अपडेट 
२०७७ भाद्र ३०, मंगलवार ०६:१२

०५८साल भदौमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकटको मधेशी राष्ट्रिय मुक्ति मोर्चा, नेपालको प्रथम राष्ट्रिय भेला भारतको पटनामा गुप्तरुपमा भएको थियो । यसको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बहुदलिय जनवादी मोर्चाको अध्यक्षको हैसियतले रामराजा प्रसाद सिंहपनि सामिल थिए ।माओवादी नेताहरुको लालसलामभन्दा भिन्न, आफ्नो सम्बोधनको क्रममा नमस्ककारको मुद्रामा दुबै हात जोडेर सबैलाई अभिवादन गर्दै उनले भन्नु भनेको मलाई अहिलेपनि याद छ —“साथीहरु, म यस गरिमामय भेलामा अतिथिको रुपमा सामेल भएको छु, तर म कम्युनिस्ट होइन । म सोसल डेमोक््रयाटिक विचारको हुँ । तर म तपाँईहरुले शुरुगरेको जनयुद्धलाई हृदयबाट नै सम्मान गर्छु र सफलताको कामना गर्छु । यसको कारण के हो भने यस महान अभियानमा नेपालमा गणतान्त्रिकव्यवस्था स्थापनाको मेरो वर्षाैँको सपनापनि सामेल छ ।” उनलाई अन्तिमपटक मैले काठमाँडौमा उनको जीवनको अन्तिम दिनहरुमा भेटेको थिएँ । उनि पार्किन्सन रोगले थलिएर ओछ्यानबाट उठ्न नसक्ने स्थितिमा थिए ।

माओवादी आन्दोलनका एक प्रसिद्ध नेता मातृकाप्रसाद यादवसंग म उनलाई भेट्न गएको थिएँ । हामीलाई देख्नेबित्तिकै उनको आँखामा आफन्त भेटे जस्तै खुशीको झलक देखियो । करीब आधा घन्टाको भेटघाटमाउनि, गणतन्त्र देशमा स्थापित भएपनि यसको भविष्यप्रति आश्वस्त हुन नसकेको र चिन्तित रहेको बुझ्न गाह्रो भएन । यद्यपि उनले प्रत्यक्षतः यसबारे कुनै टिप्पणी गरेका थिएनन् ।यसको करीब साँढे एकमहिना पछि २०६९ साल भाद्र २७ गते उनको निधन भयो । नेपालको गणतान्त्रिक आन्दोलनमा वैयक्तिकरुपमा सबैभन्दा अग्लो शीखर रामराजा प्रसाद सिंहको सम्पूर्ण जीवन निरन्तर संघर्षको दस्तावेज हो । विडम्बना नै भन्नुपर्छ कि उनको यस राजनीतिक संघर्षलाई पञ्चायतको पतनपछि बहुदलिय व्यवस्थाले त उचित कदर गर्नसकेन नै, ०६२÷६३ पछिको गणतन्त्र नेपालले पनि उनलाई उपेक्षा नै गरेको छ । यसलाई दुर्योग नै भन्नु पर्छ कि गणतन्त्रस्थापनाका बखत अन्तरीमसंसदमा तत्कालीन माओवादी बाहेक अन्य सबै राजनीतिकपार्टीहरुले उनलाई राष्ट्रपतिको रुपमा स्वीकार गर्न तयार भएन । देशमा गणतन्त्र स्थापनाभएको स्थिति सम्झने हो भने त्यतिबेला योगदान र समर्पणको दृष्टिले रामराजा प्रसाद सिंहको कुनै विकल्प थिएन । त्यतिबेला संसदमा वर्ग चेतनाको आधारमा गणतन्त्रको पक्षमा सम्झौताहीन संघर्ष गरेर आएको शक्ति माओवादीहरु थिए भने पहिचान र क्षेत्रीय स्वायत्तताको राजनीतिबाट विकसित मधेशी जनअधिकार फोरम,नेपाल लगायत मधेशकेन्द्रित दलहरुगणतन्त्रमा नयाँशक्ति थिए ।

