अपडेट 
२०७७ आश्विन १७, शनिबार ०६:१९

कोरोना कहर उत्कर्षमा पुग्दैछ । संघीय ब्लग सरकार बन्दा बन्दी खुकुलो पारे पनि कोभिड– १९ संक्रमितहरुको संख्या भने दिनानुदिन बढदो छ । निरन्तर बढदो कडा खालका संक्रमित व्यवस्थापन गर्न तीनै तहका सरकार असफल देखिएका छन् । सरकारको तयारी ‘ टांईटाई फिस ’ प्रमाणित हुदै छ ।

पछिल्ला पटक नेपालमा भारत भन्दा पनि संक्रमितको औषत बढि देखिएको छ । सेप्टेम्बर २८ का दिन भारतमा २१ लाख ४२ हजार ८ सय ११ जनाको पिसीआर जा“च गर्दा ७० हजार ५ सय ८९ जनामा कोभिड १९ पोजिटिभ देखिएको थियो भने सोहि दिन नेपालमा १० हजार ८० जनाको पिसीआर जा“च गर्दा १ हजार ३ सय ५१ जना पोजिटिभ देखिएका थिए । सोझो शब्दमा भनौ भने भारतमा औषत संक्रमितको संख्या ६ दशमलव १७ थियो भने नेपालमा १३ दशमलव ४१ अर्थात् झण्डै दोब्बर । दुई देशमा संक्रमणमुक्त हुनेको औषतमा पनि ठुलो अन्तर छ । भारतमा सकृय संक्रमितको १५ दशमलव ४ प्रतिशत छ भने नेपालमा २६ दशमलव ८ प्रतिशत । यस तथ्यांकले के देखाएको छ भन्ने खुला सीमाको कारण भारतबाट कोभड संक्रमण फैलियो भन्ने नेपाली नेताहरुको भाषणवाजी आफ्नो निकम्मापन ढाकछोप गर्नलाईमात्र हो । खुला सीमाको कारण दुई देशबिच संक्रमणको प्रसार नभएको होईन तर उपचारपछि निको हुने यस भाइरसको संक्रमणबाट जोगिन सरकारले गर्नु पर्ने तयारी भरपर्दो देखिएन । बन्दा बन्दी खुकुलो छ ।

छोटो तथा लामो दूरीका सवारी साधनहरु संचालन भएका छन् । होटल,रेष्टुरेन्ट खुला छ । हवाई सेवा सुचारु छ । अर्को शब्दमा भनौ भने स्कूल कलेजवाहेक सम्पूर्ण सेवा तथा निकाय खुली सकेको छ । तर कोरोना संक्रमणको दर भने बढेको बढ्यै छ । अर्कोतर्फ गाउ“ सहरमा ठुलै मेला लाग्ने , जलसा हुने तथा सामुहिक भोज भतेर हुने दशैं , तिहार, दीपावली , छठ जस्ता पर्व त्यौहारहरु पनि आउ“दै छ । जनस्वास्थ्यविद्हरुले पर्व त्यौहारको मौसममा संक्रमणदर बढने चेतावनी दिई सकेका छन् । अतः पर्व त्यौहारमा न्युनतम् जमघट हुने योजना तथा कार्यनिती बनाउनु तीनै तहका सरकार ,नागरिक समाज तथा गैर सरकारी संघ संस्थाहरुको दायित्व हो । यस दायित्वलाई निर्वहन गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा हालै बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यस वर्षको दशैंमा जनकपुरको राजदेवी मन्दिरसहित धनुषाका अन्य गाउ“–नगरमा हुने बोकावलि निःषेध गर्ने निर्णय गरेको छ । स्थानीय युवा क्लवका पदाधिकारीहरु समेत सहभागी रहेको उक्त सर्वपक्षीय बैठकले गरेको निर्णयबाट जनकपुरमा अचेल बबाल सृजना भएको छ ।

एकथरिले स्थानीय प्रशासनको निर्णयलाई स्वागत गर्दै बोकावलि प्रथानै अन्त्य गर्नु पर्ने राय व्यक्त गरेका छन् भने अर्कोथरिले पूर्खाको पालादेखि चल्दै आएको बलिप्रदा अन्त्य गर्न नहुने दावी गरेका छन् । यता राजदेवी ,अमरखनामाई तथा बौधीमाईसहितका महत्वपूर्ण शक्तिपीठहरुको साज– सृंगार , पूजा– आजा तथा बोकावलिसमेतको व्यवस्थापन गर्दे आएको श्रीराम युवा कमिटि तथा महाबीर युवा कमिटिका पदाधिकारीहरु मौन छन् । कोही केही बोल्ने अवस्थामा छैनन् । दशैको मौसममामात्र तात्ने यी युवा क्लवहरुको मूल आयश्रोत भने बोकावलिबाटै हुदै आएक थियो । राजदेवी मन्दिरमा १८ हजारसम्म बोकावलि प्रदान गरिएको इतिहास छ । गतवर्ष १४ हजार ६ सय बोकावलि प्रदान गरिएको थियो । प्रतिबोका २ सयको दरले जोडने हो भन्ने दुबै युवा क्लव बोकावलिबाटै २९ लाख २० हजार आम्दानी गरेको देखिन्छ । यसका अतिरीक्त दशैं मेला आयोजन गर्न नागरिक समाजबाट पनि आर्थिक तथा भौतिक सहयोग प्राप्त हुदै आएको छ । आर्थिक अपारदर्शिताको आरोप झेल्दै आएका यहा“का युवा क्लवहरुका पदाधिकारी तथा स्वयंसेवकहरुको लागी दशैं प्रतिभा प्रदर्शन गर्ने मौका पनि हुन्छ ।

