अपडेट 
२०७७ आश्विन २५, आईतवार ०६:२४

(अन्ततः प्रधानमन्त्री खडगप्रसाद शर्मा ओलीले डा गोबिन्द केसीको सत्याग्रहमा आफनो स्वार्थको हलो अडकाइदिए । डा. केसीको मांग पूरागर्दा बरिष्ठता मिचेर डीन बनाइएकी “सक्षम” चिकित्सक दिब्यासिंह शाहको पदबाट बहिर्गमन हुने भएकाले प्रम ओलीले हुनै लागेको सरकार र डा. केसी पक्षबीचको सम्झौता तुहियो । यो स्तम्भ लेख्दालेख्दै आएको सूचना अनुसार, सरकार र सत्याग्रही डा. गोबिन्द केसी पक्षका बीच भएको वार्ता शुक्रबार नै सकिएको छ । सरकारी पक्षले डा. केसीले उठाउनु भएको मांगको सरकारले सम्बोधन गरी रहेको बताएकोछ । डा. केसीलाई यो समय अनसनगर्ने होइन भन्ने सदुपदेश पनि दिएको छ सरकारले ।

प्रतिकारमा नेपाल चिकित्सक संघले जारी गरेको प्रेस बिज्ञप्तिमा बिरोधका पूर्व निर्धारित कार्यक्रम आइतबारदेखि शुरुगर्ने बताएको छ । बिहिबारसम्म चिकित्सक संघ सरकारसंगको वार्ता सकारात्मक भएकोमा खुशी थियो । तर, शुक्रबार पासा पल्टियो । सरकार प्रमुखले डा केसीको मांग पूरागर्नेकुनै मनसाय नदेखाएको अवस्थामा चिकित्सक संघको बिरोध अपेक्षित थियो ।) हाड–जोर्नीका बिशेषज्ञ डाक्टर गोबिन्द केसी सत्याग्रहीका रुपमा लोकप्रिय भएका छन । स्वास्थ्य र स्वास्थ्य शिक्षाको क्षेत्रमा बृहत सुधारको मांगगर्दै उनी अहिले उन्नाइसौं पटक अनसन बसेका छन । उनको अनसनको उनन्तीसौं दिन हो आज । यो पटकको अनसन उनले जुम्लाबाट प्रारम्भ गरेका थिए । जुम्ला अहिलेसम्म अत्यन्त अबिकसित मानिएको कर्णाली प्रदेशको मुख्य शहर मध्येको एक हो । डा. केसीका मांग असामान्य छैनन । बिपन्न नेपाली नागरिकका सन्तानले पनि सस्तोमा चिकित्सा बिज्ञानको अध्ययनगर्न पाउनु पर्दछ भन्ने उनको मांगहरु मध्येको प्रमुख मांग हो । डा. केसीले सम्पूर्ण चिकित्सा क्षेत्रको सुधारलाई आफनो सत्याग्रहको केन्द्र बनाएकाछन ।

उनका मांगहरु पूरा भएका खण्डमा सम्पूर्ण शिक्षा क्षेत्रमा नै आमूल परिवर्तन आउनेछ । यसमा कुनै शंका छैन । यसअघि उनको पन्ध्रौं अनसन सत्ताइस दिन चलेको थियो । समाचार अनुसार, डा. केसीको मुटुको धडकन हरेक मिनेटमा एक दुइ पटक असामान्य रहेको भेटिएकोछ । डा. केसीको उपचारमा संलग्न रहेका डा. सुवासप्रसाद आचार्यका अनुसार ः असामान्य धडकन बढदै जाँदा मुटुको चालमा गडबड भएर अचानक मुटुको ब्यथा लाग्नसक्ने सम्भावना हुन्छ । डा. केसीको छातीको पनि शुक्रबार सिटी स्क्यान गरिएको थियो । त्यसमा पनि समस्या देखियो । छातीमा भएको संक्रमणको कारण पत्ता लागेको छैन । डा. केसीलाई निमोनिया हुने सम्भावना देखिएकोले सिटी स्क्यान गर्नुपरेको थियो । भन्नुपर्दैन डा केसी कमजोर भएका छन । उनन्तीस दिन अनसन बस्ने मानिस कमजोर हुनु अस्वाभाबिक होइन । नागरिक समाज, ब्यबसायिक संघ–संस्थाहरु, ्रतिपक्षमा रहेका राजनीतिक दलहरु र सत्तापक्षका पनि सरकारसंग असहमत सदस्यहरुको ब्यापक दवावमा सरकारले डा. केसी पक्षसंग बार्तागर्न शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजनमा वार्ता टोली गठन गरेकोछ । तर त्यो टोलीलाई “केही मांग” पूरागर्ने म्याण्डेट नदिएको कुरा सचिव मैनालीले बताएका छन ।

शुक्रबार अन्तिम वार्तागर्ने सहमतिमा छुट्टिएका थिए वार्ता टोली । डा. केसीका पक्षबाट वार्ता टोलीका संयोजक रहेका डा. जीवन क्षेत्रीका अनुसार शिक्षामन्त्री गिरिराजमणि पाोखरेल मोबाइलको स्वीच अफ गरेर बसेका थिए । उसो त, प्रम ओली मन्त्री पोखरेललाई खासै अहमियत दिंदैनन । उनको भूमिका प्रम ओलीका लागि हास्य कलाकारको जस्तो छ । वार्तामा के गर्ने र के नगर्ने ? तीर–कमान प्रम ओलीकै हातमा थियो । अन्ततः सम्झौता ट¥यो । डा. केसी पक्षको वार्ता टोलीसंग सरकारी वार्ता टोलीले शुक्रबार राति ९ बजे वार्ता गरेको थियो । त्यही थाह भयो, दुइ पक्षका बीच हस्ताक्षरका लागि तयार पारिएको समझदारी पत्र प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको स्वीकृतिका लागि पठाइएको थियो जुन फिर्ता नै आएन । सत्ताको गल्लीतिर चलेको चर्चा अनुसार, प्रम ओलीडा. केसीको मांग पूरागर्न चाहन्थे । तर, उनले आफनो नीजि चिकित्सकका रुपमा कार्यरत रहेकी डा. दिब्यासिंहलाई चिकित्साशास्त्र अध्ययन संस्थानको डीन बनाएका थिए । उनले डा. दिब्यासिंहलाई डीनबाट हटाउने एउटा मांग पूरागर्न सकेनन ।