नेपालीकाँग्रेस र एमाले लगायतका अन्य राजनीतिकदलहरु पुरानो यथास्थितिवादी बहुदलिय राजतन्त्रात्मक संसदिय राजनीतिबाट रुपान्तरित हुन बाध्य दलहरु नै थिए । रामराजा प्रसादलाई माओवादी र फोरमले संयुक्तरुपमा राष्ट्रपतिको उम्मेदवार बनाउँदा यो खेमाबन्दीपनि देखिएको थियो । रामराजा प्रसादलाई अगाडी सारेर माओवादीहरुले राजनीतिक अग्रता लिएको प्रष्ट देखिएको थियो । नेका र एमालेभित्र एउटा सकसको स्थिति देखिएको थियो । यस समीकरणले सफलता पायो भने नेपाली राजनीतिमा वाम अग्रता स्थापित हुने सबैले बुझिरहेका थिए । र यो सम्भावना देशभित्र देशी–विदेशी जनविरोधी शक्तिहरुलाई मनपरिरहेको थिएन । अन्ततः उतिहरुको षडयन्त्र सफल भइ छाड्यो । नेपालीकाँग्रेसले अनेक जोड घटाउ गरेर कम चर्चित डा.रामवरण यादवलाई उम्मेदवार बनायो । यो मधेशी अनुहार भर्सेज मधेशी अनुहारको कुटिल स्थिति थियो । नेपाली राजनीतिमा क्षेत्रीय चेतनाको यो निकृष्टतम् प्रयोग थियो । रातारात फोरमले पोजिसन बदल्यो । उसले उपराष्ट्रपतिमा परमानन्द झा हुनुपर्ने अडान लियो । माओवादीले उपसभामुखमा आदिवासी जनजाति समुदायबाट महिलालाई उम्मेदवार बनाएको थियो, जो समावेशिताको दृष्टिले उचित नै थियो । माओवादीले फोरमको प्रस्ताव स्वीकारेन र यसै निहुँमा फोरमले नेकासमर्थित उम्मेदवार डा. रामवरण यादवलाई समर्थन दिए, जस्ले गर्दा उनको विजय सम्भव भयो ।

फोरमले रामराजाको विरुद्धमा निर्णय गरिरहँदा एक जना केन्द्रिय सदस्य जयप्रकाश गुप्ताले यसलाई खुला घात भन्दै निर्णय पुस्तिकामा नोट अफ डिसेन्ट लेखे र भोटिङ्गमा फ्लोर क्रसिङ्ग गर्न आह्वानपनि गरे । उनको आह्वानमा १७ जनाले निर्णय विरुद्ध मतदानपनि गरे । तर नेका, एमाले र फोरमको संयुक्त मत अगाडी यो पर्याप्त थिएन । फोरमको तर्फबाट उपराष्ट्रपतिमा परमानन्द झापनि जीते । कथित संसदिय लोकतन्त्र र सम्वैधानिक व्यवस्था अनुरुप यसमा कुनै त्रुटि नभएपनि परिणामको दृष्टिले यसले गणतन्त्रमापनि पुरानो संसदिय राजनीतिको सबै विरुपताहरु भित्र्याएको थियो । पदको निम्ती लोभलालच, वाहयशक्तिहरुको नग्न चलखेल समेतले प्रारम्भमा नै नेपाली गणतन्त्रमा खिया लाग्न शुरु भइसकेको थियो । यस सम्पूर्ण प्रकरणमा नेपालस्थित भारतीय दूतावासको सक्रियतापनि मिडियामा खूब चर्चाको विषय बनेको थियो । गणतन्त्रको निम्ती गरेको योगदानको दृष्टिलेरामराजा प्रसादको पराजय गणतन्त्र र जनमुखी राजनीतिका इमान्दार र क्रान्तिकारी शक्तिको उपेक्षाको शुरुआत थियो, जो निरन्तर जारी छ । यो संघीय राजनीतिमा मात्र होइन, प्रादेशिक राजनीतिबाट विकसित मधेशकेन्द्रित दलहरुमा समेत देखिएको छ । रामराजा प्रसाद सिंहको सम्पूर्ण जीवन नेपालमा गणतन्त्र स्थापनाको निम्ती संघर्षको दस्तावेज हो । उनी एउटा यस्तानेता थिए, जस्ले आफ्नो संघर्षको साटो अन्य कुनै अपेक्षा राखेका थिएनन् र राज्यसत्तालेपनि उनलाई उपेक्षाबाहेक अरु केही दिएन ।

