अपडेट 
२०७७ आश्विन १६, शुक्रबार १४:०५

भारत सरकारद्वारा नेपालका ३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र छ वटा बस उपहार स्वरुप प्रदान गरिएको छ ।

महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा नेपालका लागि भारतका राजदूत महामहिम विनय मोहन क्वात्राले दूतावास परिसरमा विभिन्न संघ संस्थालाई एम्बुलेन्स र बस उपहार प्रदान गरेका हुन् । यसअघि क्वात्राले महात्मा गान्धीको प्रतिमामा पुष्प गुच्छा अर्पण गरी भावपूर्ण श्रद्घाञ्जली अर्पण गरेका थिए ।

एम्बुलेन्स र बस पाउने ती संघ संस्थाहरु नेपालका दुर्गम जिल्ला लगायतका विभिन्न ३० जिल्लामा छरिएर रहेका छन् । विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न हेतु दूतावासले विगत लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहार स्वरुप प्रदान गर्दै आएको छ । सन् १९९४ देखि आज सम्म भारतीय राजदूतावासले झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ ।

प्रदान गरिएको एम्बुलेन्समा ट्राभलिङ्ग भेन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस आदि छन् । यस्तै एम्बुलेन्समा फोर व्हील प्रणाली जडान भएकाले यी एम्बुलेन्सहरु पहाडी तथा हिमाली क्षेत्रका लागि उपयुक्त छन् ।

यसैगरी आज छ जिल्लाका शैक्षिक संस्थाहरुलाई वितरण गरिएका छ बस गरी हालसम्म दूतावासले नेपालभर १६० वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको छ । नेपालले स्वास्थ्यको क्षेत्रमा विशेषगरी आकस्मिक चिकित्सा सेवाको क्षेत्रमा गरेको प्रयासमा भारत सरकारले जारी राखेको निरन्तर सहयोग अनुरुप आज उक्त एम्बुलेन्स तथा बसहरु प्रदान गरिएको हो । यसले विद्यार्थीलाई आफ्नो सिकाई स्थलसम्मको पहुँचलाई सरल बनाएको छ ।

Comment


Related News

Latest News

Trending News