अपडेट 
२०७७ आश्विन २०, मंगलवार ०९:२१

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (मंगलबार) बस्दै छ ।

पटक–पटक स्थगित हुँदै आएको नेकपा सचिवालय बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाउने र मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल हुनेछ ।

सोमबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा हाल खाली रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने विषयमा केही सहमति बनेको बुझिएको छ । आजको बैठकमा खाली रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालयमा पठाउने व्यक्तिको बारेमा छलफल हुनेछ । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएपछि नेकपामा असन्तुष्टि देखिएको छ ।

आजको बैठकमा डा. खतिवडासँगै अन्य राजनीतिक नियुक्तिका विषयमा पनि छलफल हुने नेकपाले जनाएको छ । नेकपाले सचिवालय बैठक शनिबार नै बोलाइएको थियो । तर, तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो ।

तर, शनिबार दिउँसो प्रधानमन्त्रीका प्रेस सल्लाहकारसहित सुरक्षार्थ खटिएका ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि आइतबारको लागि बोलाइएको सचिवालय बैठक पुनः स्थगित भएको थियो ।

Comment


Related News

Latest News

Trending News