विश्व हात धुने दिवस पनि मनाइँदैछ ।
नेपाल रेडक्रस सोसाइटीले लामो समयदेखि हात कसरी धुने भन्ने अभियान नै चलाएको सुनिन्छ । यसै गरी रेडक्रसकै जुनियर तथा युवा सर्कलले त यसलाई ठूलै अभियानको रुपमा चलाएको पनि बुझिएको छ । लामो समयदेखि हात धुने तरिका तथा हात धुँदा हुने फाइदाबारे जानकारी गराइरहेको छ । हात धुने काइदा र यसका फाइदाबारे सबैलाई जानकारी हुनु आवश्यक रहेको छ । रेडक्रस संस्थाजस्तो विश्वको प्रतिष्ठित संस्थाले हात धुन किन सिक्नु पर्दछ भनेर सिकाउन खोज्नुका पछाडि धेरै महत्वपूर्ण तर्क वा कारणहरु हुन सक्छन् भन्ने कुरो सर्वसाधारणले बुझ्नु आवश्यक छ । अझ हाम्रो जस्तो स्वास्थ्यको दृष्टिकोणले पछाडि परेको समाजको लागि यो निकै महत्वपूर्ण हुन आउँछ । हात धुनु त सानोतिनो कुरो हो । हो, नियमित वा अभ्यस्त भइसकेपछि हात धुनुलाई सानोतिनो कुरो मान्दा पनि हुन्छ तर सानोतिनो कुरोभन्दा पनि यो निकै महत्वपूर्ण छ । वास्तवमा यो सानोतिनो कुरो होइन ।
हात धुने भन्ने कुरो स्वास्थ्य जीवनको मुहान हो । मुहानलाई नै स्वच्छ र सफा बनाउन सक्यौँ भने सङलो पानी खान वा लाउन पाउन सकिन्छ । मुहान नै फोहोर वा अव्यवस्थित भयो भने त्यसले अनेक विकृति ल्याउन सक्ने सम्भावना रहन्छ । यस कारण हेर्दा हात धुने भन्ने कुरो सामान्य लाग्न सक्छ तर यसको काइदा नजान्दा जीवनमा धेरै ठूलो मूल्य चुकाउनु पर्ने पनि हुन सक्छ । सबैभन्दा पहिले त प्रश्न उठ्छ कि हात धुने कतिखेर ? यसको सही उत्तर हुन्छ कि जतिखेर आफूलाई लाग्छ कि मेरो हात फोहोर भयो, त्यत्तिखेर हात धुँदा हुन्छ । हात कतिखेर फोहोर हुन्छ ? यो आफैलाई थाहा हुने कुरो हो । तर के हात फोहोर भएको अनुभूति भएपछि मात्रै हात हुने ? होइन, केही कर्म गरेपछि अनिवार्य हात धुनुपर्छ र केही कर्म गर्नुअघि पनि अनिवार्य पनि हात धुनुपर्छ । उदाहरणको लागि दिसा वा पिसाप गरेपछि हात धुनै पर्छ । यसलाई हाम्रो संस्कृतिले पनि मान्यता दिएको छ । अहिले पनि हामी पाउँछौँ कि जब कोही बोलबम कामरनाथु बनेर कुनै तीर्थ वा धाम जान्छन् तब त्यहाँको नित्यकर्ममा दिसा गरेपछि अनिवार्य स्नान गर्नुपर्ने र पिसाप गरेपछि अनिवार्य साफी गर्नुपर्ने वा हात धुनुपर्ने हुन्छ ।
यस प्रकारको नियमलाई अहिले पनि मठ तथा मन्दिरका साधु वा पुजारीहरुले निष्ठापूर्वक निर्वाह गरिरहेका छन् । शिक्षित समाजमा पनि यो बानीको रुपमा विकास भइसकेको छ कि जब कोही दिसा गरेर आउँछन् तब अनिवार्य रुपमा साबुन पानीले हात धुने गर्दछन् । पिसाप गरेर आएपछि पनि अनिवार्य रुपले कम्तीमा पानीले भए पनि हात धुन्छन् । यस प्रकारको स्वस्थ बानीको निरन्तर प्रसार भइरहेको छ । यो सुखद कुरो हो र यसको विस्तार हुनु आवश्यक देखिन्छ । दिसा पिसाप गरेपछि हात धुनु जति अनिवार्य छ, खाना खानुअघि पनि हात धुनु त्यत्तिकै जरुरी छ । अरु जे सुकै होओस् तर खाना खानुभन्दा पहिले कुनै पनि हालतमा सफासित हात धोएको हुनै पर्दछ । यसमा कसैले कहीँ पनि कुनै पनि हालतमा कम्प्रोमाइज गर्नु हुँदैन । खाना खानु जति आवश्यक छ त्यो भन्दा पनि आवश्यक हात धुनुलाई लिनु पर्दछ । आफ्नो बानीमा यसलाई यति सख्त बनाउनु आवश्यक छ कि आफूले आफैँलाई कुनै पनि हालतमा छुट दिनु हुँदैन । अझ आफ्नो घरपरिवारका कुनै पनि सदस्यले खाना खानुअघि हात धोएको वा नधोएको भनी स्पष्ट विचार गर्नु आवश्यक हुन्छ । हात नधोएर कोही खान खोज्छन् भने तत्काल रोक्नु पर्दछ ।
बरु यस्तो बानीको विकास होओस् कि हात नधोई कोही खाना खान खोज्यो भने उसलाई आफैलाई घिन लागोस्, आफैलाई अप्ठ्यारो लागोस् । आफैलाई आफैदेखि लाज लागोस् । अर्थात् खानाभन्दा महत्वपूर्ण हात धुनुलाई बनाउनु पर्दछ, मान्नु पर्दछ । अब प्रश्न उठ्छ हात धुने कसरी ? सही हात धुने तरिका के हो ? वा सही हात धुने काइदा कस्तो हो ? कोरोनाको संक्रमण फैलिन सुरु भएदेखि नै सबै जसो संचार माध्यममा हात धुनको लागि सबैभन्दा राम्रो तरिकाको बारेमा व्यापक सन्देश प्रचार गरिएको छ । अहिले पनि हात धुनको लागि प्रचार भइरहेको छ । पर्याप्त पानी र पर्याप्त साबुनले हात धुनुपर्छ । हात भिजाएपछि पर्याप्त फिँज आउने साबुन वा अन्य साधनले कम्तीमा बीस सेकेन्डसम्म फिजैफिजले खूब मोलीमोली वा रगडेर हत्केलाको प्रत्येक कुना काप्चालाई राम्ररी सफा पार्नु पर्दछ । कम्तीमा बीस सेकेन्ड भनेको कम्तीमा भनिएको हो, तीस सेकेन्डसम्म भए अझ राम्रो । हत्केलाका कुनाकाप्चादेखि नङ र सम्पूर्ण भागमा कम्तीमा बीस सेकेन्ड साबुनको फिज अडिनु पर्दछ र त्यसपछि मात्र सफा पानीले धुनु पर्दछ ।
पानी सफा र शुद्ध छैन भने फेरि अर्को समस्या आउने हुन सक्छ । जुन पानीले हात सफा गरिरहेको छु, त्यो पानी पनि सफा हुनु अनिवार्य छ । वर्तमान अवस्थामा साबुनको साटो माटो, सर्फ, खरानीजस्ता विकल्पको प्रयोग उचित हुँदैन । साबुन नै सबैभन्दा उत्तम विकल्प हो भन्ने कुरो सबैतिरबाट आइरहेको छ । हात धोएको जस्तो गर्ने होइन कि हात राम्ररी धुन पर्दछ । हात धुनमा आफूलाई नै ठग्ने होइन, आफूलाई नै इमानदारीपूर्वक सन्तुष्ट पार्नुपर्दछ । राम्ररी हात नधुँदा के हुन्छ ? यो दुस्साहसी प्रश्न हो । यस किसिमको कल्पना नगरौँ । हात धुनु हुँदैन भन्ने भ्रममा नबसौँ । हात कतिपटक धुने बरु यो प्रश्न आफूलाई गरौँ । कतिपय विज्ञापनहरुमा हरेक बीस मिनेटको अन्तरालमा हात धुँदा पनि हुन्छ भनिएको छ । तर हातलाई नाक वा मुखसम्म पुग्ने बित्तिकै हात धुने अवस्था आएको हो भन्ने बुझौँ । हुन त अहिले घरबाहिर जाँदा मास्क लगाएर जाने प्रचलन शिक्षित समुदायमा बढेको छ । राम्ररी नाक र मुख छोपिने गरी मास्क लगाउने र सकेसम्म फुल सर्ट अनि खुट्टामा जुत्ता र मोजा छ भने टाउकोमा एउटा टोपी हुँदा आवश्यकताअनुसार हात धुन सकिन्छ । दिसा पिसाब गरेपछि र खाना खानुअघि तथा खाना खाएपछि त अनिवार्य रुपमा हात धुनुपर्छ भन्ने मान्यता त सर्वमान्य भइसकेको छ ।
