अपडेट 
२०७७ आश्विन २०, मंगलवार ०६:४३

प्रदेश ५ को प्रदेशसभा बैठकमा तोडफोडमा संलग्न पार्टीका सांसदलाई नेपाली काँग्रेसले कारबाही गर्ने भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को प्रदेशसभामा भएको कुर्सी तोडफोडमा संलग्न हुने सासंदलाई कारबाही हुने बताउनुभएको हो । सोमबार साँझ ट्विट गर्दै प्रवक्ता शर्माले प्रदेशसभामा भएको तोडफोडको घटना कांग्रेसको नीति तथा संस्कृति विपरित भएको बताउनुभएको छ ।

प्रदेश ५ को प्रदेशसभामा सोमबार दिउँसो नेपाली कांग्रेसका तीन सांसदहरूले कुर्सी तोडफोड गरेका थिए । आफूहरूसँग कुनै छलफल नै नगरी एकतर्फी रूपमा प्रदेश ५ को राजधानी दाङ तोक्ने प्रक्रिया अघि बढेपछि आक्रोशित बनेका कांग्रेस सांसदहरूले नाराबाजी गर्दै कुर्सी तोडफोड गरेका थिए । प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत रहेको प्रवक्ता शर्माले ट्विटमा लेख्नुभएको छ ।

उहाँले कुनै पनि सांसदहरूलाई पार्टीको संस्कृति उल्लंघन गर्ने स्वायत्तता नदिइएको समेत उल्लेख गर्नुभएको छ । संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यता भएपनि कांग्रेसका लागि रोजाइको पद्धति भन्दै प्रवक्ता शर्माले आफ्ना नेताहरूको गल्तीलाई छिटफुट भनेर नछोप्ने प्रष्ट गर्नुभएको छ । कुर्सी तोडफोडमा रुपन्देही ४ ‘ख’ बाट प्रत्यक्ष विजयी वसिउद्धिन खाँ,नवलपरासीका वैजनाथ कलवार र रुपन्देहीकै अष्टभूजा पाठक रहेका छन् ।

Comment


Related News

Latest News

Trending News