अपडेट 
२०७७ आश्विन ५, सोमबार ०६:२५

बन्द भएको सात महिनापछि आजदेखि आन्तरिक उडान सुरु भएका छन् । गएको चैत ९ गतेदेखि बन्द भएका आन्तरिक जहाजले आज बिहानैदेखि देशका विभिन्न ठाउँमा उडान भर्न थालिसकेका छन् । खासमा सरकारले असोज १ गतेदेखि नै लामो दूरीका गाडी र आन्तरिक जहाज उडाउन पाउने निर्णय गरेको थियो ।

तर कुल उडान क्षमताको २५ प्रतिशत मात्रै उडान गर्नुपर्ने प्रावधानको साथमा कुल सिटको आधा क्षमतामा मात्रै यात्रु बोक्ने पाइने निर्णय थपिएपछि वायुसेवा सञ्चालक संघले जहाज नउडाउने निर्णय गरेका थिए । उनीहरुले सुरक्षाका पूर्ण मापदण्ड पालना गर्ने/गराउने तर सबै सिट भरेर उडान गर्न  पाउने माग गरेका थिए । वायुसेवा सञ्चालकको माग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदबाट पारित गराइसकेको छ । आजदेखि नौ दिनसम्म कुल उडानको २५ देखि ३० प्रतिशतसम्म जहाज उड्नेछन् तर पूर्ण सिट क्षमतामै जहाज उड्नेछन् ।

आन्तरिक उडान गर्ने बिमान कम्पनीहरुको संस्था वायुसेवा सञ्चालक संघले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गरेर उडान सुरु गरेको जनाएका छन् । संघका प्रवक्ता योगराज कँडेलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओ, स्वास्थ्य मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण लगायतका निकायबाट जारी भएका सबै मापदण्ड पालना गरेर उडान सुरु गरेको बताउनुभयो ।  

Comment


Related News

Latest News

Trending News