अपडेट 
२०७७ भाद्र ३१, बुधबार ०६:०३

संसारलाई उर्जायुक्त गतिशील बनाउने कार्यमा शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । शिक्षकलाई पश्चिमा र पूर्बीय दर्शनका दर्शनशास्त्रीहरु अनेक नाम दिएका छन् । पूर्बीय दर्शनमा उल्लेख भए अनुसार शिक्षकलाई ईश्वरीय स्वरुप हुन भनेर सँस्कृत भाषामा श्लोक नै वर्णन गरिएको छ ।
गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः ।
गुरु साक्षात् परम ब्रह्म, तस्मै श्री गुरुवै नमः ।।

यो सँस्कृत भाषाको श्लोकले गुरुलाई यस सृष्टिको पालनकर्ता, सृजनकर्ता तथा नियन्त्रणकर्ता ब्रह्मा, बिष्णु तथा महेशको संज्ञा दिइएको छ । शिक्षक नै समाजका पथ–प्रदर्शक भई समाजलाई उनीहरुकै अपेक्षानुसार गन्तव्यसम्म पुर्याइ दिने कार्य पनि गर्दछन् । एक जना प्रशिद्ध शिक्षाविद जे. इ. एडम्सले शिक्षक मनुष्यको निर्माता हुन भनेका छन् । अर्का पश्चिमा शिक्षाविद रुफ्रिनले भनेका छन् गुरु मैनवति जस्तै हुन जो आफै जलेर भए पनि अरुलाई प्रकाश दिई रहेका हुन्छन । संसारलाई अत्यन्तै महत्वपूर्ण सिद्धान्त सापेक्षवादको सिद्धान्त (थ्योरी आफ रिलेटिभिटी) प्रदान गर्ने वैज्ञानिक अल्बर्ट आइन्सटाइनले शिक्षण गर्न शिक्षक पेसामा रहँदा शिक्षकलाई यसरी अर्थ प्रदान गरेका थिए, म विद्यार्थीलाई पढाउँदिन म केबल उनीहरुलाई सिक्ने वातावरण मात्र तयार गरि दिन्छु । अहिलेको आधुनिक संसारमा अनेक किशिमका शिक्षकहरु छन् । शिक्षकको बारेमा प्राचिन कालमा अध्यात्मलाई आधार मानेर सर्बेसर्बा शिक्षकलाई अगाडी सारेको दखिन्छ । समय बित्दै जाँदा ती सोच विचारहरुमा क्रमशः परिबर्तन हुँदै गएको देखिन्छ ।

यो वर्तमान विज्ञानको युगमा ज्ञान गुणका कुराहरुलाई व्यवस्थित अध्ययन अनुसन्धानका प्रक्रियाहरुबाट प्राप्त नतिजालाई प्रमाणिक ज्ञानको रुपमा शिक्षकले आफ्ना शीष्यहरुमा बाँड्दछन् । ती तथ्यगत कुराहरुको प्रत्यक्ष रुपमा आफ्नो जीवनमा प्रयोग गरी सहज सुखमय जीवन जीउन सक्षम हुन्थे । जीवनका सन्दर्भहरुमा प्रयोग हुन नसक्ने शिक्षालाई कुनै अर्थमा उपयोगी भन्न मिल्दैन । त्यसैले अहिलेको मानवीय जीवनमा विभिन्न कोणहरुबाट प्रकोपका नाममा होस् वा महामारीको नाममा होस् अनेक नामधारी चुनौतीहरु आई परेका छन् । ती चुनौतीहरुलाई सामना गरी सहज जीवनका लागि शिक्षाले आवश्यक ज्ञान, गुण तथा व्यवहारिक सीपहरु विकास भई सक्षमताको विकास गर्न सहयोग गर्दछ । कुरौटे चरित्र भन्दा श्रमप्रतिको सकारात्मक भाव भएका जनशक्ति उत्पादन गर्न तत्काल अभ्यासमा आधारित पाठ्यक्रम निर्माण गर्न आवश्यक छ । अभ्यासमा निपुण भएका व्यक्तिहरु नै उसको आफ्नो जीवनमा कर्मयोगी कहलाउँछ । यी अपेक्षित सक्षमता विकास गर्ने कुरा कम काम बढी गरौं जस्ता अभिव्यक्तिहरु हामी पुराना पुस्ताहरुबाट सुनेकै होलाउँ । अहिले परिबर्तित पाठ्यक्रममा समावेश भएका अनिवार्य विषयको रुपमा दुईवटा विषयहरु सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा रहेका छन् । परिबर्तित शिक्षा नीतिमा शिक्षालाई विज्ञान तथा प्रबिधिसँग आबद्ध गरी त्यसलाई जीवनसँग साक्षात्कार गराइने छ भनिन्छ । यस सन्दर्भलाई नै बढी ध्यान दिन आवश्यक छ ।

