अपडेट 
२०७७ आश्विन २९, बिहीबार ०६:०१

नेपालमा हालसम्म जम्मा एघारवटा जनगणना सकिएका छन् र वाह्रौ जनगणना सन् २०२१ मा हुने प्राय : निश्चित छ । ती मध्ये १९११, १९२०, १०३० र १०४१ अर्थात चारवटा जनगणनाहरू अवैज्ञानिक रूपमा सम्पन्न भएको छ भने यता १९५२/५४ देखि २०११ सम्मका जनगणनाहरूले वैज्ञानिक जनगणनाको रूपमा मान्यता पाएका छन् । हुनत यी जनगणनाहरूमा भएका त्रुटिहरूलाई विस्तारै सच्याउँदै आएका छन् । तर अझै पनि आगामीका जनगणनाहरूमा यस्ता त्रुटिहरू नआउन भने सजग हुने बेला आएको छ । यस्ता त्रुटिहरूलाई कसरी कम गर्दै जाने ? एउटा चुनौतीको विषय रहेको देखिन्छ । जे होस जनगणनाको मूल उदेश्य के हुन्छ भने सक्दो कम त्रुटि आओस् । आगामी २०२१ सम्म बाह्रौं जनगणना सम्पन्न हुन गई रहेको छ । आशा गरौं, यो जनगणनामा बिगतका जनगणनाहरू भन्दा बढी शुद्धता आओस् ।

खासगरी म २०११ मा संकलित जात÷जातिको तथ्याङ्कमा देखिएका केही त्रुटिहरू तिर आकर्षित गर्न चाहन्छु । जनगणनामा जनसंख्या बनौट एउटा प्रमुख विषय अन्तर्गत पर्ने कुरा हुँदो रहेछ । यदि जनसंख्या बनौटमा त्रुटि आयो भने पूरै जनगणनाको निष्कर्षलाई शंकाको घेरामा ल्याइ दिन्छ । जनसंख्या बनौट मध्येको एउटा प्रमुख बनौट जात÷जातिको बनौट हुँदो रहेछ । यससँग धर्मको पनि उतिकै सोझो सम्बन्ध रहेको हुनाले धार्मिक बनौटमा समेत यसको प्रभाव पर्ने प्रायः निश्चित हुँदो रहेछ । यस लेखको मूल उदेश्य के छ भने अव उप्रान्त २०२१ को जनगणनामा यस्ता सामान्य त्रुटिहरू न्यूनीकरण गर्नलाई सहयोग गर्नु हो । हुनत बिगतका अन्य जनगणनाहरूमा उल्लेख भएका जात÷जाति तथा धार्मिक समूहरूको बढी भन्दा बढी संख्या पता लगाउनु एउटा सकारात्मक पक्ष हो तर यसमा कतिपय जात÷जाति तथा धार्मिक समूहको नाम छुट्नु यसको अर्को पक्ष रहेको देखिन्छ । जात/जातिको संख्या बढ्दै गएको कुरा तलको तालिकाबाट प्रष्ट पार्न चाहन्छु :

उपर्युक्त तालिका अनुसार १९९१ को जनगणनामा संकलित ६० वटा जात÷जाति क्रमशः २००१ मा १०० र २०११ मा १२५ पुगेको देखिन्छ । यस्तै हिमाली क्षेत्रमा कम र तराई क्षेत्रमा बढी जात÷जातिको समूह लिपिवद्ध भएको देखिन्छ । तराईमा २०११ को जनगणनामा ६१ जात÷जातिको संख्या भेटिए पनि मेरो अध्ययनमा अहिले पनि तीनवटा जात/जाति छुटेका रहेछन् । छुटेकोमा भूमिहार, पासी र कापडि केवट छन् । यी बेग्ला बेग्लै जात हुन् । जाति बनावट अनुसार यिनीहरूका खान–पान, व्यवसाय, बिहावारी आदि बेग्ला बेग्लै हुँदा रहेछन् । अर्को तिर केही जातको भाषाले गर्दा तराईको पहाडी जातमा गणना भएको देखिन्छ । यस्ता जातिहरू मध्ये कुम्हार, तराई ब्राह्मण तथा अमातलाई लिन सकिन्छ । कुम्हार, कुमाल प्रजापति एउटै जात भएपनि भौगालिक क्षेत्रको कारणले गर्दा बेग्ला बेग्लै जातिमा गणना गरिएका छन् । तराईमा गणकले नेपाली भाषामा प्रश्न सोध्दा उत्तरदाताले नेपाली मै जवाव फर्काउँदा कुमाल भनेको हो किनभने कुम्हारलाई नेपालीमा कुमाले, कुमाल र कुम्हाले भनिन्छ । जस–जसले नेपालीमा जबाव दिए ती सबै कुमालको जनसंख्यामा जोड्न गएको पाइन्छ ।