वि.स. १९९१ सालमा जन्मेका रामराजा प्रसाद सिंहको बाल्यकाल अन्यभन्दा भिन्न थियो । उनको पिताको सम्बन्ध भारतीय स्वतन्त्रता सङग्रामका क्रान्तिकारीहरुसंग भएको कारण प्रसिद्ध भारतीय समाजवादी नेता डा.राममनोहर लोहिया र जयप्रकाश नारायणहरु उनको घर सप्तरी कोइलाडीमा भूमिगत रुपमा शरण लिएर बसेका थिए । उनिहरुले आजाद हिन्द दस्ता गठन गरेर गुप्तरुपमा नेपालको जङ्गलमा सैन्यतालिम गर्ने गर्थे । प्रहरीले यो कुरा थाहा पाएर उनको घरमा छापा मारेर राइफल र अन्य हतियारहरु सहित डा.लोहिया र जयप्रकाश नारायणलाई गिरफ्तार गरेर लग्यो । तर रामराजा प्रसाद सिंहका पिता जयमङ्गल प्रसाद सिंह र उनका साथीहरुले जेलमााथी हमला गरेर भारतीय क्रान्तिकारी नेताहरुलाई छुटाए । यसै कारण राणा सरकारले रामराजा प्रसाद सिंहका पिता र भाई लक्षमणप्रसाद सिंहलाई पक्रेर जेलमा राख्यो । त्यतिबेलाका ९ वर्षीय बालक रामराजा प्रसाद सिंहको बालमनमा अंकित प्रभावले उनको व्यक्तित्वलाई आजीवन क्रान्तिकारी बनाई दिएको भन्नु अत्युक्ति हुँदैन ।

सन् १९६१मा भारतको दिल्ली विश्वविद्यालयमा कानूनको अध्ययन गरिरहेको बेला त्यसै विश्वविद्यालयमा विद्यावारिधि गरिरहेकी एकजना क्युबाली महिला क्लाराको मद्दतले उनले प्रसिद्ध क्युबाली नेता चे ग्वेभारासंग भेट्न बर्मा (हालको म्यानमार) गएका थिए । विश्वक्रान्तिमा युवाहरुका सर्वाधिक लोकप्रिय क्रान्तिकारी नेता चे संग भेट्न गएका १३ जना युवाहरुको समूहमा क्लाराले दोभाषेको भूमिका निर्वाह गरेकी थिइन । कुराकानीको क्रममा चेले रामराजालाई नेपालमा क्रान्तिको आवश्यकता रहेकोले त्यहाँ गएर संघर्ष गर्न सल्लाह दिए । ०२० सालमा कानूनमा स्नातकको अध्ययन पूरा गरेर नेपाल फर्केका रामराजा प्रसाद सिंह काठमाँडौमा कानूनी पेशाको आडमा पञ्चायतविरोधी राजनीतिमा सक्रिय भए । ०२४ सालमा उनी राष्ट्रिय पञ्चायतको सदस्यमा स्नातक कोटाबाट उम्मेदवार बने । तर तत्कालीन सरकारले गिरफ्तार गरेपछि उनी असफल भए । ०२८ सालमा उनले दोस्रोपटक उम्मेदवारी दिए र विजयीपनि भए । तर पञ्चायती सरकारले सपथ गर्न न दिएर उनलाई गिरफ्तार ग¥यो । तत्कालीन राजा महेन्द्रसंगको दुईपटकको वार्तापछि उनलाई जेलमुक्त गरेर सपथ ग्रहण गराइयो । यसपछि उनि लोकतान्त्रिक चेतनाको प्रचारमा देशभ्रमणमा रहेका बेला बिराटनगरबाट फेरी पक्राउ परे । यस पटक सरकारले उनलाई जीवनभरी रापसको निर्वाचनमा भाग नलिनेगरी प्रतिबन्ध लगायो । साढे चारवर्षको जेलजीवनपछि ०३२ सालमा उनि रिहा भए र जेलजीवनका साथी खेमराज मायालूसंग मिलेर बहुदलिय जनवादी मोर्चाको गठन गरे ।

