अपडेट 
२०७७ भाद्र ३०, मंगलवार १२:०८

सर्लाही : जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सबस्टेशन निर्माण सुरु भएको छ । जिल्लाको लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२/३३ केभीए लाइनका लागि सबस्टेशनको निर्माण शुरु भएको हो । जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले सबस्टेशन निर्माणलाई तीव्रता दिइएको हो ।

नेपाल विद्युत् प्राधिकरणको करिब रु १५ करोड लागतमा विद्युत् सबस्टेशन निर्माण शुरु भएको हो । अठार महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७६ भदौबाट सबस्टेशन निर्माण शुरु गरेको सबस्टेशनका प्रमुख निरञ्जन साहले जानकारी दिए । सबस्टेशन निर्माण सम्पन्न भएपछि हरिपुर, मलङ्गवाका सबस्टेशनमा विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युत्सम्बन्धी समस्या समाधान हुने प्रमुख साहले बताए । अहिले जिल्लामा आफ्नो व्यवस्थित सबस्टेशन नहुँदा धनुषाको ढल्केवर र रौतहटको चन्द्रनिगाहपुरको सबस्टेशनबाट विद्युत् ल्याउनु परिरहेको छ ।

यसरी बाहिरबाट ल्याएको विद्युत्ले जिल्लाको आपूर्ति थाम्न नसकेको कार्यालय प्रमुख साहले बताए । सो क्षेत्रबाट विद्युत् ल्याउँदा जङगल क्षेत्र भएका कारण पनि सामान्य समस्या आएमा विद्युत् घण्टौँ अवरुद्ध हुने गरेको समस्यालाई मध्यनजर गर्दै जिल्लामै सबस्टेशन निर्माण शुरु गरिएको उनले बताए ।

डेढ वर्षभित्र सम्पन्न गर्ने गरी पावाटेक र वाइवा (जेभी) निर्माण कम्पनीले निर्माणको जिम्मा लिएका छन् । जिल्लामा केन्द्रीय प्रसारण लाइनको पहुँच पुर्याउन सबस्टेशन निर्माण शुरु भएको हो । जिल्लामा अरु पनि सबस्टेशन रहेका भए पनि सबस्टेशनको क्षमताले अपुग भएपछि छुट्टै यो सबस्टेशन निर्माण थालिएको सबस्टेशनका प्रमुख साहले बताए । जिल्लामा उद्योगधन्दा तथा कलकारखाना दिन प्रतिदिन खुल्ने क्रम बढेपछि विद्युत् क्षमता विस्तारको अवस्थालाई मध्यनजर गर्दै जिल्लामा विशेष क्षमताको सबस्टेशन निर्माण शुरु गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सुधीरकुमार रायले बताए ।

Comment


Related News

Latest News

Trending News