सरस्वती बन्दनावाट शुरू भई कक्षाको शुरुआत हुन्छ भने छुट्टी हुनलाग्दा विभिन्न किसिमका खेल तथा व्यायामहरू गराई छुट्टीको घंटी लगाइन्छ । यसैले होला विद्यार्थीहरूको परीक्षाको नतिजा प्रत्येक वर्ष संतोषजनक देखिएका छन् । ्र.अ. सँग यसवारे कुरा गर्दा एउटै जबाब फर्काउनु हुन्छः सरकारी तलब खाएर इमानदारीपूर्वक काम गर्नु पर्दछ अन्यथा राष्ट्र तथा आफै सँग बेइमानी ठहर्नेछ ।

शिक्षक तथा कर्मचारीतिर जाँदा प्रत्येकले समयको राम्ररी ख्याल गरी कुशलतापूर्वक काम गरेका छन् । लगभग ५० जना शिक्षक कर्मचारी मध्ये ३५ जना स्नातकोत्तर पास गरेका छन् भने प्राविधिक बाहेक बाँकी सबै शिक्षक–शिक्षिकाहरु तालिम प्राप्त छन् । प्र.अ. र शिक्षकहरूका बीच मैत्रीपूर्ण सम्बन्ध रहेको देखिन्छ । राम्रोसँग विद्यालयको आदेश नमान्ने शिक्षक स्टाफलाई दण्ड दिँदा स्टाफ तथा व्यवस्थापन समितिको वीचमा सम्झौता गराइन्छ । सम्झौतामा नआउने शिक्षक कर्मचारीलाई काम उलंघनको प्रकृति हेरी दण्ड दिने गरिन्छ । विद्यार्थी अनुपास्थित हुँदा फोन–इन कार्यक्रमबाट अभिभावकलाई जानकारी दिई विद्यार्थीका क्रियाकलापको पता लगाईन्छ भने उपस्थिति संख्या पनि दिन प्रतिदिन बढदै गएको देखिन्छ । प्र.अ. पवनकुमार मण्डलको विद्यालय प्रतिको समर्पण हेरी सरकारी तथा गैर सरकारी संस्थाहरूबाट विद्यालय लगायत प्र.अ. लाई निकै सम्मानित पुरस्कारहरुबाट पुरस्कृत गरेका छन् । यस्ता कामवाट विद्यालयका सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक लगायत सर्वसाधारण निकै उत्साहित छन् । प्र.अ. पवनकुमार मण्डल भन्दा अघि कामगरेका पूर्व प्र.अ. हरू यस विद्यालयलाई निकै खस्किदो अवस्थामा पुयाएको र यहाँको हातमा प्र.अ. को जिम्मेवारी आउँदा दिनप्रतिदिन एउटा– एउटा नयाँ कार्यक्रम थपिदै आएका छन् । १–१० कक्षा सम्मको पठन पाठन हुने ठाउँमा ११÷१२ स्वीकृत भई सफलतापूर्वक संचालनमा रहेको देखिन्छ । भने प्राविधिक धारतिर पनि पशु विज्ञान विषयको कक्षा स्वीकृति गराउन जनकपुर देखि काठमाण्डौँ सम्म मोटरसाइकिलले नै घर–आँगन गरी सफलतापूर्वक संचालनमा ल्याएका छन् । पशुविज्ञानका विद्यार्थीहरू यस विद्यालयवाट उर्तीण भई अधिराज्यका विभिन्न जिल्लाहरूमा कार्यरत रहेका छन् ।

त्यतिबाट पनि सन्तुष्ट नभई नमूना विद्यालयको कुरा सुन्दा व्यवस्थापन समितिसँग छलफल गरी स्वीकृत ल्याउन पहिलो पटक नै सफल भएका छन् । भौतिक पक्षतिर हेर्दा कर्कट पाता भएका तीनवटा तथा ईट पक्की एउटा भवन रहेकोमा आहिले आठ र चार कोठे पक्की भवन २ वटा तथा जापानी सहयोगबाट कर्कट पाताले छाएको २ वटा भवन गरी चार वटा भवनहरू रहेका साथै शौचाल्य, खानेपानी, कैन्टीन, खेल मैदान आदि कुराहरूका उत्तम व्यवस्था रहेका छन् । यति मात्र होइन आधुनिक खेल मैदानको निर्माण गरी भलिवल, फुटवल, बैडमिटन, क्रिकेटको साथै केटोकटीलाई खेलाउने अन्य खेलहरू समेत खेलाउन गरेका छन् । पढाई अवधि भर विहान १०ः३० बजे देखि ४ः०० बजेसम्म चारै तिरको ढोकाहरु बन्द गरी सारा सुविधा विद्यालय कम्पाउण्ड भित्रै उपलब्ध गराएको हुनाले विद्यार्थी तथा शिक्षकहरू दिक्क महसुस गरेका हुँदैनन् । आर्थिक पक्षतिर लाग्दा विद्यालयको अधिनस्त रहेका पोखरी, जलकर धनहर, बगैचा, हाटबजार आदिलाई डाक बढाबढ गरी ठिक्का पट्टा लगाई विद्यालयको आर्थिक पक्षलाई समेत बलियो बनाइ अगाडि बढाएका छन् । गतवर्षको आम्दानी–खर्च लाई सामाजिक परीक्षण गराएको कागजातबाट लगभग ६० लाख रुपैया बचत रहेको मध्ये गत आ.ब. को रकम नगरपालिकाबाट कम निकासा आएकोले सो रकम मध्ये ३० लाख क्षति पूर्ति गरी ४० लाख रुपैया हाल बचत देखाएका छन्।

सारंशमा प्र.अ. पवनकुमार मण्डले गरेका क्रियाकलापबाट स्थानीय अभिभावक, बुद्धिजीवी, किसान, समाजिक कार्यकर्ताहरु सन्तुष्ट देखिन्छन् । यहाँलाई समय–समयमा विद्यालय काम प्रति अझै लाग्न उत्साहित गरेका छन् । प्र.अ. पवनकुमार मण्डल के भन्नु हुन्छ भने म जुन पृष्टभूमिबाट यहाँसम्म आइपुगेको छु त्यस कुरालाई स्वमूल्यांकन गर्दा गौरब महसुस गरेको छु । सरकार तथा समाजले दिएको जिम्मेवारी इमान्दारी पूर्वक गर्नु मेरो नैतिक कर्तव्य ठहरिन्छ । मैले गरेको काम–कर्तव्यबाट विद्यार्थी वर्गमा परेका नैतिक प्रभावलाई हेर्दा निकै सन्तुष्टि महसुस गरेको छु । शिक्षक इमान्दार भए त्यसको प्रभाव सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सर्वसाधारणमा पर्नु स्वभाविक देखिन्छ । त्यस्तो शिक्षक समाजबाट पाउने सम्मान, आदर तथा श्रद्धामा दुविधा नरहेको पाइन्छ। यस विद्यालयका प्रगतिलाई हेर्न तथा अवलोकन गर्न देशका विभिन्न जिल्लाहरूबाट विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरु आईरहेका हुन्छन् भन्ने जिल्ला भित्रका विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरू समेत दिशा निर्देश लिएको कुरालाई यस विद्यालयले निकै सकारात्मक रूपमा लिई भविष्यमा अझै कसरी राम्रो भन्दा राम्रो बनाउन सकिन्छ भन्ने सोचकासाथ अगाडि बढेको पाइन्छ । अस्तु । लेखकः त्रिविका सेवा निवृत सह–प्राध्यापक हुन्

Comment


Related News

Latest News

Trending News