अपडेट 
२०७७ आश्विन २२, बिहीबार ०६:५८

आमरण अनसनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच बिहीबारदेखि (आज) औपचारिक सम्वाद सुरु हुने भएको छ ।

सम्वादका लागि बुधबार दुबै पक्षले वार्ता टोलीहरु गठन गरेका छन् ।डा. केसी अनसन बसेको २४ औं दिनमा सरकारले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

सरकारले वार्ता टोली घोषणा गरेको केही घण्टापछि डा. केसीका तर्फबाट पनि वार्ता टोली बनेको छ । डा. जीवन क्षेत्रीको नेतृत्वमा बनेको वार्ता टोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, पूर्वअध्यक्ष डा। अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् । मंगलबार विहानसम्म सरकार वार्ता टोली गठनको पक्षमा थिएन । शिक्षा सचिव मैनाली नेतृृत्वको टोलीले मंगलबार डा. केसीलाई भेटेर औपचारिक वार्ता टोली नबनेको भन्दै अनसन तोड्न एकोहोरो आग्रह गरेर फर्किएको थियो ।

तर मंगलबार अपरान्ह बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरुले डा. केसीको जीवन रक्षा गर्नुपर्नेमा जोड दिएका थिए । बुधबार नेपाल चिकित्सक संघले भोलि २ घण्टा र पर्सि दिनभर आकस्मिक र कोभिड उपचारबाहेक सबै सेवा बन्द गर्ने गरी दबावमूलक आन्दोलन घोषणा गरेपछि सरकार दबावमा परेको थियो । सरकारी र डा. केसीको वार्ता टोलीबीच विहीबार अपराहृन ४ बजे वार्ता गर्ने तय भएको छ ।

Comment


Related News

Latest News

Trending News