अपडेट 
२०७७ आश्विन १२, सोमबार १५:४९

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ हप्तामा दुई दिन बिदा दिनेबारे अध्ययनका लागि सरकारले कार्यदल गठन गरेको छ ।

कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि पर्यटन मन्त्रालयले कर्मचारीलाई हप्ताको दुई दिन बिदाको अवधारणा अघि सारेको हो । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सरकारी र सार्वजनिक कार्यालयमा सातामा दुई दिन बिदा दिनेबारे छलफल भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विभिन्न कार्यक्रममा बताउँदै आएका छन् । पर्यटन मन्त्रालयले हप्तामा दुई दिन बिदा दिने व्यवस्थामा छलफल चलाए पनि संसदीय समितिले संघीय निजामती सेवासम्बन्धी विधेयक मस्यौदामा यस्तो व्यवस्था स्वीकार नगरेको अवस्था छ । राज्य व्यवस्था समितिले भने सो विधेयक पारित गरिसकेको छ तर, प्रतिनिधि सभामा सो विधेयक पेश भएको छैन । हाल गठित कार्यदलले काम सुरु गरिसकेको छ भने उक्त कार्यदलले २ महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्नुपर्ने छ । पर्यटन मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा विभागका निर्देशक, पर्यटन बोर्डको कार्यकारी अधिकृत, अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयको प्रतिनिधि सम्मिलित छन् ।

नेपालमा सार्वजनिक बिदा धेरै रहेको अवस्थामा हप्तामा दुई दिन बिदा दिँदा वर्षमा अर्को ५२ दिन बिदा थपिने भएकाले सेवा प्रवाहमा यसले कस्तो असर गर्ला भन्नेबारे गम्भीर भएर अध्ययन गर्नु जरुरी रहेको छ ।

Comment


Related News

Latest News

Trending News