अपडेट 
२०७७ आश्विन १५, बिहीबार ०९:१२

प्रहरीले नेपाल–भारत सीमाबाट २ किशोरीको उद्धार गरेको छ । कोशी गाउँपालिकाको वडानम्बर ८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट किशोरीहरुलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती २ किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्धार गरेको नायव उपरीक्षक कार्कीले बताउनुभयो । शंका लागेर सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका २ पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उद्दार गरिएकामा १९ र २२ वर्षकी दुई किशोरी रहेका छन् । भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका वडानम्बर ४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका नम्बर १९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीको भनाइ छ ।

नियन्त्रणमा लिएका एकले आफू किशोरीको आफन्त रहेको प्रहरी समक्ष बयान दिएका छन् । नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पूजाका लागि भारत लैजाने सहमति अनुरुप आफू सुरक्षाका लागि सँगै आएको भनी उनले प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । सीमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याइएको युवतीले प्रहरी समक्ष बताएका छन् । भारततर्फ लैजानु पूर्व उनीहरुको उचाइँसमेत नापिएको थियो । त्यसैगरी हातको रेखासमेत हेरी पुजाका लागि योग्य भनी ठहर गरिएको थियो ।

सीमापारी नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पूजाकाे बेला ध्यानमा बसेवापत २ लाख रकम दिने भनिएको थियो । चौधरी थर भएका युवतीहरु निकै सोझा रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News