अपडेट 
२०७७ भाद्र १८, बिहीबार १२:२०

सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित घोघनपुर ‘सिल’ गरिएको छ । एउटै परिवारका ८ जनामा कोरोना संक्रमण देखिएपछि घोघनपुर अनिश्चितकालका लागि सिल गरिएको हो ।

कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्रका अनुसार संक्रमित व्यक्तिका परिवारमा पीसीआर परीक्षण गराउँदा थप ७ जनामा कोरोना पोजेटिभ देखिएकाले कोरोना संक्रमण फैलिनबाट रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न उक्त टोल अर्को आदेश नहुञ्जेलसम्मका लागि ‘सिल’ गरिएको हो । साविकको घोघनपुर गाविस–४ को क्षेत्रभरी ’सिल’ गरिएको जनाउँदै उनले सो क्षेत्रमा स्वास्थ्य चौकी रहेकोले स्वास्थ्य सेवासहित बजार, पसल बन्द गरिएको छ । नगरस्तरीय कोरोना संक्रमण नियन्त्रण समितिको बैठकले उक्त टोलमा हिँडडुल, आवतजावत बन्द हुने गरी ‘सिल’ गर्दै प्रहरी परिचालन गर्ने निर्णय गरेको छ । यस्तै कञ्चनरुप नगरपालिका–२ र ७ मा स्वास्थ्य सेवा बाहेकका हाटबजार, पसल बन्द गर्ने निर्णय गरिएको छ ।

कञ्चनरुप नगरपालिका–६ स्थित एकै परिवारका १०, १२, १३, ३६ र ६२ वर्षीय पुरुष तथा ३० र ६२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको कञ्चनरुप स्वास्थ्य शाखाले जनाएको छ । राजविराजबाट फर्किएर गएका ३६ वर्षीय व्यापारीलाई ज्वरो र रुघाखोकी लागेर शंका गरी परीक्षण गर्दा ५ दिन अघि कोरोना पुष्टि भएको थियो । उनलाई कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका परिवारका ७ जनासहित छिमेकी १६ जनाको शनिबार स्वाब संकलन गरिएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक डम्बरप्रसाद गुप्ताले जनाए ।

पीसीआर परीक्षण गरिएकामध्ये संक्रमितको परिवारका आमा, श्रीमती, छोराछोरी र परिवारका नातेदारहरु नै ७ जना रहेको गुप्ताले बताए । यसअघि नै कोरोना पुष्टि भएका व्यापारी होम आइसोलेशनमा बसिरहकाले थप संक्रमित उनका परिवारका ७ जनालाई पनि होम आइसोलेसनमै राखिएको छ ।

Comment


Related News

Latest News

Trending News