अपडेट 
२०७७ आश्विन ८, बिहीबार ०६:२४

नेपाली काँग्रेसमा निधिको उम्मेदवारीलाई मानिसहरू विभिन्न कोणबाट हेरि रहेका छन् । आजको नेपाली काँग्रेसको अवस्थालाई हेर्दा यसलाई एउटा सक्षम, कर्मठ तथा गतिशील सभापतिको आवश्यकता रहेको देखिन्छ । विपक्ष बलियो हुनु प्रजातंत्रको लागि राम्रो मानिन्छ । विपक्ष बलियो भएन भने सरकार एकाधिकारबादतिर लाग्ने बढी सम्भावना हुन्छ । देशमा समाजवादी शासन प्रणाली ल्याउन नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीलाई बलियो हुनु नितान्त आवश्यक रहेको देखिन्छ । नेपाली काँग्रेसले २०७४ को आम निर्वाचनमा राम्रो प्रदर्शन गर्न सकेन, फलस्वरूप एउटा कमजोर विपक्ष भएर सीमित हुनुपर्यो ।

नेपाली काँग्रेस एउटा पुरानो प्रजातांत्रिक पार्टी हो । नेपाली काँग्रेस कमजोर हुनु भनेको प्रजातन्त्र कमजोर हुनु हो । नेपाली काँग्रेसमा विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाका वाहेकका प्रधानमन्त्रीहरूले सही नेतृत्व दिन सकेको देखिएन । हुनत नेपाली काँग्रेसको बागडोर अधिकाँश समय कोइराला परिवारको वरिपरि घुम्दै रह्यो । केही पछि पश्चिम नेपालका शेरबहादुर देउवा र पूर्वको विमलेन्द्र निधि जस्ता नेताको उदय पश्चात सरकार र पार्टीको नेतृत्वमा हेरफेर भयो । शायद देउवासँग विमल निधिको सक्रिय सहयोग नभेटेको भए, देउवाले सरकार र पार्टीको नेतृत्व लिन सक्ने थिएन होला । पार्टीको आगामी निर्वाचनमा जे जति उम्मेदवार भएपनि मलाई लाग्छ कि निधिको उँच्चाई कुनै नेताभन्दा कम देखिँदैन । आजसम्म उहाँले संघर्षकै जीवनबाट यहाँसम्म आइ पुगेका छन् । विद्यार्थी जीवनदेखि लगातार पंचायती सरकारको विरोधमा उभिनु, प्रजातन्त्र पश्चात अप्रजातांत्रिक क्रियाकलापको विरूद्धमा सडक संघर्षमा आउनु, मधेश केन्द्रीत पार्टीहरूको गलत क्रियाकलापलाई विरोध गर्नुले, उनलाई प्रखर बक्ताको रूपमा लिने गरिन्छ । आफ्नै पार्टी भित्र पनि समय–समयमा गलत निर्णयको विरोध गर्नु, देउवा यहाँकै पक्षमा भएपनि निधि आफू गृहमन्त्री हुँदा आइजीपी नियुक्तिको विवादमा सोझै खडा हुनुले निधिमा आफै निर्णय लिने क्षमता रहेछ भने देखाउँछ ।

