२०७७ आश्विन २१, बुधबार ०६:०४

असार महिनादेखि सरकारले वैकल्पिक विधिबाट शिक्षा दिन सुरुआत गरेको थियो । विभिन्न टेलिभिजनहरु, एफएम रेडियो तथा अन्य वैकल्पिक माध्यम अपनाएर विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने अनेक उपाय गरेको देखिएको थियो । जूम प्रविधिबाट पनि शैक्षिक गतिविधिलाई अगाडि बढाउने प्रयास नभएको होइन । तर यथार्थमा खासै उपलब्धिमूलक हुन नसकेको हाम्रो सामाजिक यथार्थ हो ।

रेडियो तथा टेलिभिजन र जूम प्रविधिमा विद्यार्थीको आकर्षण नै खासै देखिएन । हो, केही सहरी क्षेत्रमा यो विधि केही प्रभावकारी नभएको होइन । रेडियोको पहुँच भएको क्षेत्रमा पनि रेडियोको पढाइप्रति खासै आकर्षण देखिएको पाइएन । अपेक्षाअनुसारको उपलब्धि हासिल हुन नसकेको गुनासो चारैतिरबाट सुनिएको छ । टेलिभिजनमा सबैको पहुँच नहुनु तथा जूम प्रविधिका आफ्नै किसिमका प्राविधिक कठिनाइहरु हुनु स्वाभाविक हो । हाम्रो तराई मधेसका विद्यार्थीलाई कतिपयको हातमा मोबाइल देखिए पनि जूम प्रविधिमा जोडिएर पढ्न रुचाएनन् । अभिभावकले पनि आफ् ना सन्तानलाई प्रविधिमार्फत शिक्षा दिन सकिन्छ भन्नेतर्फ तयार बनाउन सकेनन् । अझ कतिपय परिवारमा एउटा मात्र मोबाइल हुनु र त्यो मोबाइल सन्तानलाई दिन नसकिने अवस्था पनि उत्पन्न भएको देखिएको छ । अभिभावक विपन्न छन् र अशिक्षित छन् । यस अवस्थामा प्रविधिमार्फत पढाउने कुरा कतिपय अभिभावकको क्षमताभन्दा टाढा पनि हुन जान्थ्यो । तर शिक्षित अभिभावकले पनि आफ् ना सन्तानलाई प्रविधिमार्फत भइरहेको पढाइप्रति अभिरुचि जगाइराख्न सकेनन् । यसको प्रभाव के देखियो भने धेरै अभिभावकले सन्देह प्रकट गर्न थाले कि प्रविधिमार्फत पढाइ प्रभावकारी हुन सक्दैन वा हुन सकेन ।

टोलटोलका विद्यार्थीलाई बोलाएर पढाउने कुरा पनि आएको हो । हरेक टोलमा पुगेर शिक्षकले कसैको घर वा नजिकको कुनै सार्वजनिक ठाउँलाई सिकाइ केन्द्र बनाउन सकिने कुरा हो । वास्तवमा यो निकै राम्रो पनि हो । एक टोलका विद्यार्थी आफ्नै टोलमा आउने शिक्षकसित पढ्नु पर्ने । कपितय ठाउँमा यो विधि सञ्चालनमा आएको पनि थियो र सम्भवतः अहिलेसम्म चलिरहेको पनि छ तर धेरै ठाउँमा अभिभावकहरुले यसलाई व्यावहारिक मानेनन् । अझ महिला शिक्षकको हकमा त गाउँ देहातमा झन् अप्ठ्यारो हुने कुरा कतिपय महिला शिक्षकबाटै आउन थाल्यो । बिहान वा साँझ आफ् नो टोलबाट अर्को टोलमा पढाउने पालो परेको दिन जाँदा वा फर्किदा बाटैमा डराउनु पर्ने चिन्ता व्यक्त भएको पनि नपाइएको होइन । अझ कतिपय ठाउँमा त अभिभावकले नै टोल शिक्षण उचित नभएको भनी गुनासो पनि गरे । सामुदायिक विद्यालयका शिक्षकलाई टोलटोलमा पुग्न अलिक सजिलो पनि छ तर संस्थागत विद्यालयका शिक्षकलाई यो समस्या जस्तो भएको थियो । एउटा चर्चित संस्थागत विद्यालयका एक संस्थापकले बडो मार्मिक किसिमले भनेको सुनियो – हाम्रो विद्यालयमा साना ठूला गरी साठीभन्दा बढी टोलका विद्यार्थी छन् तर शिक्षक करिब पच्चीस जना । कसरी पु¥याउने होला ?

