अपडेट 
२०७७ कार्तिक ६, बिहीबार ०६:३८

प्रत्येक साल हामी दशैं वडो धूमधामका साथ मनाउँदै आएका छौं । यस पालिको दशैं मलमासले गर्दा कार्तिक महिनामा आइ पुगेको छ । जे जस्तो ढिलो भएपनि दशैंको धूमधाममा कमी देखिएको छैन । हुन त यस पाली दशैंमा कोरोना रोगले गर्दा बढी भीडभाड नगर्न सरकारले आग्रह गरेको छ । धेरै भीडभाड गर्नु पनि हुँदैन । यो रोग एउटा विश्वमहामारी रहेको हुनाले यसलाई रोक्न प्रत्येक देशले सक्दो प्रयासमा लागेका छन् । हामीहरू पनि सतर्कता अपनाएनौं भने भोली सामुदायिक रूप लिँदा नियन्त्रण गर्न निकै कठिनाइ हुनेमा दुई मत हुन सक्दैन ।

दशै अन्य पर्व भन्दा अलग किसिमको पर्व रहेको छ । यसमा दशैदिन नयाँ नयाँ परिकार बनाएर खाएका हुन्छन् । नयाँ नयाँ लुगा लगाएका हुन्छन् । हामी हिन्दू धर्मालम्बीहरूका लागि दशैं एउटा ठूलो चाड हो । खास गरी दशैंमा माटोको प्रतिभा बनाइ दशै दिन तथा नौ राति पूजा–आर्चा गर्ने हुनाले नै यसलाई दशमी तथा नवरात्री भनेको हो । हाम्रो वैदिक सनातन संस्कृतिमा चारवटा नवरात्र उल्लेख रहेका छन् । यी नवरात्रहरू असार, अशोज, माघ र चैत्र शुल्क प्रतिपदा देखी दशमी सम्मको नौ रातहरूलाई दशैको रूपमा उल्लेख गरेका छन् । तर खास गरी नेपाल भारतमा दुइटा दशैं अर्थात अशोजे तथा चैते दशंैलाई मनाउने गरिन्छ । यस मध्ये अशोजे दशैलाई वडा दशै र चैते दशैंलाई छोटा दशैंको नामले जानिन्छ । यी मध्ये पनि अशोजमा मनाइने दशैंलाई बडो धूमधामका साथ हिन्दूहरू मनाउने गरेका हुन्छन् । दशैंमा दशै दिन विधिपूर्वक पूजा–पाठ गर्छन् । अधिकाँश ठाउँमा दुर्गा मातालाई चढौनाको रुपमा बलि दिने चलन छ भने केही ठाउँमा बलि दिएको देखिएन ।

बलि नदिने ठाउँमा दुर्गा मातालाई वैष्णवी दुर्गा मानेर मिठाई, फलफूल, फूल–माला र दिपवतीले पूजा गरेका हुन्छन् । अर्को तिर अधिकांश ठाउँमा खसी, बोका, परेवा, हाँस, रांगा आदिलाई बलि दिने चलन छ । यस्ता पूजामा मिठाई, फलफूल, दिपवती लिएर पूजा गरेको रोक हुँदैन । जे होस दुर्गा माताको पूजाले दुःख दर्दबाट छुटकारा भेट्छ भने जन विश्वास छ । दशैंमा दशै दिन शक्ति स्वरूपिणी माता दुर्गाको विभिन्न रूपलाई पुजा गर्ने चलन छ । यसमा मूल रूपले अष्टभुजी, दशभुजी, तथा सहस्त्रभुजी दुगा रहेका छन् । दुर्गाको मूर्तिहरूमा माटोको मूर्तिलाई बढी शुद्ध मानिन्छ । गाउँदेखि शहरसम्म माटाका मूर्ति बनाइ प्रतिपदा देखि दशमीसम्म पूजापाठ गरी यात्राका दिन जलप्रवाह गर्ने गरिन्छ । दुर्गा माताको सवारी बाघ÷सिंह÷शेर रहेको छ । यसको कथातिर जाँदा विभिन्न कथा रहेका छन् । एकातिरका धार्मिक विद्वानहरूको के भनाइ छ भने महिसासुर जस्ता आततायी राक्षसलाई बध गर्न वहाँ प्रकट भएकी थिई । महिसासुर निकै बलिया राक्षस थिए जो सबै देवी देवतालाई दुःख दिएका थिए । महिसासुरलाई मार्न देवी दुर्गा प्रकट भएकी थिई । यहाँलाई प्रकट हुनका लागि सबै देवी देवताहरू प्रार्थना गरेका थिए ।