०३६/३७मा जनमतसंग्रहको खुला माहौलको फाइदा उठाएर मोर्चाका नेताहरुले जनताबीच आमसभाहरुको माध्यमबाट आफ्नो गणतान्त्रिक विचारको खुब प्रचार गरे । त्यतिबेला रामराजा प्रसाद सिंहको अध्यक्षतामा गठित मोर्चाको केन्द्रिय कमिटीमा खेमराज मायालु, रामकार्की, अनार सिंह, रामप्रसाद गिरी, युगलकिशोर लाल कर्ण, दिनेश श्रेष्ठ लगायत थिए । मोर्चाको साझा उद्देश्य राजतन्त्रको समाप्ति तथा गणतन्त्रको स्थापना थियो । यसको प्रचारको निम्ती मेचीदेखी महाकालीसम्म आमसभा गर्ने निर्णय गरियो । यसै क्रममा राजतन्त्रको विरोध र गणतन्त्रको प्रचारगरेको आरोपमा नेपालगञ्जबाट रामराजा, मायालु र दिनेशश्रेष्ठ फेरी गिरफ्तार भए । यसपटक नौ महिनाको जेल बसाईको क्रममा उनिहरुले अब सशस्त्र आन्दोलनको विकल्प नरहेको निष्कर्ष निकालेर जेलभित्रै गुरिल्ला वारफेयर बारे व्यापक अध्ययन गरे । जेलमुक्त भएपछि रामराजा र मोर्चाका अन्य सदस्यहरु भारतको पटनामा केन्द्रित भएर भुमिगत ढङ्गबाट गुरिल्ला तालिम गर्न थाले । एउटा भेँटको क्रममा रामराजाले भने अनुसार नेपालमा सशस्त्र आन्दोलन शुरुगर्न हतियारको निम्ती उनले श्रीलङकाका तमिल विद्रोही तथा बाङ्गलादेशका संस्थापक र हत्या गरिएका राष्ट्रपति शेख मुजिबुर्ररहमानका भतिजा टाइगर सिद्दिकीसंग पनि सम्पर्क गरेका थिए । तर त्यताबाट असफल भएपछि उनि भारतमा डाकाँहरुको क्षेत्रको रुपमा कुख्यात उत्तरप्रदेशको चम्बलका डाँकाहरुको सम्पर्कमा पनि गए । त्यसैक्रममा एउटी महिला डाकाँले बन्दूकभन्दा विष्फोटक बढी प्रभावशाली हुने भनेपछि उनले त्यसैको जोहो गर्न थाले । त्यसपछि एकजना अवकासप्राप्त नेपालीसेना.( तत्कालीन शाही नेपाली सेना)को मद्दतलेउनले कार्यकर्ताहरुलाई विष्फोटक पदार्थको प्रयोगको तालिम दिलाए ।

