अपडेट 
२०७७ आश्विन ११, आईतवार १२:५४

सम्झौता अनुसार काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाहीको प्रक्रिया शुरु गरिएको छ । लामो समयदेखि सम्झौता गरेर समयमै काम सम्पन्न नगर्ने विभिन्न २१ निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको हो ।

सडक डिभिजन कार्यालय हेटौंडाले मकवानपुर, बारा र पर्सा जिल्लामा सडक निर्माण र मर्मतलगायतका सम्झौता बमोजिम काम नगर्ने कम्पनीसँगको सम्झौता रद्द गरी आवश्यक कारवाही शुरु गरेकोहो। कार्यालय प्रमुख योगेश सुमनले २०६६ चैत अर्थात ११ वर्ष अगाडि सडक निर्माण तथा मर्मत ठेक्काको सम्झौता गरेका निर्माण व्यवसायीलाई पटक पटक सूचना गरेपनि सम्पर्कमा नआएकोले बाध्य भई कारबाहीमा जानु परेको जानकारी दिनुभयो ।

कालो सूचीमा राख्ने प्रक्रिया अन्तर्गत मकवानपुरका ७, पर्साका ६, बाराका ३ र काठमाडौंका १ निर्माण व्यवसायी कम्पनी छन् । ती कम्पनीसँगको सम्झौता आर्थिक वर्ष २०६५/०६६ देखि २०७०/०७१ सम्मको रहेको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद ऐन–२०६३ को दफा ५९ अनुसार सम्झौता अन्त्य गरिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख सुमनले बैंक जमानत जफत गरी बाँकी कामको रकम असुलउपर गर्ने र कालो सूचीमा राखी कारवाही प्रक्रिया बढाउने निर्णय भएको पनि जानकारी दिनुभयो । सम्झौता गरेर काम नगर्ने थप अन्य निर्माण व्यवसायी कम्पनीलाई पनि कारबाहीको दायरामा ल्याउने बताइएको छ ।

निर्माण व्यवसायी हरिराम शाहले ठेकेदार कम्पनीको अस्वस्थ्य प्रतिस्पर्धा तथा बोलपत्र तल झरेर काम लिने र काम गर्न नसकेपछि सम्पर्कमा नआउने प्रवृत्ति समेत रहेको बताउनुभयो । एकैपटक धेरै बोलपत्र लिने र आफूले काम गर्न नसकेपछि अरुलाई दिने पनि समस्या रहेको प्राविधिकको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News