शिक्षण अस्पतालका प्रबन्ध निर्देशक दिनेश काफलेलाई हटाउने मांग पूरागर्नु असहज थिएन । तर, आफनै नीजि चिकित्सकलाई कसरी हटाउनु ? डा. केसीसंग सरकारको वार्ता टुट्यो कि जारी छ ? यसबारे शनिवार बिहानसम्म केही थाह दिइएको छैन । डा. केसीका शर्तहरु सरकारका लागि अमान्य रहँदै आएका छन । आफना मांगहरु पूरा नहुने हो भने यो पटक डा. केसी अनसन तोडने मनस्थितिमा पनि देखिएका छैनन । सरकारलाई डा.केसीका मांगहरु पूरागर्न के ले रोकेको छ त ? शिक्षाविद् केदारभक्त माथेमा भन्छन ः हाम्रो देशमा बिभिन्न स्वार्थ समूह यति बलियो भएको मलाई थाह थिएन । शिक्षा क्षेत्रमा स्वार्थ समूहको यति ठूलो प्रभाव हुनु ठीक होइन । हामीकहाँ पारदर्शिता छैन । उच्चस्तरीय शिक्षा समितिको रिपोर्ट कहिल्यै सार्वजनिक भएन । यो देशकै लागि बिडम्बना हो । माथेमा डा. केसीको लडाईंलाई सुशासनको लडाईं भन्दछन । यसले डा. केसीको लोकतान्त्रिक संस्कारलाई उजागर गरेकोछ । उनी भन्दछन, लोकतान्त्रिक शासनमा पनि प्रधानमन्त्रीलाई मन परेको मानिसलाई कुनै पदमा नियुक्त गर्न मिल्दछ । तर, नियुक्ति पाउने ब्यक्ति सक्षम र बरिष्ठ दुबै हुनुपर्दछ । बरिष्ठताको हिसावले ३५ औं सिंढीमा रहेको ब्यक्तिलाई माथि तानेर नियुक्ति दिनु न्यायिक होइन । माथेमाको बिचारमा ः प्राज्ञिक र बौध्दिक ब्यक्तिहरुको आफनै संसार हुन्छ, रिपब्लिक अफ अकाडेमिक्स । उनीहरुलाई स्वतन्त्र रुपमा कामगर्न दिनु पर्दछ । सरकारको हस्तक्षेपले ज्ञानमाथि अवरोध उत्पन्न गर्दछ । स्वास्थ्य र शिक्षा क्षेत्र दुबैलाई समेटने यति मांग पूरा गराउन एउटा डाक्टरले उन्नाइस पटक अनसन बस्नुपर्ने अवस्थालाई सरकारी ब्यबहारको बिडम्बना मात्रै भन्न सकिन्छ ।

डा. केसी आफनो ब्यक्तिगत मांग पूरा गराउन उन्नाइस पटक अनसन बसेका होइनन । नेपाली समाजमा बिबेकसम्मत सुधारको खोजी हो डा. केसीको अनसन । तर, कांग्रेस, एमाले, माओवादी र अब, नेकपाको सरकारले पनि बिबेकसम्मत सुधारका लागि झिंजो मानी रहेको ऐना जत्तिकै स्पष्ट भएको छ । यो बुझनु गाह«ो छैन । डा.केसीको सत्याग्रह “सबै नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहूँचको सुनिश्चितता र ओली सरकारको लूटतन्त्र तथा शाहीतन्त्रका बिरुध्द” लक्षित छ । यो अवस्थामा उनका सबै मांगहरु सरकारले खुरुक्क मान्ला भन्न गाह«ैछ ।यो सन्दर्भमा अहिलेको दुइतिहाइ वहुमतप्राप्त ओली सरकार र पूर्ववर्ती सबै सरकारहरुको अवस्था उस्तै हो । निश्चय पनि डा. गोबिन्द केसीको जनताप्रतिको निष्ठा र देशभक्तिमा कसैलाई कुनै शंका छैन । डा. केसीका मित्र डा. भगवान कोइरालाका शब्दमा, ‘उसका एजेण्डा ठीकछन भन्नेमा मलाई कुनै शंका छैन । तर, उसको तरीका ठीक छ भन्नेमा म सहमत हुन सक्दिन । पदोन्नति जस्ता बिषयमा कसैको पनि मूल्यांकन हुँदा उसको ल्याकत के छ ? त्यो हेर्नैपर्छ । डा. गोबिन्दको भनाई कतिपय परिप्रेक्ष्यमा ठीक छन ।’ जे होस, जनताको दुःख बुझेर कामगर्ने चाहनाले डा. केसीप्रति मानिसको बिश्वास बढेकोछ । सरकारले जनताको यो बिश्वाससंग अहिलेसम्म खेलवाड गरेकोछ । डा. केसीलाई तलबित्तल केही भइ हाल्यो भने जनताको आक्रोश भडकिन सक्छ । दुइ तिहाइको सरकारले यो कुराको हेक्का राखेकै होला ।

Comment


Related News

Latest News

Trending News