अपडेट 
२०७७ आश्विन २४, शनिबार १४:४८

प्रहरी प्रधान कार्यालयले कोरोनालाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाउन उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्लाले अन्तिम तयारीमा जुटेको जानकारी दिनुभयो । यसपालि ७७ वटै जिल्लामा कोरोनाबाट आफू पनि बच्ने र नागरिकलाई समेत बचाउने गरी रणनीति तयार पार्न लागिएको प्रहरीले जनाएको छ । सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखिने, मोबाइल गस्ती बढाइने तथा सुरक्षा चौकी थप गरेर शान्ति सुरक्षालाई चुस्त पारिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसपालि दशैंँको समयमा प्रहरी कर्मचारी घरमा जानसक्ने अवस्था नरहेकाले तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि खानपानमा समेत विशेष व्यवस्था गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ । आवश्यकतानुसार ड्रोनको समेत प्रयोग गर्न लागिएको छ । सवारीका यात्रु ओर्लने/उक्लने क्षेत्रमा नियमित जाँच थालिएको छ । आवश्यकतानुसार सादा पोशाकमा प्रहरी परिचालन हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले समेत चाडबाड केन्द्रित सुरक्षालाई ध्यानमा दिँदै निगरानी बढाएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । सोही अभियानअन्तर्गत बढी भाडा लिने गरी टिकट काट्ने यातायात काउन्टरका कर्मचारीलाई नियन्त्रणमा लिएर कारवाही थालिएको छ ।

Comment


Related News

Latest News

Trending News