लेखकले स्थलगत अध्ययन गर्दा कुमाल नभएको ठाउँमा हजारौमा कुमालको संख्या देखिएका छन् । यसले गर्दा कुमालको संख्यामा निकै बृद्धि भई कुम्हारको जनसंख्या कम हुँदै आएको देखिन्छ । यस्तै काठमाण्डू उपत्यकाको बिशेष गरी भक्तपुरमा प्रजापति समुदायको ठूलो हिस्सा छ । वास्तवमा उनीहरू पनि कुम्हारै हुन् तर कालान्तरमा आएर नेवारी भाषा भाषीको बीचमा आएको हुनाले प्रजापतिको नाम–निसान न रहने गरी सबैको गणना नेबार समुदायमा भएको देखिन्छ । भाषा मिल्दैमा जाति एउटै हुन, भन्ने हुँदैन । तराईमा धेरै जात÷जातिको भाषा एउटै भए पनि जात÷जाति भिन्न भिन्न छन् । यस्तै अमात भने एउटा बेग्लै जाति छ । धनुषा जिल्ला अन्तर्गत अमात जातिको बसोवास रहेको ठाउँमा नेवार जाति देखाइएको छ । केही नेवारको थर अमात्य हुने हुनाले अमातलाई अमात्यमा देखाइनुले अमातको संख्यामा निकै कमी आएको पाइन्छ । गणकले सबभन्दा पहिले एउटा कुरा के बुझ्नु जरूरी छ भने जाति र थर बेग्ला बेग्लै कुरा हुन् । कतिपयको थर र जाति एउटै देखिन्छ । कतिपयको जात र थर दुवै लिपिवद्ध भएको देखिन्छ । एउटा सानो उदाहरण लिउँ, पूर्वी तराईमा कुम्हार जातिको थर पंडित रहेछ । तराईमा व्राह्मणलाई पनि पंडिजी भन्ने हुनाले केही जनसंख्या ब्राह्मणमा जोडिएको देखिन्छ भन्ने पहाडमा केही बाहुन र क्षेत्रीको थर पंडित रहेका हुनाले केही संख्या यिनीहरूमा समेत जोडिएको स्थलगत अध्ययन अनुसार देखिन्छ ।

यस्तै अर्को कुरा के भेटिएको छ भने भने गणकले नेपालीमा प्रश्न गर्दा उत्तरदाताले नेपाल मै जबाव फर्काउँदा ब्राह्मणलाई बाहुन भनेको हुनाले ब्राह्मणको संख्या पहाडी बाहुनमा जोडन् गएको देखिन्छ । जुन गाउँमा पहाडी बाहुन छँदै छैन, त्यहाँ पहाडी बाहुनको जनसंख्या देखाउनुले यस्तो त्रुटि भएको हो भन्ने अनुमान गर्न सकिन्छ । अर्कोतिर तराईको केही कोइरीहरू आफ्ना थरमा सिंह समेत लेख्न थालेका छन् । यिनीहरूको केही संख्या राजपुत र नेवारमा जोड्न गएको भेटेका छन् किनभने राजपुतको थर सिंह र केही नेवारको थर सिंह रहेको हुनाले एक आपसमा संख्यामा फेरबदल भएको देखिन्छ । यस्ता ठाउँमा खासगरी गणकले के बुझि दिनु पर्छ कि जाति र थर एउटै होइन । थर धेरै जातिको एउटै हुन सक्छ तर जाति एउटै हुन सक्दैन । तसर्थ थर मिल्दैमा जाति एउटै हो भन्ने बुझ्नु भूल हुनेछ । अर्को तिर पहाडी भेगको केही स्थलगत अध्ययन गर्दा मगर जाति आफ्नो थर राना लेखाउँदा कतिपय गणकले उसलाई ठकुरीमा जोडेको देखिन्छ । यस्तै दलित, आदिवासी, जनजाति तराईको जनसंख्यामा अन्य शिर्षक राखेको देखिन्छ तर पहाडी जातिहरूमा अन्य शिर्षक देखाइएको छैन । यस्तै तराईको हजाम जातिको शिर्षकमा हजाम÷ठाकुर देखाएको छ । ठाकुर त हजामको जातिए नाम होइन । ठाकुर त थर हो । यस्तै अन्य जाति ब्राह्मण, भूमिहार, बडही जातिका थर समेत ठाकुर हुँदा रहेछन् । अर्को तिर केही बरही, भूमिहार जातिको थर शर्मा हुँदो रहेछन् । यस्ता जातिहरूका केही संख्या पहाडी बाहुनमा समेत जोडिएको देखिन्छ । लेखकले अनुभव गर्दा जाति र थर बारे राम्ररी बुझ्नु जरूरी छ । गणकले जाति र थर बारे केलाएर नसोध्दासम्म जातिको सही तथ्याङ्गमा जहिले पनि शंका उत्पन्न हुन सक्छ ।

