अपडेट 
२०७७ कार्तिक ४, मंगलवार ०६:०७

बडादशैं अन्तर्गत नवरात्रीको चौथो दिन मंगलबार कुष्माण्डादेवीको पूजा गरिदै छ ।

यस दिन काठमाण्डौंको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्साल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा पूजा गर्ने चलन छ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो छातिमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको उत्पत्ति भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको जनविश्वास छ ।

यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ । तर यसपटक शक्तिपीठहरुमा बलि दिन पनि सरकारले रोक लगाएको छ । घटस्थापनादेखि दशैंको टीकाको नौं दिनसम्म हरेक दिन छुट्टा छुट्टै देवीका स्वरुपको पूजा गरिने भएकाले दशैंलाई नवरात्री भन्ने गरिएको हो । दानवमाथि देवीले विजयप्राप्त गरेको खुसीयालीमा दशैं मनाउने गरिएको धार्मिक किम्वन्ती छ ।

प्रतिपदादेखि पूर्णिमासम्म शक्ति स्वरुपा दुर्गा भवानीलाई शैलीपुत्री, ब्रम्हचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले पनि दशैं चाड दुर्गा पूजाको नामले प्रचलित छ । तर यसपटक भने देशभरका शक्तिपीठहरु नित्यपूजाका लागि मात्र खुल्ला गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने आशंकामा शक्तिपीठहरुमा भक्तजनहरुलाई निषेध गरिएको हो ।

Comment


Related News

Latest News

Trending News