अपडेट 
२०७७ आश्विन २९, बिहीबार १०:२५

आज विश्व हात धुने दिवस ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

कोरोना भाइरसको सङ्क्रमणसँगै अरु सरुवा रोग हातको फोहोरले सबैभन्दा धेरै हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नियमित रुपमा सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै घर बस्दा या अफिस तथा भीडभाडमा पुगेपछि बेलाबेला साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न, खाना खानु, खुवाउनु तथा बनाउनु र दिनुअघि साबुन पानीले हात धुन जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।

विभिन्न अध्ययनले देखाएअनुसार सरुवा रोगका किटाणुहरु फैलनबाट रोकथाम गर्ने सबैभन्दा उत्तम उपाय नै साबुन पानीले हात धुनु हो । साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धोएमा झाडापखाला, श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमणमा कमी ल्याउन सकिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सुरक्षित खानेपानी, सरसफाई र स्वच्छताको अभावमा ५ वर्षमुनिका झण्डै १५ लाख बालबालिकाको झाडापखाला र निमोनियाका कारण ज्यान गइरहेको छ ।

नेपाल स्वास्थ्य जनसांख्यिकीय सर्वेक्षण २०१६ ले नेपालका ग्रामिण क्षेत्रमा झण्डै ७५ प्रतिशत र सहरी क्षेत्रमा झण्डै ८५ प्रतिशत घरमा साबुन पानीले हात धुने ठाउँ रहेको पाइन्छ । तर हात कतिले धुने गरेका छन् भन्ने अध्ययन भएको छैन । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ को विस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता हुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पुर्याउनु अपरिहार्य भएको बताउनुभएको छ ।

Comment


Related News

Latest News

Trending News