कतिपय जातिको थर र जाति एउटै हुन्छ । त्यस्ता जातिको थर र जाति शिर्षकमा एउटै कुरा लेखिने हुन्छ । एउटै जाति र थर लेखाउनेमा तराईका यादव, देव, गडेरी/ भेडिहर हजाम/ठाकुर, कोइरी/कुशवाहा आदि यस्ता जातिहरू छन् जसका जात र थर मिल्दो जुल्दो देखिन्छ । यस्ता जातहरूका गणना गर्दा गणक र सुपरभाइजर एकदमै सतर्क भएर गणना गर्नुपर्ने हुन्छ । कतिपय जातको जात र थर दुबै सम्बोधन गरिएको देखिन्छ । यस्ता जात/जातिमा छन्त्याल/छन्तेल, ब्राह्नु/ब्राह्नो, चेपाङ/प्रजा, धर्ती/भुजेल, व्याँसी/सौका, दमाई/धोली, कोइरी/कुशवाहा, हजाम/ठाकुर, गडेरी/भेडियर, सतार/संथाल, पथरकट्टा/कुशवडिया, झाँगर/धाजर, चमार/हरीजन/राम, दुसाध/पासवान, तत्मा/तत्वा, बाँतर/सरदार, धनकार/धरीकार, रहेका छन् । यी जातिहरूको लगत तयार गर्दा जातको कालममा थर र थरको कालममा जाति लेख्ने सम्भावना उँच हुन्छ । यस्ता जातिहरूका जात र थर छुट्याएर लेख्दा जातिको गणना गर्दा सजिलो हुन्छ । यस्तै पासीलाई दुसाधमा राखेर देखाउँदा बिशुद्ध त्रुटिपूर्ण देखिन्छ । पासी एउटा बेग्लै जाति हो जसको मूल पेशा तार र खजुर चढेर तारी निकाल्नु र बिक्री गर्नु हो । पासी पासमान होइन ।