अझ विद्यालयभन्दा दश बारह किलोमिटर टाढाका विद्यार्थी पनि छन् । संस्थागत विद्यालयको विद्यार्थीको पढाइ अंग्रेजी माध्यममा हुन्छ र यदि सामुदायिक विद्यालयका विद्यार्थीलाई सामुदायिक विद्यालयकै शिक्षकले पढाउँछन् भने त्यहाँ संस्थागत विद्यालयका विद्यार्थीलाई पढ्न सहज नै हुँदैन । र, सबैलाई थाहै छ – टोलटोलमा गएर संस्थागत विद्यालयका शिक्षकले पढाएछन् भने पनि अभिभावकले शिक्षण शुल्क दिन मान्दैनन् । विद्यार्थीबाट आउने शुल्क उठाउन मुस्किल हुन्छ । पढ्ने बेलामा पनि विद्यार्थीको सहभागिता सुनिश्चित गर्न निकै कठिन छ । विद्यालय सञ्चालनको विकल्प छैन भन्ने आशय नै अभिभावकहरुको रहेको छ । चैतदेखि असोजसम्मको अवस्थाले यो कुरा सिद्ध भयो कि अभिभावक वा शिक्षाविद् वा अन्य वर्गले शिक्षकलाई जतिसुकै दोषारोपण गरे पनि वा शिक्षकलाई जतिसुकै नराम्रो भने पनि शिक्षकको भरमा मात्र सम्पूर्ण शिक्षा प्रणाली अडेका छन् । संघ सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले वैकल्पिक शिक्षाको लागि धेरै परिश्रम र लगानी गरे पनि वास्तवमा त्यो अपेक्षाकृत प्रभावकारी हुन नसकेको यथार्थले हाम्रो समाज अझै पनि शिक्षकको प्रत्यक्ष सम्पर्कमा नै सिकाइको लागि तयार हुने स्पष्ट भएको छ ।

सरकारले पहिले नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याइसकेको छ । विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्नु र रेडियो तथा टेलिभिजनबाट पढाइलाई अगाडि बढाउँदा पनि विद्यार्थीको संलग्नता अत्यन्त कम हुनुले विद्यालयमा नै गएर पढ्नु पर्ने संस्कृतिमा अभ्यस्त हाम्रो समाजको यथार्थ चित्र देखिन्छ । अहिलेसम्म हाम्रो समाज शिक्षाको वैकल्पिक माध्यमलाई खासै पत्याई नसकेको पनि देखिएको छ । कोरोना महामारी एक्कासि आइदियो । यस किसिमको संकट आउन सक्छ र यस किसिमको संकटको समयमा शिक्षाको वैकल्पिक माध्यम अपनाउनु पर्छ भनेर पहिले त्यत्ति तयारी गरिएन । कोरोना संकटको समयमा वैकल्पिक शिक्षाको लागि मनोवैज्ञानिक र भौतिक दुवै किसिमले समाज त्यत्ति तयार भइसकेको पनि पाइएन । यद्यपि यस अवधिमा इन्टरनेटको प्रयोगकर्ता निकै बढेको सार्वजनिक भएको थियो । इन्टरनेट प्रयोगकर्ताको संख्या बढेको भए पनि शिक्षाको क्षेत्रमा प्रयोगमा उत्ति धेरै प्रयोग भएको देखिएन । हुन त अझै पनि केही चर्चित कलेजहरुले जूम प्रविधिमार्फत कक्षा सञ्चालन गरिरहेका छन् र विद्यार्थीको पर्याप्त उपस्थिति �