अर्कातिर भगवान रामले पनि लङ्कामा राजा रावणलाई बध गर्न असमर्थ देखिए पछि शक्तिको पूजा गरी बिजय प्राप्त गरेका थिए । दशैंमा दुर्गा माताको साथ साथै सूर्यपुत्ररेनन्त, महासरस्वती, महालक्ष्मी, महाकाली, गणेश, कार्तिके, शिवपार्वती जस्ता देवी देवताका पूजा–आर्चा गर्ने गरिन्छ । महाकालीले सहस्त्रौं राक्षसलाई बध गरेको रूपलाई देखाउने गरिन्छ । यहाँको रूप डर लाग्दो हुँदो रहेछ । नेपालमा धेरै ठाउँहरूमा माटाका मूर्ति बनाई पूजा पाठ गर्ने गरिन्छ भने मूल शक्रि पीठहरूमा पीतल, शंखमरमर, पत्थर, ढुंगा तथा अन्य धातुहरूबाट बनाइएका प्रतिमाहरू रहेका हुन्छन् । कहीं–कहीं शक्तिपीठहरूमा माताको मूर्ति नभइ पिंडी मात्र रहेका हुन्छन् । ती शक्ति पीठहरूमा पनि दशैंको बेला निकै भीडभाड हुन्छन् । टाढा टाढाका मानिसहरू पूजा–पाठ, दर्शन गर्न आएमा हुन्छन् । नेपालमा गुठ्ठी संस्थानले मुलुकको राजगुठ्ठी अन्तर्गत २,३५० देवस्थलमा नित्य पूजा– आर्चा गर्न अनुमति दिएको छ । हाम्रो समाजमा जहिले पनि नारीको शक्तिलाई कमजोर ठानेका हुन्छन् र नारीलाई हेला गरेका हुन्छन् । नारी शक्तिलाई कमजोर ठान्नु हुँदैन । शास्त्र साक्षी छ कि पुरूषले गर्न नसकेका काम महिलाले गरेर देखाएका छन् । दशैंमा माता दुर्गाको अवतरण पनि यसैको उदाहरण हो ।

देवताहरू बध गर्न नसकेका आततायी राक्षस महिसासुर, शुम्भ–निशुम्भ, चण्डमुण्डका साथै अन्य बलशाली राक्षसहरूलाई नास गरेकी हुनाले नै दुंर्गालाई शक्तिस्वरूपिणी माता दुर्गा भनेको हो । यसले एकातिर महिलाहरूका पराक्रमलाई देखाउँछ भने अर्को तिर पुरूषहरूलाई महिलाको सम्मान गर्न शिक्षा दिन्छ । हुनत अहिले दशैं पुजामा केही आधुनिकताको प्रभाव परेको देखिन्छ । परम्परागत रूपमा संचालित रहेका केही संस्कृति विस्तारै बिलिनको अवस्थामा आइसकेका छन् । यस्ता संस्कृति पनि बचाइ राख्ने हाम्रै जिम्मेवारी रहेको छ । परम्परा रूपमा देखिएका पिङ तथा झिझिया संस्कृतिलाई लिन सकिन्छ । पहाडमा अनिवार्य रूपमा पिङ चढेर झुल्ने गरिन्थ्यो भने आजकल पिङ संस्कृति केही ठाउँमा मात्र सिमित रहेको देखिन्छ । यस्तै तराई तिर दशैंमा खेल्ने झिझिया तथा मिथिला, भोजपुरा तथा अवध क्षेत्रमा गाइने लोकगीतहरू पनि विस्तारै बिलिन हुन थालेका छन् । दशैंमा चङ्गा उडाएर मज्जा लिने कुरा पनि विस्तारै कम भएको देखिन्छ । अहिले यसको स्थान विभिन्न किसिमका राम हिलोरा, विद्युतीय रेल, मौतको कुँआ आदि लिएका छन् । लोक गीतको सट्टा विभिन्न किसिमका हिन्दी, नेपाली, भोजपुरी, मैथिली, अवधि भाषाका नयाँ नयाँ फिल्मी गीतहरूका बिगविगीपुरै दशैं भेला अवधि भर हेर्न पाइन्छ ।

