अपडेट 
२०७७ आश्विन १४, बुधबार १७:०६

त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ खरिद-बिक्रीमा संलग्न परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारी रामबहादुर कर्माचार्य, विद्यार्थी सुरेन्द्र कोइराला र केदार भट्टराईलाई विशेष अदालतले जरिवाना र कैद सजाय सुनाएको छ।

असाेज १३ गते विशेष अदालतका अध्यक्ष न्यायाधीश शिवराज अधिकारी, सदस्य न्यायाधीशहरू बालेन्द्र रूपाखेती र रवि शर्मा अर्यालको इजलासले परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको भन्दै उनीहरूलाई भ्रष्टाचारी ठहर गरेको हो। एक वर्षअघि त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ खरिद–विक्रीमा संलग्न तीनै जनालाई अख्तियारले मुद्दा चलाएको थियो। विशेष अदालतले सुरेन्द्र कोइरालालाई १४ महिना कैद र ४ लाख ५७ हजार रुपियाँ जरिवाना, केदार भट्टराईलाई ११ महिना कैद र ३ लाख ५ हजार रुपियाँ जरिवाना अनि रामबहादुर कर्माचार्यलाई १ लाख ५५ हजार रुपियाँ जरिवाना र ११ महिना कैद सजाय सुनाएको प्रवक्ता पुष्पराज पाण्डेले बताए ।

कर्माचार्यले स्नातकोत्तर तहको इकोनोमिक्स, ग्रामीण विकास र समाजशास्त्रका संकायका १५ वटा पेपरमा कोइरालालाई ३ देखि ५० नम्बरसम्म थपिदिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। कोइरालालाई त परीक्षा नै नदिएको समाजशास्त्रमा समेत कर्माचार्यले नम्बर दिएको भेटिएको थियो। कोइरालाबाट १ लाख ५० हजार लिएर २ सय २४ अंकसम्म थपिदिएको तथ्य खुल्न आएको अख्तियारले दायर गरेको अभियोगमा उल्लेख छ। अख्तियारको अभियोगपत्रमा उल्लेख भएअनुसार कोइरालाले पैसा दिएर अंक थप्न लगाई सन् २०१९ को दीक्षान्त हुँदा उनले गोल्डमेडल पाएको, ग्रामीण विकासमा प्रथम श्रेणी र समाजशास्त्रमा भने परीक्षा नै नदिई पास भएको देखिएको थियाे ।

Comment


Related News

Latest News

Trending News