नेपाली कांग्रेस यतिखेर १४ औं महाधिवेशनको संघारमा छ । सम्पूर्ण विश्व कोभिड–१९ को महामारीका कारण आक्रान्त छ । नेपाल पनि अपवाद छैन । यस अवस्थाको लाभ कांग्रेसको संस्थापनलाई मिल्न सक्ने अनुमान गर्न सकिन्छ । फागुनमा हुने भनिएको महाधिवेशन आगामी वैशाखपछि मात्र हुने सम्भावनालाई नकार्न सकिँदैन । दूर्भाग्य, वर्तमानको संकटापन्न अवस्थाको लाभ पार्टी संस्थापन पक्षले पुरापुर उठाउने प्रयास गरेको छ । यही आधारमा पार्टी संगठनसँग सम्बद्ध विविध पक्षमा पार्टी सभापति शेरवहादुर देउवा र उनको टिमले आफूअनुकूलको निर्णय गरिरहेको छ । चाहे त्यो विभागहरुको संख्या बढाउने कार्य होस अथवा विभागहरुलाई पूर्णता दिने काम । चाहे त्यो क्रियाशील सदस्यतासम्बन्धी निर्णय होस अथवा अनुशासनको कार्यवाहीका नाममा विपक्षीलाई तह लगाउने काम । यी र यस्ता सबै कार्यको एकमात्र उद्देश्य हो, महाधिवेशनको परिणामलाई प्रभावित गर्ने प्रयास गर्नु ।
आजको अवस्थामा कांग्रेसको मूल मुद्दा हो कांग्रेसमा सुधार । तर यस दिशामा भने पार्टी नेतृत्व प्रायः मौन नै रहने गरेको पाइएको छ । विगतमा कार्यकर्ता प्रशिक्षण र परिचालनसम्बन्धी केही कार्य नभएका होइनन् तर ती कार्य खासै प्रभावकारी हुन सकेनन् भन्दा अन्यथा ठहर्दैन । महाधिवेशनको पारो बढदै जाँदा पार्टीभित्रका अन्तरविरोधहरु यतिखेर सार्वजनिकरुपमा छताछुल्ल भइरहेका छन् । सबैले आफैखुसी उम्मेदवारी घोषणा गर्ने कार्य भइरहेको छ । लोकतान्त्रिक पार्टी भएका नाताले विभिन्न पदमा उम्मेदवारी घोषणालाई अन्यथा भन्न मिल्दैन तर यस्तो घोषणामा पार्टीभित्रको गुटवन्दीको प्रभाव स्पष्ट अनुभूत हुने गरेको छ । सारमा गुटवन्दी चरमोत्कर्षमा पुगेको छ । एकले अर्को गुट वा समूहलाई भित्तै पुर्याउने वा निषेध गर्ने रणनीतिमा सक्रिय रहेको स्पष्ट अनुभव गर्न सकिन्छ । यसको लाभ हालको संस्थापन अर्थात् पार्टी सभापति पक्षलाई मिल्ने निश्चित छ । सभापति देउवा ‘फुटाउ र शासन गर’ को नीति कार्यान्वयन्मा छन्भन्दा असान्दर्भिक हुँदैन । यही कारण हो, देउवाविरोधीहरु एकजुट हुन नसक्दा संख्या र प्रभावका दृष्टिले उनीहरु सवलजस्तो देखिए पनि व्यवहारमा भुत्ते सावित भइरहेका छन् । उनीहरु संगठितरुपमा नेतृत्वद्वारा भएका अवैधानिक कार्यको विरोध गर्न सकिरहेका छैनन् ।
कांग्रेस, जो अहिले संसदको प्रमुख प्रतिपक्ष हो, सुध्रिनुपर्छ भनेर चौतर्फी सुझाव दिइरहिएको छ, तर सारमा कांग्रेसमा सुधारको कुनै संकेत देखा परेका ैन । यो दुखद छ । हिजोसम्म आफूलाई देशको सबैभन्दा ठूलो राजनीतिक दल दावी गर्ने कांग्रेस आज संसदमा, निकै लघु आकारसहित, दोस्रो स्थानमा छ । लोकतन्त्रका लागि अनवरत संघर्षरत नेपाली कांग्रेसकै नेतृत्वमा देशका अधिकांश राजनीतिक