यसका समाधानको रूपमा लेखकले केही सुझाव प्रस्तुत गरेका छन् । जो निम्न अनुसार रहेका छन् ः सुझाव नं. १ ः जात÷जातिको तथ्याङ्क संकलन गर्ने गणक तथा सुपरभाइजरलाई उसको थरको राम्ररी जानकारी हुनु पर्दछ । यसले जात÷जातिलाई प्रष्ट रूपले बुझ्न गणकलाई सहयोग भेट्छ । कतिपय जातिको जाति र थर एउटै हुन्छ । यस्तो कुरामा जाति र थर दुबैमा प्रष्ट रूपले समान शब्द उल्लेख हुनु पर्छ । जस्तैः यादव र देवको जाति र थर एउटै देखिन्छ । सुझाव नं. २ धेरै जसो जातिको थर एउटै हुन सक्छ तर जाति एक हुन सक्दैन । तराईमा केही भूमिहार र बरही जात शर्मा भने समान थर देखिन्छ । त्यही थर पहाडमा केही बाहुनको पनि हुँदो रहेछ । केही ठाउँमा के देखिन्छ भने भूमिहार र बरही जातको त्यो थर पहाडी बाहुनसँग मिल्ने हुनाले भूमिहार र बरही जातको संख्या पहाडी बाहुनमा समेत जोडिएको देखिन्छ । अर्को उदाहरण तराईमा कुम्हारको थर पंडित पहाडको केही बाहुन र क्षेत्री जातसँग मिल्ने हुनाले तराई कुम्हारको केही जनसंख्या काटिएर बाहुन र क्षेत्रीमा जोडन गएको देखिन्छ । यसलाई सच्याउन गणक र सुपरभाइजरलाई सचेत गराउनु पर्ने देखिन्छ । सुझाव नं. ३ः भाषाको फरकले पनि केही त्रुटि फेला पारेका छौं । नेपाली भाषामा ब्राह्मणलाई बाहुन र कुम्हारलाई कुमाल हुने हुनाले गणकले नेपालीमा प्रश्न सोध्दा उत्तरदाताले पनि नेपाली मै जबाब दिन खोज्छ । यसको नतिजा के देखिएको छ भने तराई ब्राह्मण र कुम्हारका केही जनसंख्या पहाडी बाहुन र कुमालमा जोडिएका छन् । यसले गर्दा तराई ब्राह्मण र कुम्हारको जनसंख्यामा कमी आएको देखिन्छ । लेखकले आफै स्थलगत निरीक्षण गर्दा जुन जुन गाउँमा विल्कुलै पहाडी बाहुन र कुमालको जनसंख्या नरहेको ठाउँमा पनि सो जनसंख्या रहेको देखिन्छ । यसलाई रोक्नका लागि गणकले तराईमा तराई कै भाषामा प्रश्न गर्दा बढी शुद्धता आउने देखिन्छ र यस्ता त्रुटिलाई समयमै सच्याउन सकिन्छ ।

सुझाव नं. ४ः तराईको धनुषा जिल्ला अन्तर्गत केही गाउँमा अमात जातिको बलियो उपस्थिति हुँदा हुँदै त्यहाँ नेवारको उपस्थिति जनाइएका छन् । जबकि त्यस गाउँहरूमा नेवारको बिलकुलै उपस्थिति छैन । हामी के निक्र्योलमा पुग्यो भने अमातको जनसंख्या अमात्य बुझेर नेवारमा जोडिएको हुनुपर्छ । यस्तो बिल्कुलै हुनु हुँदैन । गणकले राम्ररी बुझ्नु प¥यो कि तराईमा अमात भने बेग्लै जात हो र यसको थर राय हुँदो रहेछ । सुझाव नं. ५ ः कुम्हार एउटा अन्तर्राष्ट्रिय जात हो । ठाउँ, क्षेत्र र भाषा परक पर्दैमा जातिलाई टुक्राउनु हुँदैन । भारतको विभिन्न प्रान्तमा बस्दा उनीहरूको भाषा र क्षेत्र भिन्न–भिन्न हुँदा एउटै जातिमा गणना गरिन्छ । तर नेपाल एउटै जातका पहाडमा कुमाल, उपत्यकामा प्रजापति र दाङ्गतिर चौधरी बोलाउँदैमा सिंगो जातिलाई टुक्राउनु हुँदैन । यसले गर्दा विस्तारै भविष्यमा कुम्हारको अस्तित्व नै मेट्न जान्छ । जस्तै उपत्यकामा प्रजापतिलाई नेवार समुदायमा देखाउनु, चौधरी कुम्हारलाई थारू मा देखाउनु आदि । सुझाव नं. ६ ः तराईमा पासी एउटा बेग्लै जाति हो तर गणना गर्दा दुसाध÷पासवानमा जोडिएको देखिन्छ । यसले गर्दा पासीको अस्तित्व नै सकिएको देखिन्छ । कहि जातिलाई टुक्राइ संख्या बढाउनु, कहि एक जातिलाई अर्को जातिमा जोडेर देखाउनुले शुद्धतामा प्रश्न उठेको देखिन्छ । यस्ता त्रुटिहरू २०२१ मा हुने जनगणनामा आउनु हुँदैन । बरू गणक तथा सुपरभाइजरको तालिम अवधि बढाएर पनि यी कुराहरू बढी प्रष्ट हुनु नितान्त आवश्यक देखिन्छ । यस्ता कुराहरू सचिएन भने भोलीको जनगणना पनि शंकाको घेरामा आउन सक्छ र चाहेको तथ्याङ्क पाउन गाह्रै हुन्छ होला ।
लेखक : त्रिविका सेवा निवृत जनसंख्या बिद् हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News