अपडेट 
२०७७ आश्विन १२, सोमबार १०:१८

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे पुनः लकडाउन गर्न सक्ने जनाएपछि त्रिविले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिन सक्ने व्यवस्थासहितको तयारी थालेको हो ।

त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले सरकारले पुनः लकडाउन गरे घरपायकको क्याम्पसमा भए पनि परीक्षा दिने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । त्रिविको परीक्षा सञ्चालक समितिको बैठकले मंसिरमा परीक्षा गर्ने गरी सबै तयारी गर्न डीन कार्यालयलाई निर्देशन दिएको थियो । डीन कार्यालयले सबै क्याम्पसलाई परीक्षाको तयारी थाल्न निर्देशन दिएसकेको छ ।

डीन कार्यालयले सबै क्याम्पसका विद्यार्थीको अवस्थाबारे जानकारी लिइसकेको छ । कुन विद्यार्थी कहाछन् लकडाउन खुलेसँगै राजधानी वा क्याम्पससँग सम्पर्क गरेका छन् कि छैनन्लगायतका विषयमा समेत अध्ययन भइरहेको रजिस्ट्रार दाहालले जानकारी दिनुभयो । दशैंअघि यथार्थ विवरण आएपछि मोडलको बारेमा जानकारी दिइने उहाँले बताउनुभयो ।

पनिकाले अनलाइन वा अन्य विश्वविद्यालयकै जस्तै निश्चित समय दिएर ओपन बुक मोडलमा परीक्षा लिने तयारीसमेत गरेको छ । यो मोडलमा परीक्षा हुनु केही मिनेटअघि क्याम्पसले इमेलबाट प्रश्नपत्र पठाउने र विद्यार्थीले तोकेको अवधिमा फोटो खिचेर वा स्क्यानिङ गरी उत्तरपुस्तिका पठाउनुपर्ने हुन्छ । परीक्षाका प्रमुखसमेत रहनुभएका रजिस्ट्रार दाहालले पहिलो चरणमा स्नातकोत्तर तहका करिब २५ हजार विद्यार्थीको परीक्षा लिने विषयमा छलफल भइरहेको उल्लेख गर्नुभयो ।

उहाँले प्राइभेट, एमपीए र राजनीतिशास्त्रका अन्तिम वर्षका विद्यार्थीको संख्या अधिक भएकाले पहिलो चरणमा सो तहको परीक्षा लिनुपर्ने बताउनुभयो । तर परीक्षाका वैकल्पिक विधि अपनाउन नसक्दा भदौदेखि सञ्चालन गरिने भनेको परीक्षा अझै अनिश्चित कायमै छ ।

Comment


Related News

Latest News

Trending News