अपडेट 
२०७७ भाद्र २४, बुधबार १६:२३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ सय ४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन दिएको छ । मन्त्रालयले अस्पताल नभएका स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको हो ।

सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभयो । कोभिड–१९ सङ्क्रमणका बिरामी राख्न श्ययाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको हो । पाँच श्ययाका दरले स्थानीय तहमा तीन हजार दुई सय ४५ श्ययाका अस्पताल बन्नेछन् ।

हाल नेपालमा ४८ हजार एक सय ३८ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यस्तै ३२ हजार नौ सय ६४ निको र तीन सय ६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । यही भदौ १३ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पताल नभएका स्थानीय तहमा पाँच श्ययाको अस्पताल बनाउने निर्णय गर्नुभएको थियो । अस्पतालको व्यवस्थापन र कहाँ सञ्चालन गर्ने भन्ने निर्णय स्थानीय तहले गर्नेछन् ।

अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी हुनेछन् । मन्त्रालयले ती अस्पतालको कार्यप्रगतिका आधारमा बजेट थप गर्ने मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले बताउनुभयो । मन्त्रालयले प्रतिश्यया दुई लाखका दरले बजेटसमेत कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा गरिरहेको छ । अस्पतालका लागि तीन महिनाको श्ययाका लागि पाँच लाख, औषधि ५० हजार र चिकित्सक, स्वास्थ्यकर्मीका लागि चार लाख ५० हजार बजेट विनियोजन गरी पठाइसकेको छ ।

Comment


Related News

Latest News

Trending News