यसरी निधिमाथि नेतृत्व गर्ने क्षमता प्रति मलाई लाग्छ कुनै किसिमको शंका विशंका लिने ठाउँ छैन भने हेक्का राख्नु पर्दछ । पारिवारिक परिवेशतिर जाँदा यहाँका पिता महेन्द्र नारायण निधिको नाम नेपालमा मात्रै होइन विदेशमा पनि सुनेकै छ । वहाँ नेपाली काँग्रेसको प्रारम्भिक कालदेखि पार्टीमा निरन्तर लागी रहनु भयो । वहाँ नेपाली काँग्रेसका महामन्त्री समेत भै पार्टीको काम सफलतापूर्वक गरेको इतिहास साक्षी छ । उहाँलाई एक चोटी मध्यावधि निर्वाचनभन्दा पहिले प्रधानमन्त्री समेत बनाउने चर्चा चल्दा तत्कालिन पार्टी अध्यक्ष गिरिजा प्रसाद कोइरालाले निधिलाई प्रधानमन्त्री बनाउनु हुँदैन वरू मध्यावधि निर्वाचन नै उपयुक्त बाटो सम्झेर मध्यावधि निर्वाचनमा पार्टीलाई लग्दा दोस्रो स्थानमा आएर खुम्चिएको कुरा कसैबाट लुकेको छैन । यसरी उनीहरूमा एउटा मधेशी नेतामाथि कति साँगुरो सोच थियो प्रष्टै बुझ्न सकिन्छ । महेन्द्रनारायण निधि कहिले पनि आफ्नो सिद्धान्तबाट तल÷वितल हुनु भएन । वहाँ एक सच्चा गाँधीवादी नेता हुनुहुन्थ्यो । जसको परिवारमा नै काँग्रेसी रगत छ, त्यस्तो व्यक्तिलाई सभापतिमा पाउनु एउटा गौरव कै कुरा हुनेछ । हामी पंचायतकाल तथा वहुदलीय प्रजातान्त्रिककालसम्म के सुनेका थियौं कि गृहमन्त्री र प्रधानमन्त्री मधेशीलाई बनाउनु हुँदैन । यस्ता कुरा गिरिजाप्रसाद कोइरालाको नेतृत्वसम्म टड्कारो रूपमा देखियो । गणतन्त्र स्थापना भएपछि यी कुराहरू विस्तारै हराएर गए । सर्वोच्च पदमा मधेशी बसेपछि यस्ता शंका÷उपशंका हराउँदै गए ।

जहाँसम्म गृहमन्त्रीको कुरो छ, विमलेन्द्रजी खुदै गृहमंत्रीको पदमा सफलतापूर्वक काम गरिसक्नु भएकै छ । राष्ट्रियताको सवालमा मधेशीमाथि औला उठाउने ठाउँ देखिँदैन । भर्खर लिपियाधूरा र लेपुलेक बारे संसदमा मतदान हुँदा राष्ट्रियता के हो ? राष्ट्रियता कहाँ छ ? त्यसको खरो परीक्षामा उत्रेकै देखियो । दक्षिणतिरको सीमा विवादमा मधेशीले बोलेको बोलैछ ! वरू सरकारको आँखा यहाँ सम्म ढिलो पुगेको देखिन्छ । नेपाली काँग्रेसको पदीय जिम्मेवारीको रूपमा देख्दा निधि एउटा केन्द्रीय सदस्य, महामंत्री र उपसभापतिसम्म पुगेकै छ । सभापति वन्नमा कहि कतै कुनै कारण छैन । जहाँसम्म देउवाको कुरो छ वहाँले पनि यहाँलाई अबको सभापति तपाई नै हुनु हुनेछ भनेर आश्वासन दिए पनि अहिले केही पत्र पत्रिकामा देउवा आफै सभापति पदमा उम्मेदवारी दिने इच्छा प्रकट गरेको देख्दा आश्चर्य लाग्नु स्वभाविकै देखिन्छ । यस्ता कथनबाट पछि हट्नु खुदै देउवाको लागि पनि हितमा रहेको देखिँदैन । केही प्रसिद्ध समीक्षकको के भनाइ छ भने अन्तमा देउवा निधिलाई नै समर्थन गर्नु हुनेछ । यी दुबै नेताको विद्यार्थी जीवनदेखिको सम्वन्ध यति छिटो टुट्दैन । हुनत नेपाली काँग्रेस अहिले निकै गुट÷उपगुटमा विभक्त छन् । एउटा गुटले अर्को गुटलाई त लगाउन मात्र लागेका छन् । यी गुट÷उपगुटले गर्दा विपक्षको भूमिकामा आउन सकेको छैन । देउवा, पौडेल, कोइराला, सिंह, थापा, निरौला आदिका गुट÷उपगुटले गर्दा नेपाली काँग्रेसको अवस्था निकै कमजोर भएकोले जनताको वीचमा जान सकेको देखिँदैन । सरकारका कमीकमजोरीलाई उजागर गर्न सकेको छैन । अहिले सभापतिको उम्मेदवारीमा पनि यी गुटगत रूपनै सक्रिय देखिएका छन् । यी सबै नेता सभापतिको उम्मेदवारी दिन घोषणा समेत गरिसकेका छन् । यसरी पदीय प्रतिस्पर्धामा आउनु कुनै नराम्रो कुरो होइन तर निर्वाचन पश्चात पनि यस्ता गुट÷उपगुट कायम रहनु पार्टीको हितमा कदापि ठीक हुने छैन ।