बासी पुरान घोकाउने एउटा सीमा हुन्छ यसको अंश धेरै हुनु भएन । आय आर्जन सीप विकास नगरी त्यतिक्कै प्रमाण–पत्र धारण योग्यको शिक्षाको कुनै अर्थ छैन । बर्तमान समयमा औपचारिक शिक्षा पद्धतिमा दिनका दिन ज्ञान गुणका सन्दर्भहरुमा निरन्तर परिबर्तन भई रहने अवस्थामा प्रत्येकले त्यस अनुसार आफुलाई अद्यावधिक बनाई राख्नु पर्ने अनिवार्यता छ, तर सबैले यस अनुसार आफुलाई अद्यावधिक गर्न सकि रहेका छैनन् । यस आधुनिक संसारमा सम्मानित शिक्षक भएर काम गर्न तथा एउटा पेशागत गुणले परिपूर्ण शिक्षक बन्न अहिलेका सूचना सञ्चारका नवप्रबिधिहरुलाई प्रयोग गरी ज्ञान गुणका तथ्यहरुलाई कुशलतापूर्बक विद्यार्थीहरु समक्ष राख्न सक्ने कला, सीपहरुको विकास अनिवार्य हुनु नै पर्दछ । अहिले त शिक्षक भनेको त्यस्तो व्यक्तित्व हो, जसले बिषयवस्तु र सिकारुका बीच मध्यस्थता गरी एउटा स्थायी सम्बन्ध नै स्थापनका लागि कार्य गर्ने व्यक्ति हो । स्थायी सम्बन्ध भनेको जीवन भरि नबिर्सनेखालका दैनिक जीवनमा प्रयोग गर्न सक्ने खालका ज्ञान, सीप प्रदान गर्नु हो । यस प्रकारको सिकाइ नै दिगो सिकाइ तथा यस्ता शिक्षालाई गुणस्तरीय शिक्षा पनि भनिन्छ । यस प्रकारको शिक्षाको व्यवस्थापन सबै विद्यालयमा हुन सक्यो भने मात्र हाम्रो समाजको उत्थानमा कुनै अवरोध हुन सक्दैन । समाजले एउटा समृद्धिको बाटोमा हिड्न सफल हुन्छ ।

अहिले त झन् शिक्षाबाट यसका सरोकारबालाहरु नयाँ–नयाँ अपेक्षित तथ्यहरु हाम्रा समक्ष मागका रुपमा प्रस्तुत गरी रहेका छन् । शिक्षा त आवश्यकतामुखी हुनु पर्दछ । समाजले के चाहेको छ ? समकालीन समाजले तत्काल, केही समय पश्चात र लामो समय पश्चात के–के चाही रहेका छन् ? यस्ता पक्षहरुको अध्ययन, विश्लेषण गरी ती आवश्यकताहरुको निर्क्यौल गरेर विज्ञ समूहहरुबाट शिक्षा प्रबन्ध गर्न पाठ्यक्रम विकासमा ती चाहनाहरुलाई समावेश गरिनु पर्दछ । शिक्षकका लागि प्रभावकारी शिक्षणका सबै पाटाहरुलाई निर्देश गर्ने मुख्य सामग्री नै पाठ्यक्रम हो । शिक्षाका लागि यसैलाई मूलशास्त्र भनिन्छ । शिक्षकमा भएका क्षमतालाई प्रदर्शन गर्ने काम पनि पाठ्यक्रम कै हो । शिक्षण–सिकाइ प्रक्रियालाई व्यवस्थित बनाउने काम पनि पाठ्यक्रम कै हो । विगतका अनुभवहरुको आधारमा वर्तमानमा उपस्थित भएका समस्याहरुलाई समाधान गर्दै बिज्ञहरुद्वारा प्रक्षेपित समस्याहरुलाई लक्षित गरी पाठ्यक्रम निर्माणका लागि सक्षमताहरु तय गरिन्छ । त्यसैले पाठ्यक्रमलाई शैक्षिक विकासका मूश शास्त्र भनिएको छ । विज्ञहरुले तयार गरेका पाठ् यक्रम, पाठ्यवस्तु तथा पाठ्यसामग्रीहरुको छनौट र संगठनको आधारमा यसलाई स्वीकृत गर्नका लागि कानूनी आधार प्रदान गरिन्छ । स्वीकृत भएको पाठ्यक्रम सँधैका लागि रहने पनि होइन । एउटा निश्चित समय पार गरे पछि पाठ्यक्रम परिमार्जनको प्रक्रियामा जान्छ ।