अब उनि देशभित्र बमविष्फोट गराएर पञ्चायती शासकहरुलाई गणतन्त्रको सशस्त्र आन्दोलन शुरुभएको चुनौती दिन चाहन्थे । ०४२ सालमा नेपालीकाँग्रेसले पञ्चायतीशासनको विरोध र विघटित संसदको पुनस्र्थापनाको माँग सहित धर्ना दिएको समयलाई मोर्चाले उपयुक्त अवसर ठान्यो । रामराजाको विचारमा यसले पञ्चायतीशासकहरु त्रसित हुने र नेकाको आन्दोलनलाई बल पुग्ने हुनाले उनिहरुको समर्थन प्राप्त हुनसक्थ्यो । मोर्चाका गुरिल्लाहरुले यसक्रममा काठमाँडौमा नेकाको धर्नास्थल, र सिंहदरबार लगायत देशका विभिन्न ठाउँमा बमविष्फोट गरायो । यस दौरान पोखरामा आफै बम पडकेर एकजना गुरिल्ला कार्यकर्ताको शहादत र एकजना राष्ट्रिय पञ्चायत सदस्य सहित आठजनाको मृत्यु भएको थियो । रामराजाको अनुमान विपरीत नेकाले धर्ना विथोल्न दरबारले नै विष्फोट गराएको आरोप लगाउँदै आन्दोलन तत्कालै स्थगित ग¥यो । अर्कोतिर पञ्चायतीसरकारले भारतले भारतीय जासूसी संस्था ‘र’को इशारामा विष्फोट गराएको आरोप लगायो । घटनाको तेस्रोदिन बीबीसीको कलकत्तास्थित कार्यालयमा गएर रामराजा प्रसाद सिंहले मोर्चाको संयोजकको हैसियत यसको जिम्मेवारी लिएपछि स्थिति प्रष्ट भएकोथियो । परिणाममा सरकारको व्यापक गिरफ्तारी र दमनचक्रमा परेर मोर्चाका सयौँ कार्यकर्ताहरु गिरफ्तार भए । कम्तीमा पाँचजनाभन्दा बढी नेता तथा कार्यकर्ताहरु सदाका निम्ती बेपत्ता पारिए । सरकारको यस दमनको शिकार त्यतिबेलाका कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि भोग्नु प¥यो । सरकारले रामराजा, लक्ष्मणप्रसाद र खेमराज मायालुमाथी सर्वस्वसहित मृत्युदण्ण्डको आदेश दियो । उनिहरु प्रवासमा भुमिगत भए । योजनाभन्दापनि आवेशको मात्रा बढीरहेको यस घटनापछि नेतृत्वको अभावमा मोर्चाले पार्टीको काम अगाडी बढाउन सकेन ।

०४७ सालमा बहुदलिय व्यवस्थाको स्थापना पछि रामाराजा लगायतका मोर्चाका नेताहरुमाथीको सर्वस्वसहितको मृत्युदण्डको आदेश नेपाली काँग्रेसको सरकारले खारेज गरेको थियो । ०४७ सालपछिको सम्वैधानिक बहुदलिय राजतन्त्रको राजनीतिमा रामराजा फिट भएनन् । ०५१को मध्यावधि निर्वाचनमा उनले भागपनि लिए । तर छलछाम, पैसा र गुन्डाको प्रयोगहुने निर्वाचनमा उनले जमानतपनि बचाउन सकेनन् । नेकाको हालको उपाध्यक्ष विमलेन्द्र निधिसंग उनि पराजित भए । विचारमा नेका निकटको प्रजातान्त्रिक समाजवादी विचारका समर्थक रहेपनि उनको निकटता भने कम्युस्टिहरुसंग बढी थियो । यो निकटता माओवादी जनयुद्ध ताका झन निकट भएको थियो । शायद यसैको परिणाम थियो, नेपाली राजनीतिमा हमेशा वर्चस्व जमाएको पुँजीवादी बुर्जूआ राजनीति उनिप्रति सँधै उदासीन रह्यो । वर्तमान गणतन्त्रको सञ्चालक सरकारी नेकपाको एउटा हिस्सा तत्कालीन माओवादीको एउटा समूह भएपनि वैचारिकरुपमा कथित प्रजातान्त्रिक समाजवादकै निकट छ । यद्यपि रामराजा प्रसाद सिंह गणतान्त्रिक नेपालका सबैभन्दा अग्ला शीखर छन् भन्नेमा दुइमत छैन । यस गणतन्त्र र जनराजनीतिप्रति इमानदार राजनीतिकर्मी र अग्रगामी शक्तिहरुले गणतन्त्रका निम्तीगरिएका सबै आन्दोलनहरु, विद्रोह र जनसंघर्षहरु, शहीदहरु र रामराजा प्रसाद सिंह लगायतका गणतान्त्रिक नेताहरुको योगदान बारे जान्नु र प्रेरणालिनु आवश्यक छ ।

Comment


Related News

Latest News

Trending News