परिवर्तन भए भन्ने कुरामा विमति छैन तर त्यस्ता परिवर्तनहरुलाई संस्थागत गर्ने सन्दर्भमा कांग्रेस प्रायः कमजोर सावित हुन गरेको इतिहास साक्षी छ । यसका धेरै कारण हुन सक्छन् तर एक कारण हो, यस पार्टीका आन्तरिक कलह र अव्यवस्था । प्रायः सत्तामा रहँदा यस्ता कलह र अव्यवस्स्था चर्कने र छिप्पिने गरेको कांग्रेसमा पछिल्लो दिनमा सत्तामा नरहँदा पनि यो प्रवृत्ति उत्कर्षमा पुगेको मूल्यांकन गरिन्छ भने त्यसलाई के भन्ने ? तर प्रत्यक्षतः सत्तामा नरहे पनि कांग्रेस अहिले पनि सत्तासँग नजिक रहेको आरोप लागिरहेको छ । नेतृत्वले यो आरोपको वचावका सन्दर्भमा व्यवहारिकरुपमा केही ठोस तर्क अगाडी सार्न नसक्दा शंकाले आकार ग्रहण गर्ने अवस्था आउनुलाई स्वाभाविक नै मान्नुपर्ने हुन्छ । भनिन्छ, पछिल्ला दिनमा कांग्रेस वैचारिकरुपमा अस्पष्ट र कमजोर भएको छ ।
यो कति सत्य हो वा होइन भन्ने कुराको मूल्यांकनसम्बन्धी विषय वहसको अर्को पाटो हुन सक्ला तर सत्य के हो भने नीति र नेतृत्वबीचको तालमेल मिल्नुपर्ने लोकतान्त्रिक पार्टीको अवधारणाका सम्बन्धमा भन्ने प्रश्न तेस्ंयाउन सकिने अवस्था छ । कांग्रेस लोकतान्त्रिक समाजवादको पक्षधर हो । यस आधारमा समाजवादी कांग्रेस स्वयंमा कमजोर हुनु वा वलियो हुनु आमजनताका लागि खासै चासोको विषय नहुन सक्छ । तर हिजो कांग्रेस वलियो हुँदा जनताले देखिने र बुझिने गरी के प्राप्त गरे ? र आज कांग्रेस कमजोर हुँदा जनताको दैनन्दिनीमा के फरक पर्छ ? सामान्य जनताको विश्लेषणको यो आधारलाई ठाडै पन्छाउन मिल्दैन । कांग्रेसले यस प्रश्नको उत्तर खोज्नु अपेक्षित छ । समस्या के हो भने यी प्रश्नको उत्तर कांग्रेसले वर्तमानमा खोज्ने प्रयत्न गरेको छैन । शायद यिनै प्रश्नको उत्तरमा कांग्रेसको भविष्यको रणनीति आधारित छ र हुनुपर्छ । कांग्रेस कमजोर वा वलिया हुनुको सन्दर्भ निश्चय पनि राजनीतिक विचार र शक्ति सन्तुलनसँग जोडिन्छ । विगतमा लामो समय लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा सत्ता सञ्चालन गरेको कांग्रेस अहिले सत्ताच्यूत हुन पुगेको छ र प्रतिपक्षी विचार राख्ने कम्युनिष्टले अहिले समाजवादकै नाममा सत्ता सञ्चालन गरिरहेको छ । यस्तोमा कांग्रेसका सामु सबैभन्दा ठूलो चुनौती भनेको देशमा लोकतान्त्रिक ‘स्पेश’ कायम राख्न आफ्ना कार्यक्रम केन्द्रित गर्नु हो । संसदमा अहिले दुई तिहाई बहुमत भएको कम्युनिष्ट नेतृत्वको सरकारले सम्पूर्ण ढंगले कम्युनिष्ट सिद्धान्तलाई त्यागेर लोकतान्त्रिक मूल्य—मान्यतालाई पूर्णतः स्वीकार गर्छ भनेर कसैले सोच्दछ भने त्यो मिथ्या हुनेछ । हो, लोकतन्त्र अहिले विश्वमा नै विकाउ मुद्दा बनेको छ र लोकतन्त्रकै रटानमा नेपालमा कम्युनिष्ट कलेवरको राजनीति हावी हुने अवस्थाको सिर्जना भएको छ ।