सामान्यतः विश्वव्यापी अभ्यासमा प्रत्येक वर्ष परिमार्जन गरिन्छ भने पाँच वर्षमा परिबर्तन र दश वर्षमा व्यापक परिबर्तन गरिनु पर्दछ । हाम्रोमा पनि पाठ्यक्रम निर्माण परिमार्जन गर्ने अभ्यास यस्तै समयबद्ध किशिमले भई रहेका छन् । यस्ता सोचनिय तथा महत्वपूर्ण काममा शिक्षकले पनि महत्वपूर्ण भूमिका खेली रहेका हुन्छन् । जस्तो सुकै सामग्री तथा परिबेशको निर्माण भए पनि शिक्षकलाई उनीहरुको क्षमता अनुसारका काम गर्न उत्प्रेरित गर्न सकेनौ भने कुनै अर्थ रहन्न । शिक्षाका सरोकारबालाहरु बीच आवश्यक समन्वय सहयोगको वातावरण तयार गर्न अनिवार्य हुन्छ, अनि पो सबैका आवश्यकता, सबैका संकल्प, सबैका अपेक्षा तथा सबैका सहयोगलाई महत्वका साथ परिचालन गर्न सकिन्छ । यी सबै अवस्थालाई अनुकुल बनाउँदै शिक्षा प्रणालीमा शिक्षक व्यवस्थापनमा हामी कहाँ सफल भयौं र कहाँ हार खानु परेको अवस्था भयो । यसलाई अध्ययन गरी अहिलेसम्मका शैक्षिक समस्याहरु र त्यसका समाधान गर्न पनि सहज हुन सक्छ । शिक्षामा एउटा व्यवस्थित प्रणालीगत किशिमले सञ्चालन गर्नका लागि तत्कालीन पञ्चायती व्यवस्थालाई सुत्रपात गरी गाउँ–गाउँसम्म गाउँ फर्क अभियानको नाम दिई शिक्षाका उज्यालो किरणबाट कोही बञ्चित न होउन भन्ने नाराका साथ नयाँ शिक्षा योजना–राष्ट्रिय शिक्षा पद्धतिको योजना–विद्यालय, महाविद्यालय तथा विश्वविद्यालय शिक्षा प्रणालीको आधार तयार गर्ने काम भएर त्यही आधारमा अहिलेसम्म शैक्षिक विकास भई रहको अवस्था छ ।

यस प्रकार पुराना शैक्षिक आधारमा कसरी समयानुकुल थप निर्माण गर्न सकिएला ? यी प्रश्नहरु हाम्रा सामु छन् । यो असम्भव पनि छैन । यस कार्यलाई पूर्णता दिन सकिन्छ । केही राम्रा अनुभव सहितका संश्मरणहरु जसलाई शैक्षिक विकासका लागि अहिलेसम्म प्रयोगमा ल्याइएका छन् । शिक्षा पद्धतिको विकास र सञ्चालन जस अन्तर्गत सरकारी लगानी गरी शिक्षाका नयाँ–नयाँ कार्यहरु, नवप्रवर्तनहरु तथा व्यवस्थापनहरु गरिएको थियो । शिक्षकहरुको छनौट तथा उनीहरुलाई तालिमको व्यवस्था गरी विद्यालय कक्षा सञ्चालन भएको थियो । अन्य विकसित देशहरुमा सञ्चालन भएका असल अभ्यासहरुको अनुकरण पनि गरिएको थियो । ती असल अभ्यासहरुको कार्यान्वयन गर्न त्यसमा आवश्यक हुने बजेट रकम पनि तत्कालीन अमेरिकी सहयोग नियोगले नै उपलब्ध गराएर पञ्चवर्षीय कार्यक्रमको खाका पनि प्रस्तुत गरेको थियो । प्राबिधिक शिक्षालाई बढी महत्वका साथ सञ्चालन गर्न आवश्यक व्यवस्था गरिएको थियो । त्यसताका शिक्षाका तह पार भएकाहरुमा न्यूनतम् जीवन सीप व्यवहार विकसित भएको पाइन्थ्यो । श्रमप्रतिका सकारात्मक भाव भएका शैक्षिक उत्पादन भएको सुनिश्तता थियो । विदा भएको तथा नभएको बेलामा विद्यार्थीहरु आ–आफ्ना अभिभावकहरुको कृषि कार्यमा सघाउँथ्यो । शिक्षक हुने मापदण्डहरु बनाइएको थियो । शिक्षक हुन दुई किशिमका योग्यता अनिवार्य गरेको थियो । प्राज्ञिक तथा पेसागत योग्यता तोकिएको थियो । शिक्षक प्रबेश विन्दु सहज भएर पनि समय समयमा तालिमका कार्यक्रम लिएर त्यसमा सफल पनि हुनु पर्ने अनिवार्य प्राबधानहरु लागु भएको पनि थियो ।