यस्ता संस्कृति हाम्रा भविष्यका सन्ततिहरूलाई आफ्नो संस्कृतिबाट अर्को संस्कृतितिर लग्नु कति सान्दर्भिक होला, विचार गर्ने कुरो रहेको छ । यस्ता कुरामा सरकारको संस्कृति मंत्रालयले पनि समय मै ध्यान दिनु पर्ने आवश्यकता आइ परेको छ । दशैंमा विभिन्न शक्ति पीठहरूमा बलि दिने चलनले गर्दा निकै भीडभाड हुने गर्दथ्यो । यस पालि सरकारको निर्देशनले गर्दा यस्ता बलिप्रथा माथि अलिकति नियन्त्रण हुने अनुमान गर्न सकिन्छ । उदाहरणको रूपमा वीरगञ्जको गहवामाई (माई स्थान), जनकपुरको राजदेवी माई (राम मंदिरको प्राङ्गण), सप्तरीको छिन्नमस्ता भगवती (सखडा भगवती) लाई लिन सकिन्छ । यी शक्ति पीठहरूमा यस पालि खसी बोकाको संख्या न्यून हुनेछ । धेरै जना मानिसहरूको के माँग छ भने यी शक्तिपीठहरूमा यस्ता बलि प्रथा सदाका लागि बन्द हुनु पर्दछ । दशैंले हामीलाई गलत काम गर्नबाट निरूत्साहित गर्दछ भने धर्म र सत्यमा आधारित कामहरू सदैव गर्नु अर्ति दिन्छ । हाम्रो शास्त्रहरूको मूल निचोर पनि यही हो । महिसासुर जस्ता बलशाली राक्षसलाई एउटी महिला स्वरूप धारण गरेकी दुर्गामाताको सामुन्ने हार बेहोर्नु परेको उदाहरण छ ।

जस्तो सुकै बलशाली भएपनि यदि ऊ धर्म र सत्यको मार्गलाई छाड्छ भने उसको अकाल तथा दुःखदायी मृत्यु निश्चित छ । हाम्रो समाजमा अहिले यी दुई वर्गका मानिसहरू रहेका छन् । जो धर्मलाई पालन गरी अगाडि बढेको छ त्यसलाई हामी मानव भन्दछौ । अधर्मको बाटोमा हिडेको मानिसहरूलाई हामी दानव भन्दछौं । मानवीय जीवन आदर्शतामा आधारित हुन्छ भने दानवीय जीवन अनादर्शतामा आधारित हुन्छ जो अकाल तथा कष्टकर मृत्युको कारण हुन आउँछ । यस्ता पर्वबाट हामीले पनि सिख लिनु पर्ने हुन्छ कि धार्मिक संस्कारको बाटोलाई कहिले पनि छोडनु हुँदैन । व्यक्ति, परिवार, समाज, समुदाय तथा देशलाई सहीबाटोमा अगाडि बढाउन धर्मको बाटोलाई कहिले पनि छोडनु हुँदैन । यसैमा हामी सबैको कल्याण छ । अस्तु ।

Comment


Related News