यसले पार्टीलाई कमजोर बनाउनु वाहेक अरू केही गर्न सक्दैन । कुनै पार्टीमा परिवारको इतिहास हेरेर माात्र पदमा राख्नु ठीक होइन । उसले आफू पनि पार्टीमा लगाएको लगानीको मूल्यांकन हुनुपर्दछ । विगतमा देखिएका यस्ता कैयौं उदाहरण छन् जो बुवा, बाजे पार्टीमा गरेका कामले छोरा, नातिसम्म पदमा आसिन भएका छन् । यस्ता प्रणाली पार्टी संचालनका लागि राम्रो प्रणाली मानिँदैन । अहिले कोइराला परिवारबाट सभापतिको उम्मेदवारी दिन तरखरमा रहेका छन् । उनीहरूका काम कारवाहीलाई हेर्ने हो भने निधि जति पार्टीमा खटेको देखिएन । निधि पुरै जीवन पार्टीमै लगाएको लगानीले गर्दा पनि पार्टीको सभापतिको उम्मेदवारीमा यहाँको हक जान्छ । अहिलेको अवस्थामा नेपाली काँग्रेसले निकै चुनौतीको सामना गर्नुपर्ने हुन्छ । पार्टीको गिरेको साखलाई उठाउन पूरै दिलोज्यानबाट लाग्नु पर्ने हुन्छ किनभने नेपाली राजनीतिमा नेपाली काँग्रेसको लाागि अब त्यति सजिलो समय छैन । एकातिर आफैमा गुट उपगुटमा विभक्त हुनु, अर्कोतिर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेर पनि एकजुट हुनुले भविष्यमा नेपाली काँग्रेसको लागि ठूलो चुनौती रहेको देखिन्छ । त्यति मात्र कहाँ हो र ! तराईमा नेपाली काँग्रेसको आधार क्षेत्र भएपनि यहाँ जनता समाजवादी पार्टी, नेपाल अहिले फुटबाट पुनर्जुट भई बलियो रूपमा उभिएको छ जसलाई पछार्नु सामान्य कुरो रहेको देखिँदैन । जसपा तराई, मधेश, पहाड जोड्दै आदिवासी, पिछडावर्ग, दलित, मुस्लिम, थारू आदि समूहलाई एकत्रित गर्दै अगाडि बढी रहेछ । यस्ता बलिया पार्टीहरूसँग प्रतिस्पर्धा गर्नु सजिलो कुरा होइन, तसर्थ एउटा कर्मठ, गतिशील, अनुभवी नेताको खाँचो छ जसलाई निधि बाहेक कसैले पूरा गर्ला जस्तो लाग्दैन । तराई–मधेश नेपाली काँग्रेसको आधार स्थल रहेकोमा अब त्यस्तो अवस्था छैन ।

यसलाई पुनः फर्काउन निधि जस्तो नेताको आवश्यकता छ । मधेश विना नेपाली काँग्रेस बलिया हुन सक्दैन । काँग्रेसमा मधेशी प्रतिको जो सोच छ त्यो पनि परिवर्तन हुन आउँछ । मधेशले बुझछ कि अब उप्रान्त मधेशी सपूत पनि पार्टीको सर्वोच्च पदमा जान सक्छ । विगतमा महेन्द्रनारायण निधिसँग भएको बेइमानी अब हुँदैन । निष्कर्षमा नेपाली काँग्रेसले विचार गरोस र विमल जस्तो प्रतिभावान, कर्मठ, अनुभवी, गतिशील नेतालाई पार्टीको सभापतिमा राख्दा भोलीको दिन अवश्य पार्टीको लागि उज्यालो दिन हुनेछ । मान्छे काम हेरेर नै आशा गर्छन् । निधिको काम प्रत्येक क्षेत्रमा निर्विवाद रहेको छ । यहाँसँग संगठन छ । स्थानिय स्तरमा कार्यकर्ता छन् । जस्तो सुकै समयमा पनि यी कार्यकर्ता निधिलाई साथ छोडेका छैनन् । तसर्थ यहाँलाई सभापतिको पदमा राख्दा कसैको विमति हुनुहुँदैन । अस्तु ।

लेखक : डा. रामसागर पंडित

Comment


Related News

Latest News

Trending News