शिक्षक व्यवस्थापनमा भएका कार्यहरुमा समय परिबर्तन हुँदै गएर परिबर्तन त भएको थियो तर जति हुनु पर्ने त्यो हुन सकेको थिएन । अहिलेको शिक्षा प्रणालीमा पूर्णविराम हटाउन धेरै अवरोधहरुको सामना गरी रहनु पर्ने अवस्था छ । विद्यालयलाई औपचारिक तबरले पूर्बबत कक्षाहरु सञ्चालनमा ल्याउन कठिन भई रहेको सन्दर्भमा सरोकार पक्षहरुले बैकल्पिक विधिहरुको खोजीमा रहेका छन् । बैकल्पिक विधिहरुमा पनि वालवालिकाहरु भएकै स्थानमा शिक्षण सिकाइका अवस्थाको निर्माण गर्नु परेको अवस्था छ । यस कार्यका लागि शिक्षकहरु ती विधि प्रबिधिसँग परिचित हुनु आवश्यक छ । अधिकांश शिक्षकहरुमा सूचना सञ्चार प्रबिधिहरुको उपयोग गरी शिक्षण गर्ने क्षमताको अभाव देखिएको छ । रेडियो, एफ. एम., टि वि आदि सञ्चार प्रबिधिहरुको प्रयोग गरेर विद्यार्थीहरुलाई आ–आफ्नै घरमा बसी बसी सिकाइका अवसर प्रदान गर्ने हो । यसलाई प्रभावकारी बनाउन शिक्षक, अभिभावक, सहपाठी तथा अग्रज परिवारका सदस्यहरुको भूमिका के हुने हो ? यसलाई कानूनी दस्ताबेज (प्रोटोकल) तयार गरी यसको सम्बन्धित सबैलाई अभिमुखीकरण गरी गराई कार्यान्वयनमा ल्याउने अवस्था तय गरिनु पर्दछ । सञ्चारका प्रबिधिलाई उपयोग गरी कक्षा शिक्षण प्रदर्शन सामग्री तयार गर्न विज्ञ शिक्षकहरुको व्यवस्थापन गरेर कार्यरत शिक्षकहरु आ–आफ्ना कक्षामा नै रहने व्यवस्था गरी केही दिनका लागि सिकाइसँगै प्रशिक्षण दिने तथा लिने कामहरु समानान्तर रुपले भई रहनु पर्दछ । कोभिड–१९ संक्रमणको अवस्था कहिले सम्म रही रहने हो यसलाई आँकलन गर्न सकि रहेका छैनन् सम्वन्धित विज्ञहरु । विभिन्न भ्रमात्मक सन्देशहरु हाम्रा समाजमा फेली रहेका छन् । यी अवस्था रही रह्यो भने केही भन्न सकिन्न ।

अहिलेको अवस्थामा कोभिड संक्रमणमुक्त समाजको परिकल्पना गर्न सकिन्न । यसमा अध्ययन अनुसन्धानको क्रम चलाउनै पर्दछ । आगामी आर्थिक वर्ष २०७८ सालमा जनगणनाको कार्यक्रममा प्रत्येक घर दैलोमा गई गणकहरु तथ्याङ्क संकलन फाराममा उपलब्ध मानवश्रोतहरुमा अहिलेको विकट अवस्थामा काम लाग्ने जनशक्तिहरुको विवरणको आधारमा योजना तयार गरी यी दुःखद परिस्थितिबाट मुक्त हुन सकिन्छ । अन्य मुलुकहरुले गरेका असल अभ्यासहरुलाई पनि हामी स्थान दिन सक्दछौं । कार्यरत विज्ञ शिक्षकहरुले पनि वहाँहरुको पेसागत हकहित गर्ने प्रयोजनका गठित संघ,संगठन तथा मञ्च परिषदहरुबाट शिक्षण सिकाइका बैकल्पिक मार्गहरु प्रशस्त गर्ने खालका औपचारिक बहशको आवश्यकता भएको छ । तीन तहका सरकारहरु बीच आर्थिक तथा प्राबिधिक सहयोग, समन्वयका सञ्जाल तयार गरी छिटै निकाश तिर जानु पर्ने हो । अन्यथा यसबाट हाम्रा समाजले धेरै क्षतिका साथै समाजले सामाजिक विकृतिका कारणले दुःख भोग्नु पर्ने स्पष्ट छ ।

[email protected]

Comment


Related News

Latest News

Trending News