दशैंको दश दिन यी क्लवसम्बद्ध युवा युवतीहरु पूजा– पाठ,साज–सृंगार तथा बोकावलिलगायतका उपक्रममा कडा मेहनत गर्छन । युवा युवतीहरुको यस जोसलाई सराहना गर्नैपर्ने हुन्छ । दशैं आउन अब दुई सातामात्र बा“की छ । राजदेवी मन्दिरमा भाकल गरेकाहरु बोकावलि प्रदान गर्छन । कोही लामोसमयदेखि बोका पालेर राखेका हुन्छन् । कोही दशैंमा महगो मूल्यमा बिक्री गर्न बोका पालेका हुन्छन् । बोकावलि प्रदान हुने नहुने अन्यौलले श्रद्धालुसंगै बोकापालक किसानहरु समेत अन्यौलमा परेका छन् । कारण बलिप्रदान गर्न भनि पालिएको बोकाको बलि प्रदान हुन सकेन भने थप एक वर्ष पाल्नु पर्ने हुन्छ । अतः बोकावलि प्रदान हुने नहुने विषयको प्रत्य जानकारी गराउने दायित्व श्रीरामयुवा कमिटि तथा महाबीर युवा कमिटिको जिम्मा छ । सामाजिक दायित्व निर्वाह गर्दै दुबै संस्थाले संयुक्त विज्ञप्ति प्रकाशित गरी आम श्रद्धालुलाई यस विषयमा प्रष्ट पार्नु आवश्यक देखिन्छ । कथंकदाचित बोकावलि प्रदान गरिएन भने धार्मिक रुपले अर्को समस्या पनि उत्पन्न हुन आउ“छ त्यो के भने पारम्परिक रुपले बोकावलि प्रदान गद आएको राजदेवीलाई एकाएक वलि प्रदान गर्न रोक्नु शास्त्रीय तथा लौकिक रुपले उचित हुन्न ।

इटहर्वास्थित प्राणेश्वरनाथ मठका महन्त शिवनारायण पुरीका अनुसार प्राणेश्वरनाथ मठमा महादेवसंगै वालासुन्दरी भगवती , दुर्गा तथा भैरवको पूजा हुन्छ । दशैमा उक्त मठमा पनि बोकावलि प्रदान गरिन्थ्यिो । पछि उनका दादा गुरु जयकृष्ण पुरीले पशुवलि बन्द गराउनु भएको थियो । तर पशुवलि बन्द गराउदा तान्त्रिक विधिद्वारा क्षमापूजा गर्नु परेको महन्त पुरीले बताए । मिथिला भूमिमा मातृ शक्तिको रुपमा भगवति (दुर्गा,कालीआदि) को पूजा गर्ने विशेष परम्परा छ । यस भू—भागमा वसोवास गर्ने प्रायः सम्पूर्ण आस्तिक हिन्दुको घरमा गृहदेवी (गोसाञुनि) को रुपमा पहिलो पूजा भगवति (शक्ति) लाई नै गरिन्छ । जहाँ शक्ति पूजन हुन्छ , त्यहाँ वलि प्रदान गरिनु अस्वाभाविक होईन । शक्ति पूजनमा वलि प्रदान तथा मद्यमांस सेवन गर्ने चलन नया“ होइन । महाकवि विद्यापति भगवतीको कालीको रुप वर्णन गर्दै लेख्नु भएको छ — ‘वासन रैनि सवासन सोभित,चरण चन्द्रमणि चूडा । कतओक दैत्य मारि मुँह मेलल,कतओ उगिलि करु कूडा ।।’ अर्थात भगवति काली रात—दिन मूर्दाको आसनमा विराजमान हुन्छिन । अनेकौ दैत्य (दुष्ट ) लाई भक्षण गर्छिन अनि मुखबाट फाल्छिन ।

जो स्वयं मूर्दामाथि आसन जमाएकी छिन । दैत्य दानवहरुलाई काँचै भञ्जन गर्छिन , त्यस देवीलाई वलि प्रदानबाटै प्रशन्न पार्न सकिन्छ , भन्ने मतका समर्थकहर थुप्रै छन् । ऋग्वेदमा हाथी, घोडासमेतलाई वलि प्रदान गर्ने विधान छ तर भगवतिको वैष्णवीको पूजापनि गर्न सकिन्छ । यसका लागी कुष्माण्डा(मुम्हड), नरिवल तथा खीरआदिको वलि दिने गरिन्छ । शास्त्रमा भनिएको छ —‘ ब्राम्हणो पायसः वलि’ अर्थात ब्राह्मणलाई खीर वलिको रुपमा प्रदान गर्नु पर्दछ । विभिन्न शास्त्रहरुमा वर्णन भए अनुसार केही साधकहरु आफ्ना रगतसमेतको वलि दिने गर्छन —‘ निज गोत्रेसु गुच्छीतम् ।’ जनकपुरमात्र होइन , दशैंमा पशु पंक्षीको वलि प्रदान गर्ने परम्परा नेपाल र भारतलगायतका अनेकौ देशमा छ । कोरोनाकालमा स्थानीय प्रशाशन र सरकारले स्थानीय अवस्था , रितिरिवाज तथा परम्परालाई दृष्टिगत गरी पशुवलि बारे निर्णय गर्नुपर्ने हो । फेरी पनि भन्न चाहन्छु – बोकावलि व्यवस्थापन गर्ने दुबै क्लवका पदाधिकारीहरुले वलिप्रदान हुने नहुने विषयमा समयमै प्रष्ट जानकारी दिनु पर्दछ । आमनागरिक अन्यौलमा पर्नु उचित होईन ।

Comment


Related News

Latest News

Trending News