यस आधारमा सत्ताधारीहरुले कम्युनिष्ट सत्ता स्थापित गर्ने एक माध्यमका रुपमा लोकतन्त्रलाई प्रयोग गरिरहेका छन् र गर्नेछन् भन्ने बुझाई गलत होइन । सैद्धान्तिक दृष्टिले यो विरोधाभासपूर्ण अवस्था हो, तर नेपालमा अहिले यही विरोधाभासपूर्ण राजनीति नै प्रयोग गर्न खोजिएको हो भन्दा अन्यथा ठहर्दैन । यसको मूक दर्शक बनेको छ, देशको सबैभन्दा पुरानो र लोकतान्त्रिक समाजवादी पार्टी नेपाली कांग्रेस । मूक दर्शकमात्र होइन कतिपय सन्दर्भमा कम्युनिष्ट सत्ताको सहायकका रुपमा पनि कांग्रेसको मूल्यांकन हुनु दुखद छ । तात्कालीन सभापति सुशील कोइरालाको दैहिक अवसानलगत्तै सम्पन्न कांग्रेसको तेह्रौ महाधिवेशनबाट सभापतिमा शेरवहादुर देउवा निर्वाचित भएपछि आम कार्यकर्ताले पार्टी एक नया तरिकाले सञ्चालन हुने आश गरेका थिए । तर देउवाको समयावधि समाप्त हुने संघारमा पुग्दा पनि त्यस्तो केही पनि नया हुन सकेन । प्रश्न उठ्छ के यसका लागि देउवामात्र दोषी हुन त ? निश्चित पनि नेतृत्वका दृष्टिले देउवाले जिम्मेबारी त बोक्नैपर्छ तर उनले मात्र जिम्मेबारी बोक्नु पर्याप्त हुँदैन । सम्भवतः उनको टिम र पार्टीभित्र प्रतिपक्षको भूमिकामा रहेकाले पनि पार्टी वर्तमान अवस्थामा पुग्नुको यश—अपयशको भागी हुनुपर्छ । आलोचना गर्नु अत्यन्तै सहज कार्य हो । आलोचनामात्र गर्ने र रचनात्मक सुझाव नदिने अवस्थामा पार्टीको पुनरुत्थान सम्भव हुन सक्दैन । अर्कोतिर नेतृत्वले साझा चरित्रको प्रदर्शन गर्न सकेन भने पनि त्यसको प्रभाव पार्टीको जीवनमाथि पर्छ ।
अहिले नेपाली कांग्रेसमा उपर्युक्त दुवै प्रवृत्ति हावी छ । पार्टी सभापति हुनुअघिसम्म देउवाले एक गुटको नेतृत्व गरेको आरोप लागेको हो । तर सर्वोच्च नेतृत्वप्राप्तिपछि पनि स्वयं देउवा र हिजोका दिनमा उनलाई सघाउनेबाट प्रदर्शित भइरहेको पुरानै मनोविज्ञानका कारण सिंगो कांग्रेसको भविष्य संकटमा पर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । यस परिस्थितिमा यसको प्रत्यक्ष लाभ सत्ताधारी कम्युनिष्टलाई पुग्ने निश्चित छ । कांग्रेस जति कमजोर हुन्छ देशमा कम्युनिष्टहरु त्यतिकै वलिया हुन्छन् । यस अवस्थामा प्रश्न गर्न सकिन्छ, के यति सामान्य कुरा पनि कांग्रेसलाई थाहा छैन त ? निश्चित पनि यसबारे कांग्रेसलाई राम्रै थाहा छ तर समस्या के हो भने थाहा भएको यस भावलाई व्यवहारमा अनुवाद गर्न सक्ने सामथर््य र क्षमता यस पार्टीले गुमाउँदैछ । सामूहिक चिन्तन् र छलफलको संस्कार हराउँदैछ । कांग्रेसले आफ्नो वर्तमान अवस्थामा सुधारको आवश्यकता बोध गरेको हो भने सुधारका उपायका खोजीमा यथाशीघ्र जुट्नु अपरिहार्य छ । निश्चय पनि यसबाट १४ औ महाधिवेशनमा नयाँ ऊर्जा मिल्नेछ ।