अरु बेला पनि चिया खानुअघि, फलफूल खानुअघि र अरु केही मुखमा हाल्नुअघि पनि अनिवार्य अनिवार्य रुपमा हात धुने बानी बसालौँ र यो बानी धेरै हदसम्म धेरै जनामा रहेको पनि छ । हात नधुने बानीले धेरै किसिमको रोग लाग्न सक्ने देखिएको छ । कोरोना त अहिले केही महिनादेखि विश्वमा आतंक मच्चाउने महामारीको रुपमा देखिएकै हो । वर्तमान अवस्थामा हात धुनुको विशेष महत्व रहेको छ । कोरोनाको सन्दर्भमा हात धुने कार्यलाई कोरोना भाइरस संक्रमण हुनबाट केही हदसम्म जोगाउने भनिएको छ । हातको माध्यमबाट कोरोना भाइरसको संक्रमण मुख र नाकसम्म हुन नपाओस् भनेर हात धुनुपर्ने बारम्बार भनिएको पाइएको छ । हात धुन सम्भव नभएको अवस्थामा सेनेटाइजरको प्रयोग गर्नुपर्ने बताइन्छ । सेनेटाइजरको प्रयोगको सन्दर्भमा त धेरै सावधानी अपनाउनु पर्ने कुराहरु बाहिर आइरहेका छन् । विभिन्न कम्पनीका सेनेटाइजर गुणस्तरहीन रहेको भनी सरकारले प्रतिबन्ध लगाउएको पनि समाचारहरुमा जनाएको छ । गुणस्तरहीन सेनेटाइजरले स्वास्थ्यलाई हानि गर्ने कुरा पनि सुनिन्छ । यस कारण सेनेटाइजरभन्दा बढी मात्रामा सर्वसाधारणलाई साबुन पानीलाई विशेष महत्व दिनु उपयुक्त हुन्छ । साबुन पानीको विकल्प सेनेटाइजर होइन वा हुन सक्दैन । तर जहाँ पानीको उपलब्धता हुन सक्दैन त्यहाँ सेनेटाइजरको उपयोग गर्न सुझाव दिइएको पाइन्छ । वा घरिघरि एक अर्काको हातबाट केही लेनदेन गरिरहनु पर्ने अवस्थामा छिनछिनमा गुणस्तरीय सेनेटाइजरको उपयोग गर्न सकिन्छ । वर्तमान परिवेशमा साबुन पानीले हात धुने कुरालाई सानोतिनो कुरो नठानेर विशेष समयको विशेष महत्वको विशेष कुरो र सधैँ गरिरहनुपर्ने कुरो मान्नु उपयुक्त हुने देखिन्छ ।
कहिलेकाहीँ सानोतिनो गल्तीले गम्भीर परिणाम ल्याउन सक्ने हुन्छ । हात धुनु पर्ने कामलाई सानोतिनो भनेर वर्तमान परिवेशमा नलिऔँ र यसलाई नहेपौँ । पहिलेदेखि नै रेडक्रसजस्तो संस्थाले यसलाई निरन्तरता दिइरहेको छ । अझ विपन्न तथा अशिक्षित समुदायमा हात धुनुपर्ने पक्षलाई निरन्तर विस्तार गर्नुपर्ने छ । यसको चेतनालाई विस्तार गर्नुपर्ने छ । कोरोनाको डरले लकडाउन भएको समयमा धेरै स्थानीय तहले हर घरमा मास्क र सेनेटाइजर पु¥याउने काम गरेका थिए । अझ कतिपयले साबुन पनि घर घरमा वितरण गरेको पाइएको थियो । हो, विपन्न र निरक्षर समुदायमा हात धुने बानीको विकास गर्न र सरसफाइमा पहुँच विस्तार गर्न केही सहयोग गर्नुपर्ने आवश्यकता रहन्छ । यतातिर पनि ध्यान दिनु आवश्यक छ तर हातधुने बानीलाई स्वास्थ्य चेतनाको अभिन्न अंगको रुपमा हरेकलाई स्वीकार्य बनाउने गरी आनीबानीको विकास निकै महत्वपूर्ण पक्ष हो । आजको युगमा पनि हात धुन सिक्नु परेको छ वा सिकाउनु परेको छ भन्ने हेयभावले नहेरी हात धुने कार्य निरन्तरको प्रक्रिया हो र यसको बारेमा निरन्तर चेतना आवश्यक छ भन्ने कुराको बोध गराइरहनु पर्छ । हात धुने कुरोको विश्वव्यापी महत्व हुने भएकोले नै विश्वव्यापी हात धुने दिवस मनाउन थालिएको हो ।