अपडेट 
२०७७ आश्विन ९, शुक्रबार १२:३३

लगातारको वर्षापछि यहाँका नदी तथा खोलाहरूमा पानीको बहाव बढेपछि तटीय बस्ती जोखिममा परेका छन् । प्रदेश २ मा बग्ने खाडो, महुली, बलान, त्रियुगा, जितालगायत नदी–खोलामा बाढी आएको छ ।

सप्तरी र सिरहामा थप वर्षा हुन सक्ने भन्दै सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ । यहाँका खाडो, बलान, महुली, खुटीलगायतका नदीमा आकस्मिक बाढी आई तटीय र होचा क्षेत्र डुबानमा पर्न सक्ने भन्दै विभागले सचेत गराएको हो ।

पछिल्लो समय राजविराज र बरमजियालगायत सप्तरीको धेरै स्थान र सिरहाका केही स्थानमा ठूलो वर्षा भएको छ । मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ८ बजे जारी गरेको सूचनाअनुसार तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म सतर्क रहनुपर्ने उल्लेख छ ।

खाडो खोलामा पानीको सतह अत्यधिक बढेसँगै तिलाठी–कोइलाडी गाउँपालिकाको वडानम्बर १ को बेल्ही टोलमा बाढी पस्ने जोखिम रहेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताउनुभयो ।

अविरल रुपमा वर्षा जारी रहेको तर पानीको उपयुक्त निकास नहुँदा सदरमुकाम राजविराजको वडा नम्बर ५ का १ सय घरमा पानी पसेको वडाध्यक्ष समीरकुमार झाले जानकारी दिनुभयो । वडा नम्बर ६ मा पनि ५० घरमा पानी पसेको वडाध्यक्ष प्रेम यादवको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News