२०७७ भाद्र २९, सोमबार ०६:४५

कोरोना बीमाको लागि निजी अस्पतालका रिपोर्ट मान्य हुने भएको छ । बीमा समितिले संशोधन गरेको कोरोना बीमा मापदण्डअनुसार निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बीमाको दाबी पाइने भएको हो।

सोमबारदेखि लागू हुने गरी बीमा समितिको सञ्चालक समिति बैठकले कोरोना बीमा मापदण्ड २०७७ संशोधन गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड-१९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाहरुबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेस गर्नु पर्ने मापदण्डमा उल्लेख गरेको छ।

यसअघि समितिले निजी ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए कोरोना बीमा गर्नेहरुले दाबी भुक्तानी नपाउने जनाएपछि त्यसको चौतर्फी आलोचना भएको थियो । चौतर्फी दबाबपछि समितिले मापदण्ड संशोधन गरेर निजी ल्याबबाट परीक्षण गर्दा पनि दाबी  भुक्तानी पाउने व्यवस्था गरेको हो । 

संशोधित मापदण्डमा मन्त्रालयबाट स्वीकृति पाएका अस्पताल वा प्रयोगशालामा कार्यरत कर्मचारीहरुको बीमा दाबीको लागि आफ्नो अस्पताल वा प्रयोगशाला वा एकै समूहको लगानी भएका अस्पताल वा प्रयोगशालाबाहेक अन्य स्वीकृति प्राप्त अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गराउनु पर्ने व्यवस्था गरेको छ। बीमा कम्पनीहरुलाई संक्रमितले पेस गरेको रिपोर्टमा शंका लागेमा भने आफ्नै खर्चमा पुनः अर्को ल्याबमा कोरोना परीक्षण गराउन सकिने व्यवस्था समेत गरेको छ। कोरोना बीमाको सबै प्रकृया पूरा गरेपछि ७ दिन भित्रै दाबी भुक्तानी गर्ने समितिले जनाएको छ।

Comment

Related News